हिमालमा व्यक्तिले जोगाएको वनको महत्व बढी छ
हिमाली बहस श्रृङ्खला
(प्राकृतिक स्रोत संरक्षण, व्यवस्थापन र उपयोग १)
नेपाल हिमाली देश हो । यहाँ तराई, पहाड र हिमाल गरी तीन किसिमको भौगोलिक बनावट छ । तराई भौतिक पुर्वाधार र पहुँचका हिसाबले हेर्दा निकै सुगम छ । पहाड यो भन्दा अलि अप्ठ्यारो छ । हिमाली भेग निकै विकट छ ।
भौगोलिक बनावट तथा सामाजिक र आर्थिक परिवेशले संरक्षणका काममा धेरथोर माने राख्छ । अब रह्यो हिमाली देश नेपालको पनि हिमाली भेगमा पारिवारिक निजी वनको महत्व । अहिले नेपालको ४४ प्रतिशत भन्दा बढी भू भाग वनजंगलको रुपमा रहेको छ । तर वनजंगल सहितको हरियाली भूभाग भने एकातिरबाट हेर्दा यो भन्दा कम छ, अनि अर्कोतिरबाट हेर्दा यो भन्दा बढी छ ।
कम कुन अर्थमा छ भने अहिले वनजंगल भनिएको सबै भागमा हरियाली छैन । बगर, पाखापखेरा, हिमालले ढाकेको क्षेत्र, नदी आदी सबै जंगलको रुपमा परिभाषित गरिएको छ । बढी कुन अर्थमा भने अहिले जंगल भनिएको भाग सरकार, समुदाय र अन्य संगठित संस्थाहरुको नाममा रहेको भाग हो । तर नेपालमा रुखविरुवा यतिमा मात्रै सिमित छैनन् । वनजंगल र हरियालीको धेरै भाग परिवार वा व्यक्तिको अधिनमा रहेको निजी जमिनमा पनि छ । यसरी रुखविरुवा भएको ठूलो भागलाई अहिलेसम्म कसैले वन वा हरियाली भएको क्षेत्र भनेर मानेको छैन । यस्तो वन तराई, पहाड र हिमाल सबैतिर रहेको छ, घना शहरी क्षेत्र बाहेकका ठाउँमा ।
अब रह्यो महत्वको कुरा । त्यही वन सरकार वा समुदाय वा कुनै संगठित संस्थाको अधिनमा हुँदा महत्वपुर्ण र लाभदायक हुने अनि त्यही वन कुनै परिवार वा निजी उद्यमीको अधिनमा हुँदा महत्वपुर्ण नहुने भन्ने हुँदैन ।
हामीले अहिले यही कुरा बुझाउन खोजेको हो । तराई पहाडको थोरै धान खेति गरिएको क्षेत्रलाई छोडेर हेर्ने हो भने अधिकांश खेति गरिएको भागमा रुखविरुवा हुर्काइएको छ । यसरी हुर्काएका विरुवा र रुखले परिवार, समुदाय र वातावरणलाई दिने फाइदा जंगलले दिने भन्दा कम छैन । एउटा परिवारले आफ्नो बारीमा लगाएको घाँस बाँस जस्ता विरुवाबाट लिने फाइदा जंगलमा रहेका रुखबाट हुने भन्दा कैयौं गुणा बढी छ ।
पारिवारिक निजी वन संघ अहिले यही बुझाउन खोजिरहेको छ । एकछिन तथ्याङ्कलाई पनि हेरौं । सन् २०११/०१२ मा गरिएको अध्ययन अनुसार नेपालमा ५४ लाख २३ हजार २९७ घरधुरी छन । यसको झण्डै एक चौथाई अर्थात १३ लाख २६ हजार ४८३ घरधुरीले ०.१ हेक्टर देखि १० हेक्टरसम्म वन लगाएका छन ।
जसमा ५ करोड ३२ लाख ९९२ रुखहरुको व्यवस्थापन गरिएको छ । तथ्याङ्क संकलन गरिएको यही समयमा नेपालको वनक्षेत्र ३९ प्रतिशत थियो जुन अहिले ४४.७५ प्रतिशतमा पुगेको छ । यसरी हेर्दा वनक्षेत्र बढेसँगै निजी र पारिवारिक वन समेत बढेको छ ।
