किवी किन्ने खोज्दै किसान काठमाडौंमा – Myhimaldotcom
Wednesday 8, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

किवी किन्ने खोज्दै किसान काठमाडौंमा

सुशील मैनाली , २१ मंसिर २०७६, शनिबार ११:२८

यो किवी फल टिप्ने समय हो । किसानहरुले लाखौं खर्च गरेर किवी हुर्काएका छन । बर्षौंसम्म स्याहार सुसार गरेर हुर्काएको विरुवाले राम्रै फल दिन थालेको छ । तर उनीहरु भने किवी फल बोटमै छाडेर काठमाडौं छिरेका छन ।

दोलखा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर लगायत जिल्लाका किवी किसानहरु अहिले काठमाडौंमा भेटिन्छन । उनीहरु किवी किन्ने मानिस खोज्दै काठमाडौंको बजार चाहारिरहेका छन ।

के हो किवी

चिनमा परापुर्व कालदेखि नै बच्चा स्वस्थ राख्न र गर्भवती तथा सुत्केरीलाई औषधिको रुपमा किवी खान दिने गरेको पाइन्छ । चिनमा यो चाइनिज गुजबेरीका नामले चिनिन्छ । झण्डै ११० बर्ष अगाडि न्यूजिल्याण्डमा पहिलो पटक फलाएपछि यसलाई किवी भन्न थालियो र फलकै रुपमा खान सुरु गरियो ।

विश्वमा उत्पादन हुने किवीको आधा भन्दा बढी भाग चिनमा फलाइन्छ । तर बिक्रीका हिसाबले हेर्ने हो भने न्यूजिल्याण्डले विश्व किवी बजारको झण्डै आधा हिस्सा ओगट्छ । सन् २०१८ मा यसले १ खरब ६५ अरब भन्दा बढी रुपैयाँ किवीबाट आम्दानी गर्यो ।

न्यूजिल्याण्ड पछि इटाली, वेल्जियम र चिलीले बढी किवी बेच्छन । साढे ८ लाख रुपैयाँको किवी बेच्दै विश्व बजारमा भारत ६८ औं स्थानमा रहेको छ ।

स्पेन, चिन, वेल्जियम, जापान, जर्मनी, नेदरल्याण्ड, फ्रान्स, रसिया, अमेरिका, इटाली, चाइनिज ताइवान, दक्षिण कोरिया जस्ता देशहरुले किवी आयात गर्छन । जापानले सबैभन्दा बढी र रुसले सबैभन्दा कम मुल्यमा किवी किन्छ ।

किन खाने किवी

मेडिकल न्यूज टुडे डट कममा लेखिए अनुसार किवी खानेलाई क्यान्सर, मधुमेह र मुटुरोग जस्ता घाातक रोगको जोखिम कम हुन्छ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आयु लम्ब्याउँछ । छाला स्वस्थ्य हुन्छ । निद्रा राम्रो पर्छ । किड्नीमा हुने पथ्थरीलाई कम गराउँछ र उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ । यसमा भएको रेशाले कब्जियत खुलाउँछ ।

किवी पौष्टिकताले भरपुर हुन्छ । क्यालिफोर्निया किवीफ्रुट कमिसनका अनुसार किवीमा प्रोटिन, कार्बोहाइड्रेड, क्यालसियम, फस्फोरस, आइरन लगायत भिटामिन ए, भिटामिन ई र भिटामिन सि प्रशस्त पाइन्छ ।

यसले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ । डिएनएको क्षयिकरणलाई रोक्छ । साथै तौल कम गर्न सहयोगी हुन्छ ।

तर यसले रगत पातलो बनाउने हुनाले अप्रेशन गर्नु केही समय अगाडि र फस्फोरस समेत पाइने हुनाले किड्नीमा समस्या भएकाहरुलाई किवी नखान सल्लाह दिइन्छ ।

किवीको बोक्रा फालेर वा सोझै खान सकिन्छ । खानापछि दिनमा एकचोटी मात्रै खाएपनि किवीले शरिरलाई स्वस्थ बनाउँछ । अरु धेरैवटा फल खाँदा पाइने पोषण र खनिज तत्व किवी एउटैमा पाइन्छ । एउटा ठूलो खालको किवी (१०० ग्राम) ८ केरा, १७ स्याउ, २ सुन्तला, ४ कागती बराबर हुन्छ ।  त्यसैले किवीलाई फलहरुको राजा भनिन्छ । धेरै गुण भएपनि नेपालमा किवीको उत्पादन र यसलाई खाने चलन भने कम छ ।

