भिर माहुरीको मह यात्रा – अन्तिम भाग – Myhimaldotcom
Wednesday 8, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

भिर माहुरीको मह यात्रा – अन्तिम भाग

प्रकाश श्रेष्ठ , १ माघ २०७६, बुधबार १७:०४

राङ्गकेमी – भिरको देउता

आज मह काड्ने दिन । लामो यात्रा र प्रतिक्षा पछि मह काड्ने दिन आईपुग्यो । सबैजना सबेरै भेला भएर उसिनेको आलु, स्कुस अनि चिया खाएर खोला छेउको भिरतिर लाग्यौं । विधि अनुसारको पूजा सकिएपछि काम शुरु भयो ।

मह काड्न जानुअघि खाजाकाे तयारी गर्दै

माहुरी जहाँ पायो त्यहाँको भिरमा बस्दैनन् । जुन ठाउँमा भिर देउता हुन्छ, त्यही भिरमा मात्र माहुरी बस्छन । भिरको देउता राङ्गकेमी हो ।

हामी पनि देउता भएकाे भिरतिर लाग्याैं । भिर माहुरी बस्ने ठाउँसम्म पुग्न बाटोमा फेरि हुँगा खोला तर्नुपर्ने रहेछ । धेरै आवत जावत गर्न नपर्ने हुनाले हुँगा खोलाको यो भागमा पुल थिएन । उनीहरुले खोलामा बाँसका घना तेस्र्याएर पुल बनाए । बाँसलाई एक अर्कोमाथि अड्याएर पुल बनाउने यो र यस्ता इन्जिनियरिङ ज्ञान हाम्रा गाउँघरमा प्रशस्तै छन । तर यही ज्ञानलाई वैज्ञानिक हिसाबले पुष्टि र परिष्कृत गर्न नसक्दा आज धेरै खर्च लाग्ने पुल बनिरहेका छन । जसले स्थानीय अर्थतन्त्र र वातावरणलाई नोक्सानी पुर्याएको छ ।

भिरमा मह काड्ने तालमेल मिलाउँदै

मह काड्न आठ दश जनाको टोली चाहिन्छ । मुख्य नाइकेलाई पेरिङ्गे भनिन्छ । टोलीका अन्य सदस्यलाई माहुली भनिन्छ । पेरिङ्गे बन्न पहिला माहुली हुनैपर्छ ।

पन्ध्र सोह्र पुस्ता भयाे

जंगेले मह काड्ने कामको संयोजन गर्दै आएको पनि बिस बाइस बर्ष भएछ । उनी स्थानीय निकायमा आवश्यक राजश्व बुझाएर मह काड्ने अनुमति लिन्छन् । अनि मह काड्ने टोली मिलाएर राम्रो साइत भएको दिन निर्क्याैल गर्छन । मह काड्ने क्रममा कमान्डर भई अह्राइपह्राइ गर्छन् र सबैलाई उचित पारिश्रमिक समेत जंगेले नै दिन्छन । जम्मा भएको मह र मैन सहरमा लगि बेच्छन । मह काड्ने टोली सबै उनका भाइ भतिजा नै हुन । 

पहिला पहिला मह कोरीया निर्यात हुँदा राम्रो आम्दानी हुन्थ्यो । तर केहि वर्ष अघि कोरीयाली सरकारले नेपालको मह आयतमा प्रतिबन्ध लागएपछि महबाट हुने आम्दनी खस्किएको छ ।

पन्ध्र सोह्र पुस्ता अघि देखि नै यहाँका कुलुङ राईहरुले भिर महुरीको मह काड्ने गरेको जंगे सुनाउँछन । अनि यहाँको मह नेपालकै उत्कृस्ट भएको उनको दावी छ ।

सबै माहुली पेरिङ्गे हुन सक्दैनन् । माहुलीले पेरिङ्गे भएको सपना देखेमा जान्ने मान्छेलाई देखाई ग्रहदशा पन्छाएर पूजा पाठ गरेपछि मात्र पेरिङ्गे हुनुपर्छ ।

मह काड्नु अघि राङ्गकेमीलाई विधि अनुसार पूजा गरी कुखुराको भोग दिएर खुशी पार्नुपर्छ, नत्र देउता रिसाएमा दुर्घटना हुन्छ । मह काड्ने स्थानमा महिलाहरु जानु हुँदैन, देउता रिसाउँछन भनिन्छ ।

