बाहिर ३२ ईन्च अग्लो हिउँ, भित्र त्यतिनै अग्लो रायोको साग – Myhimaldotcom
Thursday 25, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

बाहिर ३२ ईन्च अग्लो हिउँ, भित्र त्यतिनै अग्लो रायोको साग

, ३ माघ २०७६, शुक्रबार १६:१०

सोलुखुम्बुको खुम्जुङ खुन्देतिर हिजो दिउँसो ३ बजेतिर हिउँ पर्न सुरु गर्यो । राती हिउँ धेरै परेन । तर आज बिहानै देखि फेरि हिउँ ओइरियो । “बिहानदेखि परेको हिउँ दिउँसो ४ बजेसम्म २८ इन्च अग्लो भयो । ५ बजेतिर कति परेछ भनेर हेर्दा ३२ इन्च भएको रहेछ । एक घण्टामा ४ इन्च हिउँ थपिएछ ।”  हुङ्गाेबाट पासाङ शेर्पाले माइ हिमाललाई बताउनुभयो ।

नेपालको पूर्व देखि पश्चिम सम्मकै हिमाली भेगमा अहिले पनि हिउँ परिरहेको छ । “खै के पो हुने हो । हामी हिमालमा बस्ने मान्छेलाई हिउँ नभई पनि नहुने, धेरै हिउँ परेपनि डरमर्नु हुन्छ ।” पासाङको डर सबै हिमाली बस्तीमा बसोबास गर्ने मानिसहरुको डर हो ।

हिमाली बस्तीहरुमा अबका केही दिन सम्म छिमेकी गाउँसँगको सम्पर्क पुरै टुट्छ । “अहिले हामी नाम्चे सम्म जान सक्ने अवस्थामा छैनौं ।” पासाङ अगाडि थप्नुहुन्छ – “चौंरी समेत हिउँमा डुबेका छन ।”

सागलाई जाडो भयो अनि हिटर बालें — पासाङ शेर्पा

पासाङलाई अर्को पनि चिन्ता छ । ग्रीन हाउसभित्र लगाएको रायोको साग मर्ला कि भन्ने । बाहिर ३२ इन्च अग्लो सेतो हिउँ परेपनि पासाङको ग्रीनहाउस भित्र त्यतिनै अग्लो रायोको साग छ । हेर्दै खाउँ खाउँ लाग्ने ।

पुस माघ महिनामा झण्डै हिउँ रेखासँगै फलेको यो साग निकै स्वादिलो छ । ३ हजार ८ सय मिटरको उचाइमा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ को हुङ्गाेमा साग फलाउन पासाङले निकै मेहनत गर्नुभएको छ । माइनस ५ डिग्री तापक्रममा पासाङलाई साग फलाउने तरिका भने काठमाडौंबाट गएका योगी कायस्थले सिकाउनुभएको रहेछ ।

“हामीले बाहिरबाट चिसो पस्न नसक्ने गरि ग्रीन हाउस बनाउने तरिका सिकाएका थियौं तर उहाँहरुले त अझै नयाँ तरिका पत्ता लगाउनु भएछ । सागलाई हिटर बालेर न्यानाे बनाउने ।” योगी स्थानीय वासिन्दाको ज्ञान र अनुभव देखेर उल्टो छक्क पर्नुभएको छ ।

पासाङ भने सागलाई हिटर बालेर तताएको कुरा यसरी सुनाउनुहुन्छ, — “अस्ती राती निकै चिसो भयो । सागलाई जाडो भएजस्तो लाग्यो । अनि हिटर बालेर ग्रीन हाउसभित्र तातो बनाउँदा के हुने रहेछ भनेर हेरें । हिटर बालेपछि सागको अनुहारै फेरियो । त्यसैले अहिले राती राती र धेरै चिसो भएको दिन दिउँसो पनि साग भएको ग्रीन हाउस भित्र हिटर बालेर न्यानो बनाउने गरेको छु ।”