नेपालको झण्डै ३० प्रतिशत भुभाग किवी खेतिका लागि उपयुक्त छ । यसको मुख्य बजार काठमाडौं हो । जहाँ नेपालकै सबैभन्दा बढी किवी खपत हुन्छ । तर अहिले बजारमा देखिएको अधिकांश किवी भने नेपालको होइन । भारत हुँदै अन्य मुलुकबाट आएको किवी धेरै माइलको यात्रापछि मात्रै काठमाडौं आइपुगेको हो ।

किन खाने फलफूल

मानिस स्वस्थ रहन एक बर्षमा ६१ किलोग्राम भन्दा बढी फलफूल खानुपर्छ । विश्वकै औसतलाई हेर्ने हो भने एक व्यक्तिले ७४ किलोग्राम फलफूल खाएको तथ्याङ्कले देखाउँछ । संसारमा प्रतिव्यक्ति सबैभन्दा बढी फलफूल खाने देशमा मोन्टेनेग्रो २२३ किलोग्राम, घाना १७२ किलोग्राम, स्लोभेनिया १३० किलोग्राम र अमेरिका ११५ कलिोग्राम पर्छन । औसतमा हेर्दा छिमेकी देश चिनमा प्रतिव्यक्ति ८१ किलोग्राम र भारतमा प्रतिव्यक्ति १२ किलोग्राम फलफूल खाने गरेको पाइन्छ । नेपालमा भने औसतमा एक व्यक्तिले ३९ किलोग्राम फलफूल खाएको देखिन्छ । यो एउटा व्यक्तिले बर्षभरिमा खानुपर्ने ६१ किलोग्राम भन्दा निकै कम हो ।

एकातिर हामीले खाने फलफूलको मात्रा पुगिरहेको छैन भने अर्कोतिर नेपाली किवी उत्पादक किसानहरु बजारको खोजिमा भौतारिरहेका छन । जिरीका किवी किसान ओलक बहादुर जिरेल भन्नुहुन्छ, “हामी आफैं कामदार, आफैं प्राविधिक अनि आफैं बजार व्यवस्थापक हुनुपरेको छ ।” किवीको बजार निश्चित छैन । “काठमाडौंको बजारमा किवी बिक्छ तर अहिलेसम्म जोखिम व्यहोर्न कोही तयार छैन ।” सेफ फूड अलायन्स अभियानका एक अभियन्ता सुहृद चापागाईंको विश्लेषण छ ।

काठमाडौंमा बजार खोज्न आउनुभएका जिरीकै अर्का किसान किरण खड्काले गएको बर्ष ४ टन किवी बेच्नुभयो । “यसपाली ८/१० टन हुन्छ । तर बजार भने अझै निश्चित भएको छैन,” — उहाँ भन्नुहुन्छ । थाहा नगरपालिकाका अर्का किसान तारा स्याङ्तान किसानको समस्यालाई अझ प्रष्ट पार्नुहुन्छ, — “सरकारले खेति गर्न दिने सहुलियत दरको ऋण देखि सहुलियत पाएको किसानको पसल सम्म नै साँच्चिकै किसानको पहुँच भन्दा बाहिर छन । यस्तो अवस्थामा हामी किवी किसानले बजार खोज्न कुदेको कसले देख्ला र ।”

किवी रोपेको ३ बर्षदेखि फल्न थाल्छ । पाँच बर्षदेखि भने यसले राम्रै फल दिन्छ । एउटा बोटले २५ बर्षसम्म फल दिन्छ । राम्ररी फलेको एउटा बोटमा असी पचासी किलोग्रामसम्म फल लाग्छ । एउटा बोटमा सालाखाला ५० किलोग्राम किवी फल्छ ।

घाम लाग्ने र सिंचाइको राम्रो सुविधा भएको ठाउँको किवी स्वादिलो हुन्छ । किवीमा धेरै रोग लाग्दैन । त्यसैले यसमा अन्य फलफूलमा जस्ताे बिषादिको प्रयोग गरिंदैन । सामान्य जरा र डाँठ खाने किरा लागेमा उनीहरु आफैं बिषादि बनाएर प्रयोग गर्छन । १२ सय भन्दा बढी किवी लगाएका जिरीकै पसाङ तेन्जी शेर्पा भन्नुहुन्छ, — “डाँठमा लाग्ने किरा मार्न गहुँत, डल्ले खुर्सानी, सुर्ति र टिमुर मिसाएको झोल अत्यन्तै प्रभावकारी भएको छ । त्यति मात्रै होइन हामी मल पनि आफैं बनाउँछौं । तितेपाती, वनमारा, तोरीको पिना र हड्डीको धुलोमा गहुँत मिसाएर बनाएको मलमा किवी फस्टाउँछ र यसको फल समेत मिठो हुन्छ ।”