महिलाहरु घरकै काम गर्छन मह काड्ने दिन पनि

संसारकै सबैभन्दा ठूलाे माहुरी

नेपालको हिमाली भेगमा पाइने भिर माहुरीको यो प्रजाति संसारभर पाइने सात प्रजातिका माहुरी मध्ये सबैभन्दा ठूलो हो । यस प्रजातिका माहुरीले लगाएको मह चीन, कोरीया लगायतका देशमा विभिन्न औषधि बनाउन प्रयोग गरिन्छ । नेपालमा पाइने भिर माहुरीको मह पनि उतैतिर निर्यात हुन्छ ।

वसन्त ऋतुमा काडेको मह लाग्ने खालको हुन्छ । यतिबेलाको मह मात्रा मिलाएर थोरै मात्र खानुपर्छ । नत्र दुई तीन दिन सम्म मह लागेर सुतेको सुतै भइन्छ । पहिला पहिला अलि बढि नै मह खानेहरु मरेको भन्ने पनि सुनिन्छ । स्थानीयहरु निलो रंगको बुलु भन्ने फूलको रसबाट बनाएको मह यसरी लाग्ने खालको हुने विश्वास गर्छन् ।

बैज्ञानिकहरु चाहिँ महमा गुराँसका केही प्रजातिमा पाइने ग्रानोटक्सीन भन्ने तत्व परेमा मह लाग्ने बताउँछन । यस प्रकारको महबाट चीनियाँ र कोरीयनहरुले परम्परागत औषधि बनाउँदा रहेछन् । त्यसैले उनीहरुले राम्रै मोलमा यो मह किन्ने गर्छन । 

यस किसिमको लाग्ने मह यूरोपमा पनि पाईने रहेछ । उनीहरु यसलाई ‘म्याड हनी’ (mad honey) भन्दा रहेछन । पर्सियनहरुले लडाई हारेर भाग्दा यस्तो ‘म्याड हनी’ रोमन सेनाहरुले भेट्ने स्थानमा छाडेर गएछन् । रोमन सेनाले सो मह खाएछन् र बेस्सरी लठ्ठिएछन् । यही मौका छोपेर पर्सियनहरुले रोमन सेनामाथि आक्रमण गरी फेरि जित हासिल गरेको इतिहास छ ।

माहुली र उनीहरुको नेता पेरिङ्गे भिर माहुरी भएकाे ठाउँमा पुगेर सबै सल्लाह मिलाइसकेपछि माहुलीहरुको एउटा टोली चट्टानी भिरको पछिल्तिरबाट नाकै ठोकिने उकालो उक्लँदै भिरको टुप्पामा पुग्यो । उनीहरुले खसाएको सुपो (डोरी) मा मालिङ्गोको डोरीले बनेको भर्याङ सहितको अर्को डोरी बाँधेर माथि तानियो र नखस्ने गरी भिर माथि रहेको रुखमा बाँधियो । माहुलीहरुको अर्को टोलीले भिरमा चाका लगाएर बसेको माहुरीको तलतिर स्याउला र पतकर जम्मा गरेर आगो सल्काए र माहुरीलाई भगाउन धुवाँ लगाए ।

प्रविधि र औजारको कमी यहाँ पनि देखिन्छ

चाकासम्म धुवाँ पुगेपछि माहुरीहरु आक्रामक भई बाहिर निस्किए । भिर माहुरीको टोकाईबाट बच्न माहुलीहरुले आफुलाई सामान्य कपडाले छोपे । यतिबेला पेरिङ्गे भने निडरका साथ हावामा झुण्डिएको अत्यासलाग्दो भर्याङ्ग चढ्दै चाका भएसम्म पुगे । निरन्तर हावामा हल्लिएको मालिङ्गोको डोरीले बनेको भर्याङलाई सन्तुलन मिलाए र चाका काटे । अनि चाकालाई डोरीले बाँधेको डालोमा हाले र साथीहरुको सहयोगमा होसीयारीका साथ डोरीको साहयताले चाका भएको डालोलाई तल झारे । मह चोर्न आउने पेरिङ्गे कालै हुनेगरि जिउभरि बसेका माहुरीको टोकाइबाट समेत कत्ति पनि आँत्तिएनन ।

चाका काटेर तल झार्दै

तल बसेका माहुलीहरुले चाका सहितको डालो समाते, चाका झिके र खाली डालो फेरि माथि पठाए । यो क्रम भिर माहुरीले लगाएको चाका नसकुन्जेल जारी रह्यो । पेरिङ्गे चाका काटिरहने, तल र माथिका माहुलीहरुले डालो थाप्ने र मह भएको डालो तल झार्ने र रित्तो डालो माथि लाने क्रम निकैबेरसम्म चलिरह्यो ।

महको डालो तल आइपुग्ने बित्तिकै एउटा समूहले चाका झिक्ने र त्यस चाकालाई हातले बेस्सरी निचोरेर मह र चाका छुट्याउने काम गरे ।

