दिगो विकास र भविष्यको चिन्ता महिलाहरुलाई मात्रै – Myhimaldotcom
Sunday 5, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

दिगो विकास र भविष्यको चिन्ता महिलाहरुलाई मात्रै

सुशील मैनाली , २४ श्रावण २०७६, शुक्रबार ०७:०८

राष्ट्रपतिः ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएपनि जलवायु परिवर्तनको दुस्प्रभावको मारमा भने हामी निरन्तर पर्दै आएका छौं ।

वेगुम्पाः कार्बन उत्सर्जन गर्ने होइन बरु कार्बनलाई सोसेर राख्ने समुदाय भएपनि जलवायु परिवर्तनको मारमा हामी सबैभन्दा बढी पर्दै आएका छौं ।

राष्ट्रपतिः हाम्रो राष्ट्रिय आयको ठूलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चिनु परेको छ ।

वेगुम्पाः न त हाम्रो आय छ न प्रकोपबाट उत्पन्न समस्या समाधान गर्ने हैसियत नै छ ।

राष्ट्रपतिः यस्ता घटनाहरुको प्रत्यक्ष असर महिला र विपन्न वर्गमा झन बढी पर्ने गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोप २४ मा अन्तरराष्ट्रिय समुदायसँग कुरा राखिरहँदा वेगुम्पाका विपन्न र महिला भने असरसँग लड्ने क्षमता बढाउन आय आर्जनका काम गरिरहेका छन ।

राष्ट्रपतिः नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको जस्तो अनुभुति हामीलाई हुने गरेको छ ।

तर दुर दराजका नेपालीले भने यति सम्म भन्न पाएका छैनन, भन्ने आँट गरेका छैनन । किनकी उनीहरुको कुरा सुन्ने नै कोही छैन । न त उनीहरुलाई यस्ता कुरा सुनाउने अवसर नै मिल्छ ।

उनीहरु त आफ्नै बलबुताले आफूले नगरेको नबिगारेको कसुरको सजाय भोग्नु नपरोस भनेर जलवायु अनुकुलनका काम गरिरहेका छन ।

राष्ट्रपतिः निर्दोषहरु माथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो भन्ने कुरा म यहाँहरु सबैलाइ स्मरण गराउन चाहन्छु ।

समुदायको तर्फबाट एउटा संचारकर्मीको नाताले यो लेख पनि यही स्मरण गराउन चाहान्छ कि निर्दोषहरु माथि अन्याय हुनु हुँदैन ।

राष्ट्रपतिः हामी प्राकृतिक रुपमै विश्वको तापक्रम वृद्धि (Global Warming) रोक्न ठूलो योगदान गरि आएको राष्ट्र हौं ।

नेपालका गाउँघर र समुदाय नै यस्तो काममा लागिरहेका छन । शहरमा बस्ने र आफू एउटा हिंड्न धेरैको लावालस्कर लगाउनेले त प्रदुषण नै गरिरहेका छन ।

राष्ट्रपतिः हामीले राष्ट्रपति कार्यालयमा विद्युतीय सवारी साधनको प्रयोग सुरु गरिसकेका छौं र यसलाई क्रमशः अन्य क्षेत्रमा विस्तार गर्दै लगिने छ ।

वेगुम्पाः हामीसँग न त त्यस्तो हानिकारक सवारी साधन छ, न त त्यसमा चढ्ने अवसरकै खोजिमा छौं ।

दोलखाको वेगुम्पा र क्याम्पल जलवायु अनुकुलित गाउँ बन्दैछन । कालिञ्चोक गाउँपालिकाका यि दुई गाउँ हिउँ र पानी पर्ने अनिश्चितताका कारण सधैँ जोखिममा छन । भुइचालोपछि बढेको पानीको संकट यहाँको अर्को समस्या हो ।

जलवायु परिवर्तनको कारक मानिने हरित गृह ग्याँस बेगुम्पा जस्ता गाउँले निकाल्दैनन । तर यसको सबै भन्दा बढी असर पनि यिनै गाउँमा देखिन थालेको छ । त्यसैले दाङको राप्ती गाउँपालिकाका बगासोती र भुल्के अनि दोलखाको कालिञ्चोक गाउँपालिकाका वेगुम्पा र क्याम्पलका २४० परिवार आफूलाई वातावरण अनुकुलित बनाउन लागिपरेका हुन ।

उनीहरुले जोखिम पहिचान गरेका छन । वन, वन्यजन्तु, पोखरी, पानीका मुहान संरक्षणमा भएका परम्परागत ज्ञानको महत्व बुझेका छन । बालीमा लाग्ने रोग किरा लगायत अन्य प्रकोपहरु जलवायु परिवर्तनकै कारण बढेका हुन भन्ने थाहा पाएका छन ।

वातावरण अनुकुलित गाउँमा टुकी बल्दैन, गाउँभरिनै उर्जाको नवीकरणीय स्रोत हुन्छ । खेतीमा विषादि प्रयोग गरिंदैन, बरु जैविक विषादि र प्रांगारिक मलमा जोड दिइन्छ । खानेपानीको सुविधा हुन्छ । मुल संरक्षण गरिन्छ । थोरै पानीले धेरै सिंचाइ गर्न विभिन्न उपाय अपनाइन्छ । बारीमा जताततै वस्तु बाँधिंदैन, गोठ सुधार गरिन्छ । बढी फल्ने र प्रकोप सहने विउविजन उपलब्ध हुन्छ । अनि प्रकोपबाट बच्ने प्रष्ट खाका सहितको गाउँ विकास योजना र कार्यक्रम हुन्छ ।

अरु जे भएपनि एउटा कुरो भने मिलेको छ । नेपाललाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आव्हान गर्ने राष्ट्रपति पनि महिला र गाउँलाई र आफ्ना सन्ततीलाई जोगाउन कडा परिश्रम गर्ने पनि महिला । किनकी धेरैजासो पुरुषहरु कामको खोजिमा गाउँ बाहिर छन । अथवा उनीहरुलाई यस्ता कुरामा धेरै चासो छैन । वा उनीहरु काम नै गर्दैनन । दिगो विकास र भविष्यको चिन्ता महिलाहरुलाई मात्रै छ ।

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019