अहेवले दिनसक्ने सेवा दिन डाक्टर किन चाहियो ? – डा. मनोज कुमार तिमिल्सैना – Myhimaldotcom
Thursday 5, December 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

अहेवले दिनसक्ने सेवा दिन डाक्टर किन चाहियो ? – डा. मनोज कुमार तिमिल्सैना

माइहिमाल डट कम , २९ श्रावण २०७६, बुधबार ०९:१५

नमस्ते म डाक्टर मनोज कुमार तिमिल्सैना । विगत ६ महिना देखि कोटडाँडा प्राथमिक स्वास्थ्य केन्द्र, मुगुमा कार्यरत छु । यो दुर्गम ठाउँमा आउनुको एउटा मुख्य उद्धेश्य चाहिँ यहाँ आएर सेवा पुर्याउँ, यहाँका जनताहरुमा सेवा पुर्याउँ भन्ने हो र यहाँ आएर पनि केही गर्न सकिएन, अझै राम्रोसँग सेवा दिन सकिएन भने यहाँ आएको अर्थ र उपलब्धि हुन सक्दैन ।

अब हामीले त्यत्रो अध्ययन गरिसकेपछि र यो ठाउँमा आइसकेपछि यहाँ पर्याप्त औषधि उपकरणहरु छैन र हामीले उही अहेवहरुले नै गर्नुपर्ने काम गर्नुपर्यो भने न हामीले दिन खोजेको सेवा दिन सक्छौं न त यहाँका जनताले नै त्यो सेवा पाउँछन न त हाम्रो व्यक्तिगत वृत्ति विकास नै हुन्छ । हामी यहाँ आएर मात्रै हुँदैन, यहाँ औषधि उपलब्ध भएन भने हामीले राम्रोसँग उपचार गर्न सक्ने अवस्था हुँदैन । दुर्गममा वास्तवमा डाक्टरहरु पुगेका छन तर अझै राज्य पुग्न सकेको छैन ।

महिला सुत्केरी भएपछि पाउने सुत्केरी सेवा लिए वापतको यातायात खर्च र अन्य खर्चहरु हामीले समयमै दिन नसकिरहेको अवस्था छ । उसले बच्चा जन्म दिइसकेपछि उसले खानुपर्ने पोषिलो कुराहरु भयो अन्य कुराहरु चैं उसले तत्कालै खानुपर्ने हुन्छ । तर हामीले समयमै उसलाई भत्ता उपलब्ध गराउन नसकेको कारणले उसको बच्चा ठूलो १ बर्षको भइसकेपछि चैं भत्ता उपलब्ध गराउनु परेको अवस्था छ । त्यो भत्ता दिएपनि कामै नलाग्ने जस्तो अवस्था छ । र यहाँ हामी चैं सुत्केरी भइसके पश्चात महिलालाई अहिले भत्ता छैन भनेर पठाउन हामी बाध्य छौं । खास जुन उद्धेश्यका साथ भत्ता दिन खोजिएको हो त्यो उदेश्य चैं परिपुर्ति भएन कि जस्तो लाग्छ ।

मुगु जिल्लाको एउटा मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडि र इमरजेन्सी सेवा उपलब्ध छ । यहाँ प्रशासनिक भवन र कर्मचारी आवास पनि छ । यहाँ हामीले सुरक्षित गर्भपतन देखि आमा सुरक्षा कार्यक्रम लगायतका सम्पुर्ण कार्यक्रमहरु चलाउँछौं र ल्याव सेवा पनि त्यही उपलब्ध छ ।

सरकारले पनि दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्छ । सुगममा सेवा सुविधाहरु बढी हुन्छन । दुर्गम ठाउँमा इन्टरनेट उपलब्ध छैन, यातायातको सुविधा छैन, त्यस्तै बिजुलीको सुविधा छैन । त्यही भएर दुर्गमलाई राज्यको नीतिमा पहिलो प्राथमिकतासाथ हेरिनुपर्छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा त अझ राज्यले दुर्गमलाई अझ बढी प्राथमिकता दिनुपर्ने देखिन्छ ।

