गुणै गुणले भरिएको टिमुर – Myhimaldotcom
Wednesday 4, December 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

गुणै गुणले भरिएको टिमुर

माइहिमाल डट कम , १० आश्विन २०७६, शुक्रबार ०७:२४

नेपालको पुर्वदेखि पश्चिमसम्म समुद्र सतहबाट ९ सय मिटरदेखि २ हजार ५ सय मिटर उचाईको पहाडी भेगमा ७ प्रजातिका टिमुर पाईन्छन् । यसको वैज्ञानिक नाम Zanthoxylum armatum DC/Zanthoxylum alatum Roxb. हो । यो Rutaceae वानस्पतिक परिवारमा पर्छ । अंग्रेजीमा यसलाई  Toothache tree वा prickly ash पनि भनिन्छ ।

उचाई ६ मिटरसम्मको हुने काँडादार यो वनस्पति तुम्बरु, तेजावती, तीक्ष्णफल, तेजस्विनी नामले समेत चिनिन्छ । नेपालको मध्य पहाडी भेगमा यो निकै राम्ररी हुर्कन्छ र फल्छ । सल्यान, प्युठान, रुकुम, रोल्पा, सुर्खेत लगायत मध्य पश्चिम क्षेत्रका वन तथा निजी जग्गामा यो प्रशस्तै पाइन्छ । खोटेसल्ला, मयल, ऐसेलु, चुत्रो, काफल, सुगन्धवाल, लालीगुराँस भएका ठाउँमा यो राम्ररी हुर्कन्छ ।

हिमालय खण्डको जम्मुदेखि भुटानसम्म नै टिमुर पाइन्छ । यसको फलको बोक्रा उपयोगमा आउने भाग हो । यसको फूल चैत बैशाख महिनामा फुल्छ । टिमुर नेपाली भान्सामा धेरै प्रयोग हुने एउटा मसला हो । यसको तेल दाँत दुखेको ठाउँमा लगाउने चलन छ । दन्तमञ्जन, साबुन, अत्तर र स्याम्पुलाई वास्नादार बनाउन समेत यसको प्रयोग गरिन्छ ।

टिमुरलाई कटिङबाट सार्न र बीउबाट उमार्न सकिन्छ । कटिङबाट रोपेको विरुवा हुर्कन गाह्रो हुनाले बीउबाटै उमारेको विरुवाको प्रयोग गर्नु राम्रो हुन्छ । यसको बीउबाट १० देखि १५ प्रतिशत मात्रै विरुवा उम्रन्छ । १ केजीमा लगभग ५०,००० देखि ५२,००० सम्म बीउ हुन्छन् । जंगलको मलिलो माटो ३ भाग, वालुवा १ भाग र गाईवस्तुको पाकेको मल १ भाग मिसाएर नर्सरीका लागि व्याड तयार पार्नुपर्छ ।

राम्ररी पाकेको टिमुरलाई एक हप्ता सुकाएर बोक्रा भित्रको कालो बिउ निकाली करिब १८ घण्टा चिसो र सफा पानीमा डुबाएर राख्नुपर्छ । बाल्टी वा ड्रममा डुबाएको बीउलाई बेला बेला चलाउँदै गर्नुपर्छ । १८ घण्टापछि बाल्टीको पिँधमा रहेका दानालाई राम्ररी धोएर कागजमा राखी सुकाउनु पर्छ ।

बीउ ठिक कार्तिक १ गते रोप्ने चलन छ । बीउलाई ३ देखि ५ सेन्टिमिटर अर्थात ३ अंगुल माटोमुनी गाड्नुपर्छ । एक लाइन देखि अर्को लाइनको दुरी ७ देखि ९ सेन्टिमिटर सम्म राख्नु पर्छ । वीउ रोपी सकेपछि माथिबाट वालुवा छरिदिनुपर्छ । खर वा परालले छोपेर व्याडलाई प्लाष्टिकले ढाकी समय समयमा पानी हालिरहनुपर्छ ।

एक महिना पछि बीउ उम्रन थाल्छ र १ वर्ष सम्मै उम्रिरहन्छ । तीनपाते भएपछि बेर्नालाई पोली व्यागमा सार्नु पर्छ ।

