एक किलो तेलको ३० हजार देखि ५८ हजार रुपैयाँ सम्म – Myhimaldotcom
Friday 3, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

एक किलो तेलको ३० हजार देखि ५८ हजार रुपैयाँ सम्म

माइहिमाल डट कम , २४ श्रावण २०७६, शुक्रबार ०६:२६

नेपालमा बर्षेनी डेढ देखि दुइ टनसम्म केमोमाइलको तेल निकालिन्छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यसको बजार मुल्य प्रति किलोग्राम ३० हजार रुपैयाँ तोकेपनि गएको बर्ष किसानहरुले १ किलोग्रामको ५२ हजार देखि ५८ हजार रुपैयाँ सम्ममा बेचे । यसको खेति देखि प्रशोधन सम्मका सबै काम किसानले नै गर्न सक्छन ।

केमोमाइल सयपत्री परिवारको एकबर्षीय सुगन्धित विरुवा हो । इजिप्ट, ग्रीस र इटाली लगायतका देशहरुमा यसको फूल विभिन्न रोगको उपचारमा प्रयोग गरिएको पाइन्छ । केमोमाइलका तीनवटा प्रजाति छन । नेपालमा जर्मन केमोमाइल (Metricaria chamomilla Linn) को खेति गरिन्छ । यूरोपको रैथाने यो विरुवा अहिले विश्वका धेरै देशहरुमा लगाइन्छ । यो बलौटे, पानी नजम्ने र खुकुलो माटोमा राम्रोसँग हुर्कन्छ । वन्यजन्तुले नखाने र मुल्य पनि राम्रो आउने भएकाले यसको खेति दिनदिनै बढीरहेको छ ।

यो माघदेखि चैतसम्म फूल्छ । फागुन चैत महिना बाली संकलन गर्ने उपयुक्त समय हो । एकनासले फूलेपछि सबै फूल तुरुन्तै संकलन गर्नुपर्छ । फूल टिप्न ढिला गरे बिउ लाग्छ र तेल कम आउँछ ।

फूल टिप्नु एक हप्ता अघि र टिप्ने बित्तिकै पानी लगाउनु पर्छ । पहिलो पटक टिपेको केही समयमै यो फूल्न थाल्छ र फेरि बाली लिन सकिन्छ । पानी, मल र समय मिलेमा तिनचोटी सम्म फूल संकलन गर्न सकिन्छ ।

टिपेको फूललाई दुइतीन दिनसम्म छायाँमा फिंजाएर सुकाएपछि तेल निकाल्नु पर्छ । एक हेक्टरमा लगाएको केमोमाइलबाट पाँच देखि छ किलोग्राम सम्म तेल निस्कन्छ । यसको तेल गाढा निलो रंगको हुन्छ । तेललाई घाम र तातोबाट जोगाउनु पर्छ । तेल हरियो र खैरो रंगको भएमा राम्रो गुणस्तरको मानिंदैन । त्यसैले तेल निकाल्ने बित्तिकै छानेर ग्याल्भनाइज गरिएको आलमुनियमको भाँडोमा हावा नछिर्ने गरि बन्द गरेर चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ । यसलाई फलाम वा प्लाष्टिकको भाँडोमा राख्नुहुँदैन ।

खानेकुरा वास्नादार बनाउन, छाला राम्रो पार्न र औषधिहरुमा यसको प्रयोग गरिन्छ । बजारमा ब्लु आयलको नामले चिनिने यो तेल व्याक्टेरिया र ढुसिनासक गुणको हुन्छ । पेट, दाँत र श्वासप्रश्वासको समस्यामा यसको प्रयोगले फाइदा गर्छ ।

विभिन्न पेय पदार्थ, दुधबाट बन्ने आइसक्रिम लगायतका खाद्य वस्तुहरु र चुइगमलाई वास्नादार बनाउन केमोमाइल उपयोगी हुन्छ । यस बाहेक क्रिम, पाउडर, साबुन, बडी लोसन र स्याम्पुमा समेत यसको प्रयोग गरिन्छ ।

भिडियो

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019