लज्जाबोध भएको छ — राजबहादुर बुढा, संघीय संसद सदस्य, दैलेख – Myhimaldotcom
Friday 29, March 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

लज्जाबोध भएको छ — राजबहादुर बुढा, संघीय संसद सदस्य, दैलेख

माइहिमाल डट कम , २४ माघ २०७६, शुक्रबार १६:०७

हिमाली बहस

छाउपडी बहस श्रृङ्खला १

छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान

दुल्लु, दैलेख

लज्जाबोध भएको छ

आज यो व्यानरमा बोलिरहँदा खेरि सबैभन्दा आफूलाई मैले लज्जाबोध महसुश गरिराखेको छु । यो कार्यक्रम कहिँ गरियो भने त्यो अपमान गर्नका लागि हो । त्यो असभ्य ठाउँ हो, त्यहाँका मान्छे असभ्य छन, तिनलाई सभ्य गर्न आएका हौं भनेर यो अभियान गरिएको हो भनिएको छ । हामी यहाँ भएका मान्छेहरु ए कार्यक्रम भयो मन्त्रीज्यूहरु आउनुभाछ भनेर उत्साहित भएर बसेका छौं । अपमान भइराखेको छ ।

अरु देशको त कुरै छोडिदिउँ, काहीँ पनि इतिहासमा कतैतिर पनि घट्नाक्रम सुनिंदैन । यो महिनावारी भएका मानिसहरुलाई यति अपमानित हुन्छन, छुवाछुतको व्यवहार हुन्छ, केही समयका लागि बहिष्कार गरिन्छ भन्ने काहीँ सुनिएको छैन ।

यति मात्रै होइन, यो कार्यक्रम दैलेखमा राख्नुपर्यो भनेपछि जिल्ला सदरमुकाममा राख्नुपर्ला भन्दाखेरि दैलेखको १ नं. को माननीयले हुन्न धत यस्तो कार्यक्रम मेरो क्षेत्रमा राख्नुहुन्न, छँदैछैन त किन राख्ने भनेर उहाँले पनि यो कार्यक्रमलाई बहिष्कार गर्नुभयो । भन्न त अलिकति भाका मिलाएर भन्नुभयो । पञ्चकोशीको क्षेत्र दुल्लुमा राखौं न भनेर प्रस्ताव राख्नुभयो । त्यो उहाँले लाज मानेर त्यतातिर हुन्न । धत यस्तो कार्यक्रम राख्ने हो भनेर भनेको हो ।

मैले तपाईंहरुलाई हसाउन भनेको होइन । आज सबैभन्दा लज्जाबोध भएको छ । म सांसद भएको हुनाले लज्जाबोध गरें, तपाईंहरु जनप्रतिनिधि मेयर उपमेयर हुनुहुन्छ, गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष जनप्रतिनिधि साथीहरु, अरु राजनीतिक दलका साथीहरु छौं, सबैको लाज हो यो, बदनाम हो । यो खुशीको कार्यक्रम होइन । आगामी दिनमा पनि यही झुण्ड्याएर बस्यौं भने यहाँभन्दा बेइजती केही पनि हुन्न ।

दुल्लुः ज्वाला बल्ने ठाउँ होइन, छाउगोठको ठाउँ बन्दैछ

अहिले हामीले पनि भन्छौं, दैलेख ऐतिहासिक, धार्मिक, मानव सभ्यताको उद्गम स्थल । नेपाली भाषाको पुरानो शिलालेख के छ ? पञ्चकोशी ज्वाला बल्ने ठाउँ, ओहो कस्तो ल पर्यटकहरु आउनु पर्यो, हामी आव्हान गर्छौं । यो भन्दा पहिले त्यसरी आउने । आजको मन्त्रीहरु श्रीस्थान नागस्थान घुमाउन लगेको भए, यो किर्तिस्तम्भ देखाउन लगेको भए, उहाँहरुको ध्यान त्यता छैन, गोठ कता छन । अब यो महिनावारी भएका हाम्रा दिदी बहिनीहरु, आमाहरुलाई राख्ने गोठ हेर्न पर्यटकहरु आउने भए । अब पर्यटकीय स्थल यस हिसाबले होइन कि श्रीस्थान, नागस्थान हेर्न आउनुहोस, कोतगढी हेर्न आउनुहोस, सातखम्ब हेर्न आउनुस, अब भन्ने ठाउँ रहेन । अब गोठ हेर्न पो आउने भए, आज ध्यान छैन कतै पनि । उताबाट आयौं किर्तिस्तम्भ कता हो, पुरानो शिलालेख कता हो, दरवार कता हो त्यो छैन, गोठ कहाँ छन । सिडिओ साप गोठ कतिवटा भत्काउनुभयो, बहुतै बेइजति भइराखेको छ । यो हाँसोको विषय होइन, हामी साह्रै अप्ठ्यारोमा छौं ।