काँडा पलाएका, स्वस्थ्य १ बर्ष पुराना विरुवालाई पानी पर्ने बित्तिकै माघ फागुनमा रोप्दा राम्रो फल लाग्छ । पहिलो वर्ष विरुवालाई निकै स्याहार चाहिन्छ । जमिन सुख्खा भए रोप्नासाथै एकपटक र हरेक बर्ष माघ फागुनतिर गोडमेल गरेर पानी लगाउनुपर्छ । रोपेको पाँच बर्षसम्म फेदमा भएको झारपात हटाउने र माटोको उकेरा दिने गर्नुपर्छ । मरेको हाँगा काँटछाँट गरि हटाइदिनुपर्छ । टिमुरमा रोगकिराले खासै असर नगरेपनि हेरविचार भने गरिरहनुपर्छ ।

रोपेको ३ देखि ४ वर्षमा टिमुर फल्न थाल्छ । एउटा विरुवाले ३० देखि ४० बर्षसम्म फल दिन्छ । एउटा बोटमा सरदर ५ किलोग्राम फल लाग्छ । १ हेक्टरमा २ हजार देखि ४ हजार ५ सय किलोग्रामसम्म टिमुर फल्छ ।

पाकेर रातो भएपछि असोजको दोस्रो सातादेखि मंसीरसम्म घाम लागेको बेलामा टिमुर टिप्नुपर्छ । छालाको पञ्जा लगाएर सिकेचर वा लङसिकेचरले टिप्यो भने काँडाले घोच्दैन र थोरै समयमा बढी टिप्न सकिन्छ । हाँगा काटेर टिमुर टिप्दा फेरि फल्न अरु २ बर्ष लाग्छ । हातले टिप्दा एक जना मानिसले १ दिनमा चारपाँच किलो मात्र टिप्न सक्छ भने औजारको प्रयोग गर्दा ४० किलोसम्म टिप्न सकिन्छ ।

टिपेको टिमुरलाई चोयाको डालो वा टोकरीमा नै हाल्नुपर्छ, झुक्किएर पनि प्लाष्टिकको भाँडोमा हाल्नु हुँदैन । टिपेको टिमुरलाई १ दिन घाममा सुकाएर अरु १ हप्तासम्म सुख्खा हावा चल्ने तर घाम नलाग्ने ठाउँमा सुकाउनुपर्छ । संकलन गर्दा फल मात्रै टिप्दा राम्रो हुन्छ । किनकी पात, हाँगा तथा अन्य फोहोरले टिमुरलाई बिगार्ने मात्रै होइन, यताउता ओसार्न र सुकाउन समेत अप्ठ्यारो पार्छ । राम्ररी सुकेको र छानेको टिमुरलाई जुटको बोरामा हालेर हावा खेल्ने कोठामा राख्नुपर्छ ।

टिमुरलाई मसला र आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ । स्थानीय र विदेशी बजारमा माग बढेसँगै यसको फल प्रति किलोग्राम ३ सय २० रुपैयाँ सम्ममा बिक्री हुन्छ भने तेल प्रतिकिलो ३ हजार ५ सय रुपैयाँ देखि ४ हजार रुपैयाँ सम्ममा बिक्छ । १ हजार किलो टिमुरबाट ४० किलोसम्म तेल निस्कन्छ । यसको तेलमा सरुवा रोग अवरोधक, गन्धनाशक, किटनाशक र सुगन्धित रासायनिक तत्वहरु हुनाले यो साबुन, दन्तमञ्जन तथा अन्य उपभोग्य सामाग्रीहरु बनाउन प्रयोग गरिन्छ ।

राष्ट्रिय वनवाट टिमुर संकलन गर्दा अनुमति लिई प्रतिकिलो ८ रुपैयाँ राजस्व तिर्नुपर्छ । सामुदायिक वन र कबुलियती वनवाट टिमुर निकाल्न कार्ययोजनामा प्रष्ट रुपमा लेखिएको हुनुपर्छ । दर्ता भएको निजी जग्गामा फलेको टिमुर आफुखुशी बेच्न पाइन्छ । बजारसम्म पुर्याउँदा कम्तिमा २ ठाउँमा दरपिठ गर्नुपर्ने हुँदा यसको निकासी अलि झन्जटिलो छ ।

भिडियाे हेर्न तलकाे लिंकमा जानुहाेला ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019