महिला दिदीबहिनीहरुलाई गोठमा राख्ने होइन, बरु पूजा गरौं – गंगा चौधरी, संघीय संसद सदस्य/महिला तथा सामाजिक समिति सदस्य – Myhimaldotcom
Friday 8, May 2026
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

महिला दिदीबहिनीहरुलाई गोठमा राख्ने होइन, बरु पूजा गरौं – गंगा चौधरी, संघीय संसद सदस्य/महिला तथा सामाजिक समिति सदस्य

माइहिमाल डट कम , Monday February 10, 2020

हिमाली बहस

छाउपडी बहस श्रृङ्खला २

छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान

दुल्लु, दैलेख

पुरुष मरे पनि यो सृष्टि रोकिन्न

म थारु समुदायमा हुर्केकी चेली हो । मेरो समुदायमा म पनि महिनावारी हुन्छु । सायद छाउ नभए यो सृष्टिको रचना नै हुँदैन । सृष्टि नै बन्द हुन्छ । एकछिन उदाहरणको लागि म एउटा कुरा राख्न चाहान्छु, यो संसारकै महिलाहरु एकछिनको लागि मर्यो भने यो संसार, यो सृष्टि बन्द हुन्छ, अगाडि बढ्न सक्दैन । तर यही संसारका सम्पुर्ण पुरुषहरु मरे पनि यो सृष्टि रोकिन्न किनकी कुनै न कुनै महिला गर्भवती भएकी हुन्छिन ।

जब मिन्स हुन्छ, उसैलाई थाहा हुन्छ, कति जिउ शिथिल हुन्छ, कति थकित हुन्छ, काम गर्न मन लाग्दैन, खाना खान मन लाग्दैन, पेट कति दुख्छ, त्यो कुरा त जो हुन्छ उसैलाई मात्रै थाहा हुन्छ ।

छाउ अन्त्य हुँदै हुँदैन । तर मनको गोठ चाहिँ अन्त्य हुन सक्छ । आज हामी जति पनि यहाँ बोलिराखेका छौं मानव हामी अहिले जिवित मानव यहाँ उपस्थित भएका छौं । सायद महिनावारी नभईदिएको भए हामी जन्मने नै थिएनौं । अरुलाई तैंले बन्द गर, यो गोठ भत्का भनेर हामी एकछिन गएर भत्काउन त सकिन्छ, तर जबसम्म हामीले आफूलाई परिवर्तन गर्न सक्दैनौं, तबसम्म छाउगोठ रहिरहन्छ । तर यहाँ शब्द के लेखिएको छ, म शब्दतिर जान चाहान्छु, मर्यादित कसरी बनाउने ? मर्यादित भनेको के हो ? हामीले ध्यान दिनुपर्ने कुरा याे हो ।

मेरो थारु समुदायमा महिनावारी मान्दैन । कतिखेर मिन्स हुन्छ, कतिखेर चोखिन्छ, त्यो हाम्रो जातमा हुँदैन । तर मेरो परिवारमा चाहिँ त्यो छ । मेरो घरमा कसरी मान्छ भनेदेखि मलाई मेरो श्रीमानले आराम गर्न दिनुहुन्छ, म घरमै सुत्छु । मेरो देउता घरमै छ तर म आफ्नो बेडरुममा सुत्छु । मेरो श्रीमानले ताताेपानी पकाएर दिनुहुन्छ । मेरो जिउ कहाँ दुखेको छ, मनतातो पानी ल्याएर सेकिदिनुहुन्छ, त्यो पो हो मर्यादित महिनावारी ।

म मिन्स भएको बेलामा दुध, दही घिउ सबै खाएको छु । म अहिले मिन्स भाको छु, सबैसँग बसेर खाएको छु, खै त कसैलाई केही भएको छ ।

म मिन्स भएको बेलामा भैंसी दुहुन्छु, घरको मान्छेलाई सबैलाई खान दिएको छु । खै त मेरो भैंसी मरेको ? दुध दिएकै छ । हामीले आफैंबाट रुपान्तरण गर्नुपर्छ । यसलाई मर्यादित बनाउनको लागि छाउगोठमा होइन, हामी घरभित्रै राखौं । आरामले बेडमा सुत्न दिउँ, पोषिलो खानेकुरा खान दिउँ । हाम्रो यो शरिर भनेको मनुष्य मन्दिर हो । यो मन्दिरमै बसेर सबैथोक गर्नपर्नेछ ।

यसकारणले म के भन्न चाहान्छु भने हजुरहरुसँग मैले दश औंला जोडेर बिन्ती गर्छु, हामी नै सरस्वती, हामी नै भगवती, हामी नै दुर्गा तर त्यो मन्दिरको दुर्गालाई पूज्न हुने हामी महिला दिदी बहिनीहरुलाई पूज्न किन नहुने ।

(छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान अन्तरगत दैलेखको दुल्लुमा भएको कार्यक्रममा बोलेका कुरा जस्ताको तस्तै ।)

नोटः हिमाली बहसको यो श्रृङ्खलामा हामी छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रबर्द्धन अभियान अन्तरगत विभिन्न ठाउँमा व्यक्त भएका विचारहरुलाई जस्ताको तस्तै समेट्ने प्रयासमा छौं । तपाईं पनि यो अभियानमा समावेश हुन सक्नुहुन्छ । आफ्ना विचारहरु राख्न सक्नुहुन्छ — सम्पादक ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019