कुनै पनि चिकित्सकलाई दुर्गममा पठाइसकेपछि उसलाइ एक बर्ष त्यहीं बसेर काम गर्न दिनुपर्छ । उसको वृत्ति विकास र अन्य नयाँ नयाँ कुराहरु पहिला नै सिकाएर, दुर्गममा जानु पूर्व नै न्यूनतम तालिमहरु दिएर पठाउँदा चिकित्सकहरु बारम्बार तालिमकै लागि वा नयाँ कुरा सिक्नका लागि तलतिर झर्नुपर्ने अवस्था रोकिने थियो । त्यसैगरि कुनै पनि नयाँ कुराहरुको अपडेट गराउनको लागि उसलाई सम्बन्धित ठाउँमा आएर दिंदा खेरि चैं अझ यो चैं बढी इफेक्टिभ हुने र चिकित्सकले पनि अझ राम्रोसँग नियमित रुपमा सेवा सञ्चालन गर्नेसक्ने अवस्था हुन्थ्यो ।

यसो गर्दा जनतालाइ हरेक दिन सेवा दिइरहन सक्ने अवस्था रहन्छ । तल जान आउन नै कठिन हुने दुर्गममा जाँदा र फर्कँदा नै बढी समय लाग्छ । अनि यस्ता तालिमहरु यही परिवेशमा चलाउँदा बढी प्रभावकारी पनि हुन्छ ।

कुनैपनि प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पतालमा पठाइसकेपछि प्राथमिक स्वास्थ्य केन्द्र भनेको के हो, त्यसका लागि चाहिने आधारभुत आवश्यकताहरु के के हुन भन्ने कुरा चैं अहिलेसम्म पनि सम्बन्धित निकायले बुझ्न सकिरहेको छैन । चिकित्सक त जान्छ गाउँमा, दुर्गममा सेवा गर्न जान्छ तर न त्यहाँ औषधिको पर्याप्त मात्रामा उपलब्धता हुन्छ न आवश्यक औजार उपकरण नै हुन्छ । हामीसँग औजार उपकरण नै भएन, आवश्यक औषधि नै भएन भने कसरी सेवा दिन सकिन्छ ।

त्यही कारणले दुर्गममा अझै पनि भन्ने गरिन्छ डाक्टरहरु गएका छैनन, चिकित्सकहरु अझै पनि पुगेका छैनन भन्ने गरिन्छ तर त्यस्तो होइन चिकित्सकहरु पुगेका छन तर अझै पनि राज्यको ध्यान चैं पुग्न सकिरहेको छैन । राज्यले, सम्बन्धित निकायले यसमा विशेष ध्यान दिन सकिरहेको छैन । अझै पनि डाक्टरहरु दुर्गमा जाँदै गएनन भन्ने कुरा मात्रै आउँछ ।

मानिलिउँ सुगममा एक बर्षसम्म सुत्केरी प्रोत्साहन भत्ता दिन सकिएन, समयमै भिटामिन ए को क्याप्सुल खुवाउन सकिएन, समयमै भ्याक्सिनहरु पुगेन भने चैं के हुन्छ ? त्यही कुरालाई ठूलो इस्युका रुपमा अगाडि बढाइन्छ, तर हामी दुर्गम ठाउँमा यो त हाम्रो नियमित बाध्यता जस्तै भएको छ, नियती नै भएको छ ।

सुत्केरी भत्ता एक बर्षसम्म नपाउने, सामान्य भिटामिन ए क्याप्सुलहरु उपलब्ध नहुने, सामान्य र अनिवार्य रुपमा लगाउनु पर्ने भ्याक्सिनहरु उपलब्ध नहुने जस्ता कुरा हाम्रा लागि सामान्य जस्तै भएका छन । त्यही भएर दुर्गममा चिकित्सकहरु नपुगेका होइनन, दुर्गममा सम्बन्धित निकायको स्वास्थ्य हेर्ने नीति, राज्यको नीति नपुगेको हो जस्तो लाग्छ ।

कुराकानीमा आधारित ।

 

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019