पारिवारिक निजी वनमा अहिले चिउरी, रिठ्ठा, ओखर, सुन्तलाका विभिन्न प्रजाति, स्याउ, आरु, आँप जस्ता ठूला रुखहरु मात्रै छैनन बरु टिमुर, ढटेलो, किवी, चिराईंतो जस्ता झाडी र बुट्यानहरु पनि छन । यसबाहेक डालेघाँसको रुपमा बारीका कान्लामा लगाएका रुखको संख्या पनि धेरै छ । उत्पादन नहुने वा अन्न र नगदेबाली भन्दा बढी उत्पादन लिन रुख लगाउने चलन पछिल्लो समय बढेसँगै कडा वा नरम काठ हुने विरुवा लगाउने चलन पनि बढेको छ ।
हिमालमा बस्ती एकातिर र वन एकातिर रहेको हुन्छ । जसको नियमित रेखदेख गर्न उपभोक्ताहरु असमर्थ हुन्छन । तर निजी वन उनीहरुको रेखदेख हुने ठाउँमा हुन्छ । हिमाली वनमा मानिसहरु जडिबुटी टिप्ने बेलामा मात्रै जान्छन तर निजी वनमा प्राय सँधै जान्छन । यसैले यो क्षेत्र सबैका लागि महत्वपुर्ण हुने नै भयो ।
संरक्षणको कुरा गर्दा हिमालमा अहिले भइरहेका वन संरक्षण सम्बन्धी प्रयासहरु अपर्याप्त छन । सरकारी प्रयासको त कुरै छोडौं । यस्तो ठाउँमा व्यक्तिले जोगाएको वन महत्वपुर्ण हुने नै भयो ।
सरकारले यो बर्ष चलाएको ५ करोड विरुवा रोप्ने अभियानले हिमाललाई धेरै छोएन । तर यही ठाउँमा आम्दानीका लागि स्याउ, ओखर जस्ता विरुवा लगाउने काम निजी क्षेत्रले पर्याप्त मात्रामा गरेको छ । त्यसैले पनि हिमाली क्षेत्रमा पारिवारिक निजी वनको महत्व धेरै छ ।
सरकारको प्रत्यक्ष संरक्षण र व्यवस्थापनमा रहेको वनमा संरक्षणकर्मीहरु लगभग पुग्दै पुग्दैनन । सामुदायिक वनको रुपमा संरक्षण र व्यवस्थापन भएको क्षेत्रमा समुदायका मानिसहरु अलि बढी पुग्छन । तर त्यही क्षेत्रमा भएको पारिवारिक निजी वनको स्याहार सुसारमा मानिसहरु लागिपरेका हुन्छन । हिमाली क्षेत्रमा कमै मात्र खाद्यान्न बाली उत्पादन हुने र अधिकांश मानिसहरु अन्य प्राकृतिक स्रोतमा निर्भर हुनाले पनि यसको महत्व बढी भएको हो ।
आफ्नै खेतबारीमा रुखविरुवा भएपछि आवश्यक काठ दाउराका लागि वन जानुपरेन । घाँस सोत्तर जस्ता दैनिक चाहिने कुरा पर्याप्त हुने नै भयो । यसरी परिवारको अधिनमा रहेको वनले सरकार वा समुदायले व्यवस्थापन गरेको वन जोगाउन मद्धत गर्यो ।
जलवायु परिवर्तनको असरसँग जुध्न अनुकुलन क्षमता बढाउनु पर्ने हुन्छ । यसरी परिवारको आम्दानी बढाउन लगाइएको रुख विरुवाले उनीहरुको आर्थिक अवस्थामा सुधार गर्दै जलवायु परिवर्तनका असरसँग जुध्ने क्षमता समेत बढाउँछ । जलवायु परिवर्तनको सबै भन्दा बढी प्रभाव पर्ने हिमालमा यो काम गर्नु हामी सबैको पहिलो कर्तव्य हो ।
अहिलेसम्म पारिवारिक निजी वन संघ नेपालका ६० वटा जिल्लामा जिल्ला शाखा छन । ७ वटै प्रदेशमा प्रदेश समिति बनेको छ । स्थानीय तहमा पनि यस्ता समितिहरु बनेका छन । अहिले सम्म ८ हजार परिवारले सदस्यता लिइसकेका छन ।