डाेरीकाे भर्याङमा झुण्डिएर मह काड्न जाँदै

माथि हेर्दा टोपी नै खस्ने अग्लो र ठाडो चट्टानीभिरमा मालिङ्गोबाट बनाइएको भर्याङमा झुण्डिएर मान्छेभन्दा ठुला महका चाका काट्ने काम जो कोहीको बसमा थिएन । तर कुलुङहरुको यस टोलीले पुर्खाबाट सिकेको सीप र आपसी तालमेलमा मह काड्ने काम निर्बिघ्नताका साथ सम्पन्न गर्यो ।

माहुरीहरु वर्षमा दुई पटक यस चट्टानी भिरबाट बसाइ सरेर जान्छन् । एकपटक कात्तिकको अन्तिम हप्तामा जान्छन र माघको अन्त्यतिर फर्केर आउँछन् । अनि फेरी बैशाखको मध्यतिर जान्छन र साउनमा फर्केर आउँछन् ।

हामी त डाँका हौं – जङ्गे

मह माहुरीको संचित खाना हो, बसाईं सरी जाने बेलाका लागि संचय गरेर राखेको । बसाईं सर्नु एकदुई दिन अघि माहुरीले जम्मा गरेको सबै मह खान्छन् र चाका रित्तो पारेर बसाईं सर्छन ।

हामी एकदम चनाखो भई माहुरीको व्यवहार हेर्नुपर्छ । उनीहरुले मह खान शुरु गर्नुभन्दा अघिनै मह काड्नुपर्छ । नत्र थोरैमात्र मह आउँछ । यस हिसाबले हेर्दा माहुरीको लागि हामी त डाँका हौं, उनीहरुको घरमा धुवाँ लगाएर उनीहरुले जम्मा गरेर राखेको मह लुट्ने । तर हामी सबै चाका काड्दैनौ, कुनै कुनै यतिकै छोडिदिन्छौं ।’

मह काड्ने काम सकियो । अब काडेको मह र मैनलाई सुरक्षित साथ गाउँसम्म पुर्याउनु छ । बाटो सजिलो छैन । मह काड्न आउने कोहीले मह बोके । कोहीले चाका । अनि बाँकीले मह काड्न प्रयोग भएका भर्याङ लगायतका सामानहरु । यसरी भिर माहुरीकाे मह काडेको हेर्ने  चाहना पुरा भयो ।

भिरमा मह काड्न प्रयाेग गर्ने मालिङ्गोको डोरीले बनेको भर्याङ

भिर माहुरीको मह खाँदाको अनुभव

दुई दिन बेहास भएँ

हरी धामी राई, गुदेल

म गुदेल हेल्थपोष्टमा २० वर्षदेखि कार्यरत छु । घर सोलुखुम्बु जिल्लाकै सोताङ गाउँमा छ । घर पुग्न तीन घण्टा पैदल हिंड्नु पर्छ । शुक्रबार काम सकिएपछि घर जान्छु र आइतबार फर्किने गरेकी छु ।

भिर माहुरीको मह यहाँ प्रशस्त पाईन्छ । मेरो बुबाले पनि पहिला पहिला मह काड्ने गर्नुहुन्थ्यो । २०६५ सालतिरको कुरा हो । काठमाडौं पढ्न बसेका मेरा आफन्तलाई जन्डिस भएछ । यतातिर जन्डिसको उपचारमा भिर माहुरीको मह उपयोगी हुने विश्वास गरिन्छ । उनीहरुले मलाई मह पठाइदिन आग्रह गरे । एक भाँडो मह गाउँबाट जम्मा गरें । बिर्को कसिलो भएको सिसीमा मह खन्याएँ । भाँडामा लागेको मह सोरसार गरेर राखेपछि चम्चामा टाँसिएको मह चाटेँ ।

मह खाएको केहिबेरमा नै जिब्रो र ओठ झमझमायो । बिस्तारै पेटसम्मै झमझम हुनथाल्यो । केहि बेरमै जिउ लठ्ठ भयो । मलाई मह लाग्यो । आधा घण्टा जति पछि त भोमिटिङ्ग नै हुन थाल्यो, धेरै पटक भयो । जिउ पुरै भारी भयो, केहि गरुङ्गो चिजले थिचेको जस्तो । हात खुट्टा चलाउन नसकिने भयो । म मस्तसँग निदाईछु, बेहोस भईछु, दुई दिनपछि बिउझिएँ । शरिर शिथिल थियो, पूरा होस आइसकेको थिएन । पूर्णरुपमा विशेक हुन करिब एक हप्तानै लाग्यो ।