कसरी सुरु भयो ग्रीन हाउस बनाउने चलन

सुरुमा प्लाष्टिकको टनेल भित्र मात्रै तरकारी लगाउने चलन थियो । तर २,५०० मिटर भन्दा माथि यो त्यति प्रभावकारी थिएन । सन् २०१२ तिर योगी कायस्थको सम्पर्क एकजना अमेरिकी नागरिकसँग भयो । अनि सुरु भयो पक्का ग्रीनहाउस बनाउने कामको सुरुवात । हुम्लाबाट सुरु भएको यो अभियान अहिले डोल्पा, मुस्ताङ, सोलुखुम्बु, सिन्धुपाल्चोक लगायत धेरैतिर पुगेको छ । “सुरुमा त्यो उचाइमा तरकारी फलाउने भन्दा मानिसहरुले ठट्टा नगर्नुस भने । कोही कोही त रिसाए पनि । तर जब यसमा फलेको तरकारी बेचेर आम्दानी भयो । अनि मानिसहरु निकै खुशी भए ।” योगी ग्रीन हाउस बनाउन हुम्लाका गाउँमा गएका सुरुका दिन सम्झनुहुन्छ ।

ग्रीन हाउसमा बाहिरको हावा भित्र जाँदैन । अनि भित्रको हावा पनि बाहिर नआउने गरि बनाइएको हुन्छ । त्यसैले यहाँ बाहिर निकै चिसो भएपनि भित्र तातो भइरहन्छ । “अहिले हाम्रो सहयोगमा हुम्लामा मात्रै १५० वटा भन्दा बढी परिवारले यस्तो ग्रीनहाउस बनाएका छन । अनि देशभरिमा चाहिँ २५० जति बनिसकेका छन,” योगी भन्नुहुन्छ ।

“दाउरेका लागि बञ्चरो र मेरा लागि ग्रीन हाउस उस्तै उस्तै हो ।” हुम्लामै ग्रीनहाउसमा तरकारी फलाउने अर्का किसानको भनाई सुनाउनु भयो योगीले ।

अहिले बाहिर ३२ इन्च हिउँ पर्दा समेत फलेको रायोको साग यसैको निरन्तरता हो । अनि सागलाई हिटर बालेर न्यानो बनाएको भने नयाँ नै हो । पासाङले हिटर बाल्न पाएको चाहिँ झण्डै २५ बर्ष अगाडि अष्ट्रियन सरकारको सहयोगमा बनेको बिजुली आयोजनाकै कारण हो ।

प्रविधि र ज्ञानको पुरा प्रयोग गरेर नै यो काम संभव भएको हो । नत्र यहाँका मानिसहरुले मंसिर महिना पछि हरियो तरकारी खान त के देख्न समेत नाम्चे बजार नै पुग्नुपथ्र्यो ।

पुस माघको जाडोमा समेत साग हुर्कने ग्रीन हाउसमा तीन तिर ढुङ्गा र माटोको गाह्रो छ । अनि एकातिरको भागमा भने प्लाष्टिक लगाएर भित्र बाहिर गर्ने बनाइएको छ । यो काम गर्न त्यति धेरै खर्च लाग्दैन । तर प्रविधिको विस्तारमा हामी पछि परेकै कारण यस्ता कामहरु हाम्रा गाउँघरमा हुन सकेका छैनन । यसको सबैभन्दा बढी असर हिमाली गाउँहरुमा पर्ने गरेको छ ।

हिउँदमा सधैँ टापु बन्ने यस्ता गाउँ र त्यहाँ बस्ने मानिसहरुलाई बचाउने एउटै मात्रै उपाय प्रविधिको भरपुर प्रयोग गर्नु पनि हो । सन् २०२० लाई पर्यटन बर्ष मनाइरहँदा पर्यटकलाई खुवाउने खाना गाउँघरमै उब्जाउने यस्ता कुराको पनि विस्तार गर्ने पो हो कि ।

फोटोः पासाङ शेर्पा

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019