एकिकृत बस्ती गिराञ्चौरमा अब सामुदायिक पुस्तकालय पनि – Myhimaldotcom
Thursday 2, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

एकिकृत बस्ती गिराञ्चौरमा अब सामुदायिक पुस्तकालय पनि

माइहिमाल डट कम , १ पुष २०७६, मंगलवार १८:५६

“बालबालिका, युवा, महिला र बृद्ध सबैको अनुहारमा उज्यालो ल्याउने काम गरेकोमा तपाईंहरु सबैलाई धन्यवाद ।” पूर्वमन्त्री तथा संघीय संसदमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद शेर बहादुर तामाङका शब्द जस्ताको तस्तै । तामाङले गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको उद्घाटन गर्दै पुस्तकालय बनाउन अहोरात्र खट्ने स्थानीय बासिन्दा र सहयोगीहरुका सामु वाचा समेत गर्नुभयो, “कम्पाउण्ड वाल लगाउने, यहाँ आउने बाटो सजिलो बनाउने र पुस्तकालय भवन रहेको क्षेत्रलाई दुबो सहितको चौरी बनाउने जिम्मा मेरो भयो ।”

ग्रामीण शिक्षा तथा विकास, रिड नेपालको सहयोगमा बनेको ६८ औं पुस्तकालय मेलम्ची नगरपालिकाको गिराञ्चौरमा यही पुस १ गते देखि सबैका लागि खुला गरिएको छ । यो पुस्तकालयले मेलम्चीको वडा नं. १२ र १ मा बसोबास गर्ने ४०० परिवारका २,४०० मानिसहरुलाई सेवा दिन्छ । यहाँ ५० प्रतिशत तामाङ र बाँकी बाहुन क्षत्री लगायत अन्यको बसोबास रहेको छ ।

“यो धरोहरको संरक्षण गर्दै यहाँ रहेको ज्ञानको पूर्ण उपयोग गर्नु तपाईं हाम्रो कर्तव्य हो र साथसाथै चुनौती पनि ।” ३ नं. प्रदेश सभा सदस्य निमा ह्योल्मो लामाले अगाडि थप्नुभयो, – “मेलम्चीलाई स्मार्ट सिटी बनाउने अभियानमा एउटा कोशेढुङ्गा थपियो । हामीले जस्तो यहाँका भाइबहिनीहरुले अब टाइप सिक्न काठमाडौं धाउनु पर्ने छैन ।”

रिड नेपालले सहयोग गरेका सबै सामुदायिक पुस्तकालयहरुमा रहेको सूचना तथा संचार प्रविधि कक्षमा निःशुल्क रुपमा यस्तो सुविधा हुन्छ । अनि महिला कक्ष, बाल कक्ष, यूवा कक्ष, श्रव्य दृश्य कक्ष र पुस्तकालय कक्ष सबै सामुदायिक पुस्तकालयहरुमा हुनैपर्छ ।

२०७२ सालको भुईंचालोमा सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकको गिराञ्चौरमा अहिले तीनवटा एकिकृत बस्ती छन । राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमै सबैको ध्यान तानेको धुर्मुस सुन्तली फाउण्डेशनले बनाइदिएको ६५ घरको एकिकृत बस्ती बनिसकेको छ । चौधरी फाउण्डेशन र स्थानीय वासिन्दाको साझेदारीमा बनिरहेको ७० घर सहितको नाम्डोललिङ एकिकृत बस्ती र स्थानीय वासिन्दाको प्रयास र थप सरसहयोगमा सामुदायिक पुनःनिर्माण पर्यटन प्रबर्द्धन परियोजना अन्तरगतका १३५ घर सहितको बस्ती भने धमाधम बनिरहेको छ । गिराञ्चौर सामुदायिक पुस्तकालय यि तिनवटै बस्तीलाई पायक पर्ने ठाउँमा छ ।

“मेलम्ची क्षेत्रको विकासमा यो सामुदायिक पुस्तकालय उत्प्रेरक बन्नेछ ।” मेलम्ची नगर प्रमुख डम्बर बहादुर अर्यालले झण्डै डेढ बर्षअघि पुस्तकालय बनाउने कुरा चल्दादेखि अहिलेसम्मको प्रयासलाई यसरी बुझ्नुभएको रहेछ ।

उद्घाटन भाषण चलिरहँदा पुस्तकालय बनाउन गठन गरिएको खरिद समितिका संयोजक विदुर भट्टराईसँग मैले सानो भलाकुसारी गर्न पनि भ्याएँ । भन्दै हुनुहुन्थ्यो, “एकिकृत बस्तीले चिनिएको गिराञ्चौर अब सामुदायिक पुस्तकालयले समेत चिनिनेछ । यसले समुदायलाई शिक्षा र विकास एक अर्काका परिपुरक हुन भन्ने मान्यता स्थापित गराउँदै हरक्षेत्रमा समन्वयकारी भूमिका खेल्नेछ ।” मैले युवा भनेर कुरा गरिरहेका विदुरलाई चाहिँ ‘गाउँमा युवाहरुलाई टिकाउने र कृषिलाई व्यावसायिक बनाउने’ चिन्ता रहेछ ।