किवी किन्न नेपाली व्यापारीहरु विदेश धाइरहेका छन भने बेच्न नेपाली किसानहरु काठमाडौं धाइरहेका छन । “खै हामीलाई त सरकार भएजस्तै लाग्दैन । किवी एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पाएको दुःख सुन्ने र समाधान गर्ने को होला र खै ?” बारीमा फलेको १२ टन भन्दा बढी किवी सम्झेर पसाङ एकछिन टोलाउनुभयो । “सरकारले सहयोग गरे त राम्रै हुने हो, तर सरकारनै छैन जस्तो भाको छ हामी किवी किसानलाई । राष्ट्रिय वाणीज्य बैंकमा निकै धाएँ । तर सहुलियतमा दिने भनेको ऋण समेत पाईएन । एक बर्ष भयो धाएको ।” यति भनेपछि यो पटक ल्याएको किवी बेच्न पसाङ आफ्नो बाटो लाग्नुभयो ।

किन खाने नेपालकै किवी

नेपालको किवीले फलेको ठाउँबाट बजारसम्म आइपुग्न विदेशी किवी जस्तो लामो यात्रा गर्नुपर्दैन । ढुवानी कम हुनासाथै यसको स्वाद बिग्रंदैन । टाढाबाट ल्याएको जस्तो ढुसी लाग्ने र चोटपटक लागेर बिग्रने डर पनि कम हुन्छ । किवी एकैचोटी पाक्दैन । विस्तारै पाक्ने हुनाले खान नसकेर बिग्रंदैन । अरु फलजस्तो किनेर लानासाथै खाइहाल्न भने नमिल्न सक्छ । टिपेको दुईतीन महिनासम्म विस्तारै यसलाई बजारमा ल्याउन सकिन्छ । आफ्नै देशमा उत्पादन भएको किवी स्वाद र मुल्य दुवै हिसाबले फाइदाजनक हुन्छ ।

अनि यसमा बिषादि र रासायनिक मल समेत प्रयोग गरेको हुँदैन । अझ बितेको १ बर्षदेखि क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरी अभियानमा लागेको जिरी नगरपालिका भित्र उत्पादन भएको किवी त ढुक्कसाथ खाए हुन्छ । “हो जिरीमा उत्पादन भएको किवी मात्रै होइन सबै चिज अर्गानिक बनाउने अभियानमा हामी लागेका छौं । यो काममा नगरपालिकाले नेतृत्व गरेको मात्रै हो, चाहाना भने यहाँका किसानको नै हो ।” नगरप्रमुख टंक जिरेल थप्नुहुन्छ — “जिरी जहिले पनि अरुभन्दा फरक र अगाडि छ । नगरपालिकालाई अर्गानिक बनाउने अभियानमा पनि हामी धेरै अगाडि छौं । एकबर्ष अगाडि संघीय सांसद, प्रदेश सांसद र जिरीभरिका सम्पुर्ण स्थानीय तहको उपस्थितिमा हामीले यो अभियानको सुरुवात गरेका हौं । यसमा गैर सरकारी संस्थाहरुको समेत पुर्ण सहयोग रहेको छ ।”

जिरी किवीका नामले बजारमा आएको किवीलाई जिरी नगरपालिका र दिगो कृषि तथा जैविक स्रोतका लागि एशियाली नेटवर्क, एन्साबले विषादी र रासायनिक मल नहालेको भनी प्रमाणीत समेत गरेको छ ।

सरकारले किवी जोनको रुपमा घोषणा गरेको दोलखामा अहिले ४५० हेक्टर भन्दा बढी जमिनमा किवी खेति गरिएको छ । दोलखामा मात्रै यो बर्ष ३ सय मेट्रिक टन भन्दा बढी किवी फलेको अनुमान छ । समयमै बजार पाउने हो भने दोलखाले किवीबाट मात्रै यो बर्ष ६ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्नेछ ।

फाेटाेः रुजेश कर्माचार्य, सुशील मैनाली, चण्डिका अम्गाइ, ओलक बहादुर जिरेल

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019