जनतालाई होइन, पहिला आफ्नै मन्त्रीहरुलाई कानून सिकाउ सरकार – Myhimaldotcom
Saturday 20, April 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

जनतालाई होइन, पहिला आफ्नै मन्त्रीहरुलाई कानून सिकाउ सरकार

माइहिमाल डट कम , २५ फाल्गुन २०७६, आईतवार ०८:१३

हिमाली बहस

छाउपडी बहस श्रृङ्खला ५

छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान

मंगलसेन, अछाम

जनतालाई होइन, पहिला आफ्नै मन्त्रीहरुलाई कानून सिकाउ सरकार

– पूजा शाह, मंगलसेन, अछाम

जब हामी गाउँघरमा गोठ भत्काउन गइरहँदाखेरि एउटा आमाले भनिरहनुहुन्थ्यो, नानी हामी गोठ भत्काउँछौं, हाम्रो रक्सी बन्द गर । अनि हजुरआमा भन्दै हुनुहुन्थ्यो, नानी हामी गोठ भत्काउँछौं हाम्रो वृद्धभत्ता बढाइदेउ । उहाँहरुले विभिन्न कुराहरु हामीहरुसँग मागिरहनुभएको थियो, गोठ भत्काउन जाँदाखेरि । त्यहाँ अशिक्षितले होइन, शिक्षितले हामीहरुसँग यस्तो हुँदैन, हामी गोठ भत्काउन दिंदैनौं भनिरहनुभएको थियो । तर हामीले हिजो नै भत्कायौं । कसैसँग केही लिनुभन्दा अगाडि केही दिने गरौं, उसका कुराहरु पनि सम्बोधन गरौं । हामी आश्वाशन मात्र होइन, यो गर्दिन्छु मात्रै होइन, पहिला काम गरेर उसको विश्वासपात्र बनौं । यदि हाम्रो विश्वास मान्छ भने उसले हामीले जे मागे पनि दिन सक्छ । यदि हामीले हुँदैन हुँदैन भनि त्यो भोली भोली भन्दै गयौं भने हामीलाई त्यो गोठ भत्काउन पनि भोली भोली भन्नेछ ।

अहिले हामी बालिकाहरु कतिसम्म असुरक्षित छौं भने गर्भ अवस्थामा गर्भपतन गराइन्छ, यदि जन्मिएँ भने मेरो आमाले गाली पाउँछ । यदि म अलि ठूली भएँ भने छाउपडी गोठमा बस्नुपर्छ । अझै ठूली भएँ भने मेरो इज्जत लुटिएला भनेर बस्नुपर्छ अनि वृद्धाअवस्थामा कतै मैले विधुवा बस्नुपर्छ कि भन्ने डर हुन्छ । अनि म बालिका कहिले सुरक्षित भएँ । म आमा कहिले सुरक्षित भएँ । म हजुरआमा कहिले सुरक्षित भएँ । यस्ता कुराहरु पनि यहाँहरुले सही समयमा सम्बोधन गर्नुहोला ।

म एउटी किशोरी भएका नाताले कति दुःख लाग्छ, जब निर्मला पन्तको कुरा सुन्दा, मुस्कान थारुको कुरा सुन्दा । भन्ने बेलामा भन्छ मेरो सरकार, जनताहरु कानूनको बारेमा सचेत भएनन, अनि बढ्यो नारी हिंसा । मलाई लाग्छ यो हैन, सचेत नागरिकबाटै यस्तो भइरहेकोछ । यदि कानून पालानाको कुरा थाहा भएको भए नेपालका सम्माननीय सभामुखले कसरी पस्ने आँट आयो त्यो एउटा सामान्य नारीको कोठामा । जनताहरुलाई कानून सिकाउने होइन सरकार, आफ्नै मन्त्रीलाई कानून सिकाउ । म जस्तो निर्मला पन्तले न्याय पाउनै पर्छ । ती सडकमा हिंडिरहेका नारीहरु सुरक्षित हुनैपर्छ । छाउपडी गोठ अन्त्य गर्नको लागि हामीहरुजस्तो सक्षम नागरिकलाई होइन, असक्षम नागरिकहरुलाई बोलाउ, जो छाउपडी गोठ मानिरहेका छन । त्यो छाउपडी गोठ मान्नाको कारण खोतलौं, त्यहाँभित्र त्यसको मुलजरो के छ । हामीले गोठ भत्काउने होइन, त्यसको जरै उखेल्नेतिर लाग्नुपर्छ । जहाँ असम्भव छ, त्यसलाई संभव बनाउन तपाईं हाम्रो प्रयास चाहिन्छ ।

(छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान अन्तरगत अछामकाे मंगलसेनमा भएको कार्यक्रममा बोलेका कुरा जस्ताको तस्तै ।)

नोटः हिमाली बहसको यो श्रृङ्खलामा हामी छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान अन्तरगत विभिन्न ठाउँमा व्यक्त भएका विचारहरुलाई जस्ताको तस्तै समेट्ने प्रयासमा छौं । तपाईं पनि यो अभियानमा समावेश हुन सक्नुहुन्छ । आफ्ना विचारहरु राख्न सक्नुहुन्छ — सम्पादक ।

 

भिडियाे हेर्न तलकाे लिंकमा जानुहाेला;

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019