गरिबीसँग जोडिएको छ

अछाम जिल्ला र दैलेख जिल्लाको पश्चिमतिर वारिपारी बिहावारी बढी छ । पारिबाट वारी आउने, वारीबाट पारि जाने त्यहाँ प्रभाव बढी छ । यहाँ दुल्लु क्षेत्रमा पनि पूर्व क्षेत्रबाट आउँदै गर्दाखेरि जति जति पूर्व हो त्यो प्रभाव छैन । जो गरिब छ, जो अलिकति अशिक्षित छ, त्यो घरमा बढी छ समस्या । त्यो हटाउनु पर्यो । आफू मात्रै होइन कि आफ्नो छिमेकीहरुलाई पनि सुधार्नु जरुरी छ ।

भगवान छाउगोठमा पनि हुन्छन

परमेश्वर ईश्वर भनेको हाम्रो मनमा बसेको हुन्छ । मान्छेको मनमा बसेको हुन्छ । हृदयमा बसेको हुन्छ, त्यसको बास त्यहीं हुन्छ । खास ईश्वर कहीं छ भने त्यसको हृदयमा बसेको हुन्छ भनेर भनिराखेको हुन्छ । जहाँ मान्छे जान्छ, उसको मनमा बस्ने, हृदयमा बस्ने देउता परमेश्वरहरु जान्छन भने छाउगोठमा पनि जाने भए ।

पण्डित, धामी, पुजारीलाई सम्मान छ

पण्डितहरु उहाँहरुलाई सम्मान छ । हाम्रा धामी पुजारीहरुलाई सम्मान छ, हामी मर्यादा गर्छौ, राजनीतिक हिसाबले हामी सम्मान गर्छौं । हाम्रो परम्परालाई हामी मान्छौं ।

हामीले परम्पराको सम्मान गरेका छौं । हाम्रो धर्मको सम्मान गरेका छौं, अनि यो मठ मन्दिर हाम्रो कुल देवताहरुको सम्मान गरेका छौं । सम्मान सम्मानकै तरिकाले गर्नुपर्छ । समाजलाई गलत तरिकाले लिने, दुःख दिने, महिलाको नाममा दुःख दिने, दलितको नाममा दुःख दिने, अर्काको नाममा दुःख दिने यो राम्रो हुँदैन ।

चुनावमा भाग लिन दिनुहुन्न, भत्ता रोक्नुपर्छ

अर्को कुरा अलिकति सरकारले पनि राज्यले पनि थोरै बल प्रयोग गर्न खोजेको छ, थोरै, धेरै होइन । एउटा जनचेतना एकातिर भयो, अब महिनावारी भएको बेलामा बाहिर बस्ने कोही महिलाहरु छ भने ३३ प्रतिशत छ नि त आरक्षण, अब त्यो टिकट नदिँदा पनि हुन्छ, त्यस्तालाई । हाम्रा राजनीतिक दलहरुले त्यो गर्नुपर्यो कि जस्तो पनि लागिराख्या छ । अब ३३ प्रतिशत महिलाहरुलाई उठाउने समानुपातिक सांसद बनाउने अथवा यो बनाउने टिकट दिने जुन भनेको छ, जसले जसले यो कुरिती अंगिकार गरेको छ, त्यसलाई टिकटै नदिउँ त ।

वृद्ध, विधवा भत्ताको कुरा छ, त्यस्तो गर्नेलाई यो राज्यको भत्ता रोकिदिउँ त । राज्यले दिने अरु राहतका कुराहरु रोकिदिउँ त । अब जरुरी भइसक्यो । अप्रिय नगरौं भन्ने कुरा मात्रै हो, सम्मानका साथ राज्य चलाउनु पर्छ, शासन चलाउनु पर्छ भन्ने हाम्रो एउटा बाध्यता छ । अब कहिलेसम्म बसिराख्ने । अलि थोरै बल पनि प्रयोग गर्नुपर्छ कि भन्ने राज्यलाई लागिराखेको छ ।

तर त्यो नगर्दै हामीले छोड्यौं भने स सम्मान, हाम्रो पनि सम्मान हुन्छ । नभए बलपूर्वक यो गर्या हो भनेपछि त्यो राम्रो हुँदैन । त्यसैले यो कुरामा ध्यान दिउँ । सबैले जनचेतना बढाउँ, हामी नेतृत्व गरिराखेका साथीहरु यहाँ छौं, आफ्नो घरबाट सुरु गरौं । अनि अरुलाई पनि भन्न सजिलो हुन्छ ।