“यो सबै प्रकोपपछिको पुनःनिर्माणले ल्याएको परिवर्तन हो ।” जापानमा पनि यस्तै भएको रहेछ । सुनामीपछि सामुदायिक सिकाई केन्द्र बनाइरहँदा समुदायका एक प्रतिनिधिले भनेको कुरा सुनाउँदै हुनुहुन्थ्यो, जापानी गैर सरकारी संस्था शान्ती भोलन्टियर एशोशियसनका राष्ट्रिय निर्देशक ताका मियाके । “हामी भवनको पुनःनिर्माण मात्रै गरिरहेका छैनौं, बरु समाजलाई नै पुनःनिर्माण गर्न गइरहेका छौं – ताका सानले अगाडि थप्नुभयो, “पुस्तकालय पनि समुदायमा हामी भन्ने भावना बढाउने केन्द्र हो ।”

“हामीले अझै पुस्तकालय बनाइसकेका छैनौं । भवन बन्यो, पुस्तक लगायतका सामग्रीहरु आए । पुस्तकालय बन्न त अझै यहाँ केही तालिम दिनु छ । अनि सबैलाई पुस्तकालयमा आउने र केही लिएर फर्कने वातावरण बनाउनु छ । मानिस आए न पुस्तकालय, नआए त स्टोर होइन र ?” विदुरले उल्टो प्रश्न तेर्स्याउनुभयो ।

गिराञ्चौर सामुदायिक पुस्तकालयको भवन भूकम्प प्रतिरोधी रहेछ । अनि धेरै हदसम्म अपाङ्ग मैत्री पनि ।

“तपाईंहरुको सहयोग नपाएको भए यो पुस्तकालय बन्ने थिएन ।” नेपालमा सामुदायिक पुस्तकालय मार्फत शिक्षा र विकासका काम थालेको रिड ग्लोबलकी कार्यकारी निर्देशक टिना साविकाको भनाइ झनै अनौठो थियो । यसलाई उहाँले अझै प्रष्ट पार्नुभयो, “पुस्तकालय बनाउने जग्गा तपाईंहरुको, काठपात तपाईंहरुकै, ढुङ्गामाटो तपाईंहरुको, जाँगर तपाईंहरुकै । हाम्रो त आंशिक नगद सहयोग मात्रै न हो ।” नेपाल, नेपाली समुदाय, तपाईंहरुको सहयोगी भावना र रिड नेपाल नभए यो काम संभव नै थिएन भन्दै उहाँले सामुदायिक पुस्तकालयकी अभियन्ता टोनीको भनाई सम्झनुभयो – “अक्षर चिनाउन स्कुल बनाउ, उपचारका लागि अस्पताल बनाउ तर समुदायका लागि सामुदायिक पुस्तकालय बनाउ ।”

टोनीकै पहलमा सोलुखुम्बुको सुन्दर पर्यटकीय गाउँ जुनबेंशीबाट सुरु भएको यो अभियान अहिले ४२ जिल्ला र ६८ वटा सामुदायिक पुस्तकालय सम्म पुगेको छ । यीमध्ये काभ्रेको पनौतीमा बनेको ज्ञानविकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र गोरखाको ताकुकोटमा बनिरहेको ताकुकोट सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ‘नेपालीले सक्छौं’ अभियान अन्तरगत नेपालभित्रै आर्थिक स्रोत जुटाई बनेका पुस्तकालय हुन । ज्ञानविकास सामुदायिक पुस्तकालय उत्कृष्ट पुस्तकालय लगायत अन्य कैयौं पुरस्कार जित्न सफल भएको छ ।

“कार्लुची फाउण्डेशनको उपहार हो यो, गिराञ्चौरलाई ।” रिड नेपालका अध्यक्ष भोला कुमार श्रेष्ठले मुख्य आर्थिक सहयोगीको नामै लिएर भन्नुभयो, “रिड मोडल सफल हुनुमा पुस्तकालय स्थापना गर्दा नै यसका लागि चाहिने आर्थिक स्रोत जुटाउन सक्ने परियोजनाको छनौट हो । तपाईंहरुले छान्नु भएको लघुवित्त कार्यक्रमले न्यूनतम संचालन खर्च धान्नेछ । बाँकी त तपाईंहरुको प्रयासले यो सामुदायिक पुस्तकालय र समुदाय नै मौलाउने कुरामा हामी विश्वस्त छौं ।”

मजबुत भवन र यही दिगोपन सहितको परियोजनाकै कारण रिड नेपालले बनाएका पुस्तकालयहरु राम्ररी संचालन भइरहेका छन । स्थानीय समुदायको पिरमर्कामा सहयोग गर्ने र उनीहरुका जिज्ञासा मेटाउने रिड मोडलको पुस्तकालय समुदायको चाहना र आवश्यकतामा चल्छ ।

रिड नेपाल ‘एक गाउँ एक पुस्तकालय’ नाराका साथ ग्रामीण समुदायलाई सम्पन्न बनाउन लागिपरेको छ ।

फाेटाेः माइहिमाल डट कम ।

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019