औषधि र खानामा प्रयोग हुने तेजपात र दालचिनी – Myhimaldotcom
Friday 3, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

औषधि र खानामा प्रयोग हुने तेजपात र दालचिनी

माइहिमाल डट कम , २४ श्रावण २०७६, शुक्रबार ०८:२०

इसापूर्व ५०० तिर इजिप्ट र युरोपमा तेजपातलाई औषधीको रुपमा प्रयोग गरेको पाइन्छ । नेपालमा पाइने प्रजातिको तेजपात पातका लागि राम्रो मानिन्छ । तेजपात वासनायुक्त सदावहार वनस्पति हो । नेपालमा पूर्वदेखि पश्चिमसम्मै समुद्र सतहबाट ४५० मिटर देखि २,५०० मिटरसम्म तेजपात पाइन्छ । उदयपुर, पाल्पा, सल्यान, रोल्पा, रुकुम र प्युठानमा यसको व्यवसायिक खेति गरेको पाइन्छ । तेजपात ८ देखि १२  मिटर सम्म अग्लो र १५० से.मी सम्म मोटो हुन्छ ।

भीमल, चिलाउने, चिउरी, चुत्रो, सल्लो, काफल, सिमल पाइने ठाउमा यो राम्ररी हुर्कन्छ । पातपतिंगर कुहिएको मलिलो कालो माटो र बलौटे दोमट माटोमा यो सप्रन्छ । हुर्कन अलि गाह्रो भएपनि हुर्किसकेपछि धेरै स्याहार चाहिँदैन । यसको पात र बोक्राबाट निस्कने सुगन्धित तेल औषधिको रुपमा र खानालाई वास्नादार बनाउन प्रयोग गरिन्छ । यसको हाँगा भन्दा बीउबाट रोपेको विरुवा राम्रो हुन्छ ।

विरुवा रोपेको ४ देखि ५ वर्षमा पात संकलन गर्न सकिन्छ । तर १० वर्षपछि पात संकलन गरे राम्रो हुन्छ । हरेक दुइ बर्षको अन्तरमा साना हाँगा भाँचेर पात टिप्नुपर्छ । ठुला हाँगा भने दालचिनीका लागि राख्नुपर्छ ।

बोटमा नयाँ पालुवा आउनु भन्दा अगाडि नै पात संकलन गरिसक्नुपर्छ । अनि बोक्रा अर्थात दालचिनी भने ३ देखि ५ सेन्टीमिटर गोलाई भएको हाँगाबाट संकलन गर्न सकिन्छ । एकपटक काटेका हाँगाबाट फेरि दुइ देखि ३ बर्षमा बोक्रा निकाल्न सकिन्छ । फागुन चैतमा नयाँ पालुवा आउनु भन्दा अगाडि निकालेको बोक्रा गुणस्तरीय हुन्छ ।

पातमा भएको तेल उड्न नदिन छायाँमा सुकाउनु पर्छ । बोक्रालाइ भने राम्ररी घाममा सुकाउनु पर्छ । राम्ररी सुकेको पात वा बोक्रालाइ जुटको बोरामा हालेर राख्नुपर्छ । तेजपातको बोटबाट ३० बर्षसम्म पात र बोक्रा निकाल्न सकिन्छ । एउटा राम्रो विरुवाबाट सुकेको पात १० देखि २५ केजिसम्म र सुकेको बोक्रा १२ केजिसम्म निकाल्न सकिन्छ ।

मसलाको रुपमा प्रयोग हुने तेजपात र दालचिनी भारत निकासी हुन्छ । प्रशोधन नगरेको पात प्रतिकिलो ६० रुपैयाँ सम्ममा बिक्छ भने दालचिनी प्रतिकिलो १ सय देखि डेढ सय रुपैयाँ सम्ममा बिक्री हुन्छ । विरुवा स्वस्थ भए १ हेक्टरबाट तेजपात १२,००० के.जी र दालचिनी ७,००० केजी सम्म उत्पादन हुन्छ । यसबाट ४८ केजी सम्म तेल निकाल्न सकिन्छ । यसको बोक्रावाट ०.५ देखि १ प्रतिशत सम्म सुगन्धित तेल निकाल्न सकिन्छ ।

जंगलबाट संकलन गर्दा तेजपातको २ रुपैयाँ र दालचिनीको ७ रुपैयाँ राजस्व तिर्नुपर्छ । दिगो व्यवस्थापन तथा खेति र पात तथा बोक्रा संकलन गर्ने प्रविधिको अभावमा यसबाट उचित फाइदा लिन सकिएको छैन ।

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019