यो धामी झाँक्री जो छ, उहाँहरु तर्फबाट यो त मिल्दैन है भनेर भन्नुहुन्छ भने उहाँहरुको पनि वृद्धभत्ता रोकिन्छ । किन उल्टा कुरा सिकाउने, राज्यले सुल्टा कुरा सिकाउला, अलि बढी बाँच्नुहोस भनेर भत्ता दिन खोज्ने, उल्टा उल्टा समाजमा कुरा सिकाउने हो भने त्यसलाई वृद्ध भत्ता किन दिने । राज्यले पनि रोकिदिने हो कि एकचोटी, यो खालको कुरा पनि ल्याउनु पर्छ कि जस्तो लाग्छ ।

महिला दिदी बहिनीहरु पनि जो जोले यो कुप्रथा बोकेर हिंड्या छन, त्यो पार्टीको नेता हुन सक्दैन । भोली जनप्रतिनिधि पनि हुन सक्दैन । पार्टीहरुले पनि त्यो टिकट दिने बेलामा सोच्नु पर्ने पो बेला आइराखेको छ ।

उल्टो बाटो हिंड्न किन नेता बनिरहने ?

सुल्टो बाटो हिंडाउन पो हामी नेता भएको त । जनताले उल्टो बाटो हिंडाउने र हामी पछिपछि हिंड्ने भए हामी नेता कसरी भयो । त्यसकारण जनप्रतिनिधि साथीहरुलाई पनि अलिकति थोरै राज्यको, संविधानको, नियम कानूनको चेतना जनतालाई दिनुपर्छ, भोटको लोभ गर्नु हुँदैन । त्यो कुरा हामीले तलसम्म दिउँ । अर्कोचोटि यस्तै व्यानरमा हामी बस्यौं भने हम्रो राजनीति गराई पनि ठिक भएन ।

राम्रा काम गर्नका लागि अलिकति अप्रिय हिसाबले निर्ममताका साथ जनप्रतिनिधि साथीहरु पनि प्रस्तुत हुनका लागि म अनुरोध गर्न चाहन्छु । असमानताहरु, कुरितिहरु, बेथितिहरु, समाजका भ्रष्ट विचारहरु, भ्रष्ट व्यवहारहरुलाई पन्छाउनको लागि सरकारले जुन चिन्तन आफ्नो कार्ययोजनामा राखेको छ, त्यसको प्रतिनिधित्व गरेर माननीय मन्त्रीज्यू आउनु भएको छ ।

मर्यादित बनौं

मलाई त अझ काहीँ काहीँ नभनेर मात्रै हो, त्यो राखिराख्नु पर्छ भन्ने छैन, काठमाडौंमै पनि हामी यसो डेरा गरेर बसेका छौं । त्यहाँ पनि यसो देखिन्छ । अरुले थाहा नपाउने गरी त्यहाँ पनि छ । त्यहाँ पनि मनभित्र त छ हेर्नुस, त्यहाँ पनि चिटिङ भइराखेको छ । हाम्रो त सग्लै घर अर्कोतिर बनाइदिएर मात्रै हो, त्यता पनि छ । त्यसले गर्दाखेरि समाजमा नै बेइजती छ क्या । यहींनेर बस्ने पनि अभियान गर्ने भोली पशुपति जानु पर्ने छ भने भोली मेरो अर्कै काम छ भनेर सहसचिव ज्यूहरु त भन्नुहुन्नहोला सायद ।

अब हामीले अपमानित आगामी दिनमा नहोऔं । यसलाई हामीले अन्त्य गर्नको लागि अब १ बर्ष, ढिलोमा एक बर्षमा हामीले यसलाई अन्त्य गरौं । सकभर त छ महिनामा यसलाई मुक्त गरौं र दैलेख जिल्ला छाउपडी मुक्त जिल्ला भनेर घोषणा गर्ने कार्यक्रममा हाम्रो मन्त्रीज्यू प्रमुख अतिथि बोलाउन हामी सफल होऔं भन्ने शुभकामना दिन चाहन्छु ।

भिडियाे हेर्न तलकाे लिंकमा जानुहाेला ।

(छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान अन्तरगत दैलेखको दुल्लुमा भएको कार्यक्रममा बोलेका कुरा जस्ताको तस्तै ।)

नोटः हिमाली बहसको यो श्रृङ्खलामा हामी छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान अन्तरगत विभिन्न ठाउँमा व्यक्त भएका विचारहरुलाई जस्ताको तस्तै समेट्ने प्रयासमा छौं । तपाईं पनि यो अभियानमा समावेश हुन सक्नुहुन्छ । आफ्ना विचारहरु राख्न सक्नुहुन्छ — सम्पादक ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019