बलियो एकताः लोभलाग्दो जनसहभागिता – Myhimaldotcom
Friday 8, May 2026
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

बलियो एकताः लोभलाग्दो जनसहभागिता

सुशील मैनाली र रञ्जित तामाङ , Monday February 15, 2021

असल अभ्यास १

भक्तपुर

संघीय राजधानी काठमाडौं उपत्यका संस्कृति र सम्पदाको भण्डार नै हो । कला, संस्कृति र सम्पदाका हिसाबले काठमाडौं, ललितपुर र भक्तपुरका केही समान त केही आफ्नै विशेषता छन । ७२ सालको विनाशकारी भुकम्पले आफ्नै शैलीमा जिवन्त भक्तपुरको आस्थाको केन्द्र न्यातपोल मन्दिर लगायत धरै सम्पदालाई क्षति  पुर्यायो ।

“११५ वटा भन्दा बढी सम्पदामा भुकम्पले क्षति पुर्याएको थियो ।” भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले थप्नुभयो, “त्यसमध्ये करिब १ सय वटाको पुनःनिर्माण भइसकेको छ ।”

सम्पदा मर्मतका लागि नगरपालिका र स्थानीय वासिन्दा जुटेर काम गरे । पाँचतले मन्दिर मर्मत गर्दा ६५ लाख १३ हजार रुपैयाँ खर्च हुने अनुमान निस्कियो । १ तला भत्काउनै पर्ने र अरु मर्मत गरे पुग्ने प्राविधिक टोलीको निष्कर्श थियो ।

 

दुईवटा ठूला भुकम्प बेहोरेको झण्डै ३२० बर्ष पुरानो र १०८ फिट अग्लो पाँचतले मन्दिर मर्मतका लागि उपभोक्ता समिति बन्यो । उपभोक्ता समितिले मन्दिर पुनःनिर्माणका लागि स्थानीय वासिन्दासँग सहयोग र सहभागिताको आव्हान गर्यो ।

सहयोगमा आउने आर्थिक र भौतिक सामग्रीहरु तथा श्रमदान गर्नेहरुको लामो नामावली तयार भयो ।

१७ सय १० वटा बाँस, १७ हजार ६७० वटा झिंगटी समेत ५ लाख ६३ हजार ५ सय रुपैयाँ बराबरको सामग्री स्थानीय वासिन्दाले मन्दिरमै ल्याइदिए । १५ लाख ४७ हजार ५७० रुपैयाँ नगद सहयोग आयो । मर्मतको काम सकिंदा ४ हजार १८७ जनाले श्रमदान गरे । जुस, पानी सहित जेरी स्वारी लगायतका खाजा खुवाउनेहरुको कमी भएन ।

 

दिनहुँ दश बाह्र जना श्रमिक र पैंतिस चालिस जना स्वयंसेवकहरु काममा खटिए । बुढापाकाको ज्ञान र यूवाहरुको जोशमा पाँचतले मन्दिरको मर्मत अनुमान गरेको भन्दा आधा कम पैसामै सकियो । सम्पदा जोगाउन समुदाय, शैक्षिक संस्था लगायत धेरैले सित्तैमा काम गरे ।

नगर प्रमुख सुनिल प्रजापतिसँग प्रष्ट हिसाब छ, “पैसा चाहिँ ३८ लाख ७७ हजार रुपैयाँ लाग्यो, चन्दा माइनस गर्दा नगरपालिकाको ३० लाख रुपैयाँ जति खर्च भयो ।”

यसै पनि भक्तपुरमा गर्ने विकास निर्माणका काममा फजुल खर्च हुँदैन । त्यसमा पनि पाँचतले मन्दिर निर्माणका लागि तन, मन र धनका साथ जनसागर नै उल्टिएपछि सरकारको पैसा बच्ने नै भयो ।

न्यातपोल मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष केशव तमखुको कुरा त झनै चकित पार्ने छ, “काम गर्न चाहनेहरुको लिष्ट बाँकी नै थियो तर काम सकियो ।”

 

भक्तपुरमा मात्रै  होइन, विनाशकारी भुकम्पको चपेटामा परेको क्षेत्रमा सम्पदा पुनःनिर्माणको काम धमाधम भइहेको छ । तर भक्तपुरमा जस्तो बलियो एकता र लोभलाग्दो जनसहभागिता अन्त देख्न पाईँदैन ।

फोटोः रुजेश कर्माचार्य/भक्तपुर नगरपालिका

भिडियो हेर्न तलको लिंकमा जानुहोला ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019