यस्तै २,४०२ वटा दर्ता गरिएका निजी वनले २,३३३.४ हेक्टरमा ३ लाख ३० हजार ७८२ वटा रुखविरुवा हुर्काएका छन । अहिले नै कुल मागको ४० प्रतिशत काठ पारिवारिक निजी वनबाट पूर्ति हुन्छ । दाउरा, डालेघाँस र भुईंघाँसको अधिकांश भाग निजी वनबाटै प्राप्त हुन्छ ।
हरित अर्थतन्त्र निर्माणका लागि हरित रोगजार श्रृजना गर्नु हाम्रो लक्ष्य हो । यसले परिवारलाई फलफूल र नरम काठमा आत्मनिर्भर बनाउँछ । अनि बाँकी रहेको वनजन्य पैदावारको प्रशोधन गरि बजारमा पुर्याउन उद्यमको विकास गर्छ ।
अहिले गर्नुपर्ने अर्को काम भनेको पारिवारिक निजी वनमैत्री नीति नियमहरु बनाउन पहल गर्नु हो । अहिले पारिवारिक निजी वनबाट आएको काठ तथा गैरकाष्ठ वन पैदावारलाई बजारसम्म पुर्याउन धेरै कठिनाई र बाधा व्यवधानहरु छन । रिठ्ठा जस्ता कतिपय किसानले आफ्नो बारीमा फलाएर बजार पुर्याउने बालीमा समेत अहिले वनजन्य उत्पादन भनी कर लगाईंदै आएको छ । कृषिवन अभियान प्रभावकारी बन्न सकेको छैन । जडिबुटी खेतिलाई प्रोत्साहन गर्दै हिमाली परिवारलाई आर्थिक रुपले सबल बनाउने काम गर्न धेरै बाँकी छ ।
हामीले सानोतिनो सुरुवात गरेका छौं । जस्तै सल्यानको कुमाख क्षेत्रमा १५ हजार टिमुरका विरुवा रोपिएका छन । आउने बर्ष १ लाख टिमुर रोप्ने लक्ष्य छ । यसका लागि पारिवारिक निजी वन किसानले सल्यानको बुराँसेमा नर्सरीमा विरुवा हुर्काइरहेका छन ।
सरकारको ५ करोड विरुवा रोप्ने अभियानलाई सघाउन गएको सिजनमा मात्रै पारिवारिक निजी वनहरुमा १० लाख विरुवा रोपियो ।
तर आफ्नो बारीमा उब्जाएको वन पैदावारलाई कृषि पैदावार सरह स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउने अवस्था बनेको छैन । पारिवारिक निजी वन लगाउने र उद्यम स्थापना गर्न चाहनेहरुलाई सहुलियत व्याजदर सहितको ऋण उपलब्ध हुन सकेको छैन । त्यस्तै बिमा नहुनु, परिक्षण गरिएको सुरक्षित विरुवा उपलब्ध नहुनु, कृषिमा जस्तो सरल प्राविधिक सहयोग उपलब्ध नहुनु र साल प्रजातिका रुखहरु प्रतिबन्धमा पर्नुले समेत पारिवारिक निजी वनकर्मीलाई निराश बनाएको छ ।
यिनै समस्यै समस्याका कारण पारिवारिक निजी वनको उत्पादन बजारसम्म पुर्याउन बिचौलियाहरुको सहयोग लिनुपर्ने बाध्यात्मक स्थिति बन्दै गएको छ ।
रैथाने बिउलाई जोगाउँदै जैविक विविधता संरक्षणमा पुर्याएको योगदानको कदर नहुँदा पारिवारिक निजी वन लगाउन चाहनेहरु निराश बन्दैछन । यिनै तमाम समस्यासँग जुध्न र अवसरको उपयोग गर्न पारिवारिक निजी वनकर्मीहरुलाई सहयोग गर्नु नै हाम्रो एकमात्र उद्धेश्य हो ।
(पारिवारिक निजी वन संघका अध्यक्ष जोगराज गिरीसँगको कुराकानीमा आधारित ।
हिमाली बहस श्रृङ्खलामा हामी हिमाली क्षेत्रका विभिन्न विषयमा बहस चलाउँछौं । तपाईंसँग पनि यस्ता बिषय छन भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, सुझाव दिन सक्नुहुनेछ ।)