काठमाडौंमा मेरा आफन्तले त्यो मह सबै खाए, केहि समयपछि जन्डिस पनि निको भयो । उनलाई त्यस्तो केहि भएन । मलाई चाहिँ चम्चामा टाँसिएको थोरै मह चाट्दा पनि त्यस्तो भयो । यसपछि मैले आजसम्म पनि भिर माहुरीको मह खाएकी छुईंन ।

कात्तिक मंसिरको महले केहि हुँदैन । तर बैशाख जेठमा काडेको भिर माहुरीको मह चाहीँ यस्तो लाग्ने हुनेरहेछ । तर सबैलाई होईन, कसैकसैलाई ।

पाएसम्म लोकलमा मिलाएर खान्छु

दिपक कुमार कुलङ, गुदेल

म सोलु क्षेत्रमा खच्चडमा सामान यताउता ओसार्ने काम गर्छु । काम गर्दा थकाई लाग्छ । त्यसैले बेलुका लोकल रक्सी पनि खान्छु, पाएसम्म भिर माहुरीको मह राखेर । यसले थकान मेटिन्छ र राम्रो निन्द्रा पनि लाग्छ । यसपाली खेरँलामा गएको थिएँ । जीउ साह्रै दुखेको थियो । बास बसेको घरमा रक्सीमा २ चम्चा भिर माहुरीको मह मिलाएर खाएँ ।

एकैछिनमा जीउ त डल्लो भएको महसुस भयो र झिनिनिनी करेन्ट लागेको जस्तो भयो । हातखुट्टा चलाउनै नसकिने गरी भारी भयो । हलचलै गर्न सकिन । कानले भने सुन्थें । करिब चौबिस घण्टा सम्म यस्तो भयो । त्यसपछि बिस्तारै ठिक भयो । भिर माहुरीको महले शरिरको खराब तत्वहरु निकाल्छ तर मात्रा मिलाएर खान जान्नुपर्छ ।

गाउँ फर्किए पनि काम भने अझै सकिएको छैन । भोलिपल्ट बिहानै चाकाले भरिएको तामाको ठूलो फोसी (एक प्रकारको भाँडो) अँगेनामा बसाइयो । चाका पग्लिएपछि बेस्सरी निचोरेर उनीहरुले मैनको डल्लो बनाए । यो मैन भने काठमाडौंमा जाने रहेछ । जहाँ यसको धेरै थरि प्रयोग हुन्छ । मूर्तिकारहरुले धातु गालेर बनाउने मुर्ति वा अन्य सामानको साँचो बनाउन प्रयोग गर्छन । यो मैन बौद्ध मन्दिरहरुमा बत्ति बाल्ने काममा समेत प्रयोग हुन्छ । यस्तै ओठमा फुटेका बेला लगाउने बाम पनि बनाईंदो रहेछ, माहुरीको चाकाबाट ।

माहुरीकाे चाका पकाएर मैन निकाल्दै

तपाईंका लागि पनि साँचेर राखेको छु 

मह काड्ने काम सकुसल सकिएपछि सबैले अलिअलि मह खान थाले । मलाई चाहिँ माहुरीहरुको बिजोग देखेर मनमनै दया जागेको थियो र मानिसहरुले पनि कस्तो पापकर्म गरेका होलान् जस्तो लाग्यो । मलाई पनि अलिकति मह चाख्नलाई दिए । तर मलाई डर लाग्यो किनकी मैले पहिला नै मह लागेर बेहोस भएका दुई जनालाई भेटिसकेको थिएँ । कतै मह लागेर केहि पो हुने हो कि ? त्यो पनि यस्तो अनकण्टार बिरानो ठाउँमा । कात्तिकको महले केहि हुन्न भनी माहुलीहरुले मलाई सम्झाउने प्रयास गरे । तर पनि मैले त्यहाँ मह खाईन । भोलिपल्ट घर फर्कने बेलामा उनीहरुले क्वाटर भोड्काको सिसीमा मह र एक ढिक्का मैन कोशेली दिए ।

मह काडिसकेपछि पेरिङ्गे आशधन राई प्रसन्न मुद्रामा

घर पुगेको केहि दिनपछि आधा चम्चा मह खाएँ, अलि डराई डराई । तर केहि पनि भएन । मलाई त स्वाद पनि उस्तै लाग्यो, फरक चाल पाईन । पछि एक पटक एक चम्चा मह राखेर हट लेमन खाएँ । फेरि पनि केहि भएन ।

यो महलाई मैले साँचेर राखेको छु । तपाईंलाई पनि यो मह चाख्ने मन भए स्वागत छ ।

फोटोः प्रकाश श्रेष्ठ

भिर माहुरीको मह यात्रा १

भिर माहुरीको मह यात्रा २

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019