चिउरी एकः फाइदा अनेक
वैज्ञानिक नाम Diploknema butyrcea (Roxb.)H.J.Lam. भएको चिउरी Sapotaceae परिवारमा पर्छ ।
अंग्रेजीमा यसलाई Butter tree भनिन्छ । समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटर सम्म अग्लो हुन्छ ।
नेपालमा पुर्व देखि पश्चिम सम्मै पाइए पनि मध्य र सुदुर पश्चिम क्षेत्रमा चिउरी बढी पाइन्छ । घमाईलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धयरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइन्छ ।
हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघ सम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला हुन्छन् ।
चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घिउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।
चिउरीको बिउबाट विरुवा उमारेर रोप्नु राम्रो हुन्छ । यो सजिलै उम्रन्छ । असार साउनमा पाकेर पहेंलो भएको फलबाट बिउ निकाल्नु पर्छ । बिउलाई धोएर छायाँमा सुकाउनु पर्छ । फलबाट निकालेको सात दिन भित्र रोपेको बिउ राम्ररी उम्रन्छ । पात कुहेर बनेको जंगलको मलिलो माटो १ भाग, वालुवा एक भाग र राम्ररी पाकेको गाईवस्तुको मल एक भाग मिलाएको माटोमा १२ घण्टा अगाडि देखि भिजाएको बिउ चार अंगुल जति गाडेर रोप्नुपर्छ । असार, साउन र भदौ सम्म नै विउ रोप्न सकिन्छ ।
१ वर्षपछि २० देखि ४० सेन्टिमिटर अग्लो विरुवा रोप्नलायक हुन्छ । रोपेको ५ बर्षसम्म राम्ररी मलजल गर्नुपर्छ । चिउरी रोपेको बाह्र बर्षदेखि ७० बर्षसम्म राम्रो फल्छ ।
अग्लो रुखमा चढेर टिप्नुपर्ने हुनाले चिउरी टिप्दा निकै होस पुर्याउनु पर्छ । सुरक्षा सामान र सिकेचर सहितका काट्ने हतियार र टिपेको चिउरी हाल्ने भाँडो सहित कम्तीमा २ जना भएर जानुपर्छ । झुप्पा झुप्पामा रहेका फललाई काटेर त्रिपाल वा भाँडोमा झार्नुपर्छ । बोटबाट सबै टिप्नुहुन्न, एक चौथाइ रुखमै छोडिदिनुपर्छ । टिपिसकेपछि बिग्रेका नराम्रा हटाएर दानालाई तातो हुनेगरि पराल वा अन्य पातले छोपेर पकाउनु पर्छ । ५ देखि ७ दिनमा फल पाकेपछि बिजुला निकाल्नुपर्छ । बिजुला राम्ररी धोएर करिब ३ दिनसम्म सुकाउनु पर्छ ।
परम्परागत रुपमा आगोमाथि सुकाएको चिउरीको बिजुला बजारमा बिक्दैन । सोलार डायर बिजुला सुकाउने सबैभन्दा राम्रो ठाउँ हो । घामको किरण प्रत्यक्ष पर्ने हुँदा यसमा सुकाएको बिजुला गुणस्तरीय हुन्छ । राम्रा बिजुलाहरु एकनासका पोटिला र सग्ला हुनुपर्छ, रंग सुनौलो हुनुपर्छ, झारपात र फोहर कत्तिपनि हुनुहुन्न । अनि सबै बिजुला राम्ररी सुकेको हुनुपर्छ (आद्रता करिब ७ प्रतिशत हुनुपर्छ) ।
चिउरीको बिजुला प्रशोधन गरी घिउ बनाईन्छ । घिउ निकाल्दा बाक्लो फलामको भाँडोमा भुटेर ढिकीमा कुटी बोक्रा छुट्याउने वा पहिला ढिकीमा कुटेर बोक्रा अलग गरि बफ्याएर कोलमा पेली तेल निकालिन्छ । यही तेल जमेर चिउरीको घिउ बन्छ । १८ किलोग्राम जति बिजुलाबाट १ लिटर घिउ निस्कन्छ । यसमा भएको सेपोनिनका कारण यो घिउ खाँदा तितो हुन्छ । सेपोनिन विषालु पदार्थ हो । यो खान योग्ग मानिन्न । त्यसैले घिउ खानेहरुले यसलाइ बिभिन्न विधि अपनाई सेपोनिनको भाग अलग गरेर मात्र खान्छन ।
फल संकलन गर्ने चिउरीको बोट राष्ट्रिय वनमा भए ईजाजत लिनुपर्छ र बिक्री गर्नुअघि एक किलोग्रामको ३ रुपैयाँ राजस्व तिर्नुपर्छ ।
फाेटाेः माइहिमाल डट कम
भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेला ।