निमाको चौंरी सर्किट – अन्तिम भाग – Myhimaldotcom
Tuesday 7, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

निमाको चौंरी सर्किट – अन्तिम भाग

सुशील मैनाली , ५ भाद्र २०७६, बिहीबार ०६:११

हिजोआज कुरीमा चिसोतातो सहितका राम्रा राम्रा बस्ने ठाउँहरु छन । खाना पनि स्थानीय होइन, कन्टिनेन्टल नै भेटिन्छ । नानाथरीका यस्ता खानाले पैसाको मिटर मात्रै बढाउँदैन, जीवनको मीटर पनि स्वात्तै घटाउँछ । बरु चौंरी पर्यटन बढाएर उतै सानोतिनो बस्ने ठाउँ बनाउन पाए हामीजस्ता घुमन्तेहरु यहाँ आउनै पर्ने थिएन । ढिंडोसँग चाैंरीकाे घिउ र चौरीको दुध खान पाएको भए भन्दै मुख मात्रै मिठ्याउनु पर्ने थिएन ।

भोलिपल्ट बिहानै चौंरी गोठतिर लाग्यौं । हामी छिटो गरेर पुग्दा उनीहरुले एकमेलो काम भ्याइसकेका रहेछन । चौंरी दुहुने काम सकेपछि सुरु हुन्छ दुध तताउने, यसबाट क्रिम निकाल्ने, अनि बाँकी रहेको दुधलाई फटाएर छुर्पि बनाउने काम ।

“सम्बन्धित निकायहरुको पनि अलिकति ध्यान नपुगेको हो कि जस्तो लाग्छ ।” फटाएको दुधलाई छुर्पी बनाउन बोरामा राखेर दुइवटा काठले बनेको साँचोमा कस्दै गर्दा निमाले कुरा उप्काए । “चौरी चरिचरन गर्ने क्षेत्र यो हो । चौरी गोठ राख्ने खर्क यो हो भनेर चौंरी कृषकहरुलाई यो यो ठाउँमा यसरी दर्ता गरेर दिंदा चैं हुनेथियो जस्तो लाग्छ ।” उनले उपाय पनि सुझाए ।

“चौंरीको व्यवस्थापन गर्नुपर्छ, लोप हुन दिनु हुँदैन । बरु यसलाई बढाउँदै जानुपर्छ । जस्तै कालिञ्चोकमा केबुलकार पर्यटक भित्र्याउनका लागि त बन्यो । त्यस्तै चौंरी पनि त एउटा माध्याम हो नि, पर्यटक आकर्षित गराउने,” निमाको तर्क नाजायज छैन — “छिप्पिएको घाँस खाइसकेपछि चराले जस्तै चौंरीले पनि बिउ तल र माथि सार्नसक्छ । चौंरी जति बढ्यो जंगलमा मल बढ्छ अनि घाँस त बढ्ने नै भयो ।”

“क्षेत्र छुट्याएर चौंरीलाई पनि अलि सहज वातावरण बनाईदिनु भयो भने चौंरीपालन ठिकै छ । अब किन विदेश जानु पर्यो अर्काको नोकरी चाकरी गर्नलाई । आफ्नै ठाउँमा बसेर एकदुई पैसा भयो भने जहान बच्चा परिवार पाल्न पढाउन पाउँछ हैन, सके त यहीं बस्ने नि, किन जानु पर्यो र विदेश,” एकपटक विदेशको स्वाद चाखिसकेका निमामा विदेश मोह पटक्कै छैन ।

निमाले दुःख पोखिरहँदा उनका ससुरा भने ज्वाईं ससुराली घरको खाटमा राखिएको राडीमा पल्टिए झैं आनन्दले अगेनाको छेउमा चौंरीका बाच्छाको जस्तो लाग्ने छालामाथि पल्टिरहेका थिए । पाहुना न परे ।

चौरीका साना बाछा चाहिँ के हुन्छन नि ?

मैले सोधेको यो प्रश्नमा निमाले कुटनितिक जवाफ फर्काए — यि त हुर्कंदैनन, सबै मर्छन ।

यति बेला मैले हिजो बेलुकी होटलमा खाएको बफ मिटलाई सम्झिएँ र मनमनै साना अति नै राम्रा बाच्छाहरुप्रति श्रद्धान्जली व्यक्त गरें ।

यस्ता चौंरीबाट जन्मेका बाछा बाँचे पनि काम छैन । यिनको काम भनेको गोरु भए भारी बोकाउने सम्म हो । कोरली गाई बाली पनि लाग्दैन र अन्य उपयोग पनि हुँदैन ।

निमाको चौरी सर्किट – पहिलाे भाग

गाई थप्नुपरे अन्यत्रैबाट किनेर ल्याउनुपर्छ ।

दोलखामा एउटा चौंरीको साठी हजार देखि एक लाख रुपैयाँ सम्म पर्छ । निमाको गोठमा दुइ खाले चौंरी छन । याक र स्थानीय गाईबाट निकालेको उराङ भनिने चौंरीगाई र याक र चौंरीबाट निकालिएको डिम्जो भनिने चौंरीगाई । “डिम्जो गाई सुभानी हुन्छ । धेरै टाइम सम्म दुध दिन्छ । झरी पानी आउँदा, असिना पर्दा पनि जंगलबाट खेदाएर ल्याएपछि त्यसले दुध नदेला भन्ने कमै हुन्छ ।” माथिदेखि तलसम्म चमर सहितको ठूलो पुच्छर भएको सेतोकालो डिम्जोलाई धपाउँदै निमाले भने ।

“उराङ चैं अलि उफ्रिने, जाडो धेरै मान्ने, भुत्ला कम हुने, अनि दुध दिन पनि मान्दैन ।” निमाले हामीलाई दुइखाले गाई चिनाउँदै थपे, “उराङले दुध दिने भनेको बढीमा ६ महिना हो । डिम्जोले आठ महिना नौं महिना सम्म दिन्छ ।” माथि सानो तर तल अलि ठूलो फुर्को भएको कालो रङको उराङ दुुहुँदै निमाले थपे ।

यति पैसा हालेर ल्याएको चौंरीबाट कमाइ पनि त राम्रै होला ?

“कमाई चाहिँ उही हो, बच्चा पढाउने, आफू पालिने अनि अलि अलि बचत गर्ने ।” प्रश्न भुईंमा खस्न नपाउँदै निमाकी श्रीमतीले भनिन्, “भनेको बेला गाहाकी भेटिंदैन, गाहाकी भेटे त बेच्ने हो । रोडले चौंरी पाल्ने ठाउँ नै छैन, सबै सकियो । दिनभरी एकान्तमा भरपेट घाँस खान पाए पो चौंरीको दुध आउँछ । बाटैबाटो छ खर्कभरि अनि के आउनु दुध पनि ।”

“मेन खर्क भनेकै कुरीको चौर थियो । अहिले त चौर देख्नै नहुने घर बनाउने गाडी कुदाइ हाल्ने, ढुङ्गा देख्नै नहुने उक्काएर लगिहाल्ने, अनि कहाँबाट होस त,” निमा थप्छन — चौंरी उभिंने, चर्ने, बसेर दुध दुहुने सबै हिलाम्मे ।”

निमाका छोराछोरी तलतिरै आफन्तकोमा बसेर पढिरहेका रहेछन । उनलाई आफ्ना छोराछोरीले यो पेशा गर्छन भन्ने लागेको पनि छैन र यस्तो दुःखी पेशा गर्न लगाउने मन पनि छैन । कति सारो आफ्नै पेशाप्रति घृणा पाल्ने बेला आएको रहेछ । मैले यतिबेला आफूले गरिआएको पत्रकारिता र यसप्रति मानिसहरुले गर्ने घृणा सम्झें अनि मनमनै सोचें आखिर कोही पनि त आफूले गरिआएको पेशाप्रति सन्तुष्ट छैन । एकछिनलाई मैले पनि मन बुझाउने बाटो भेटें ।

निमा जस्तै चौंरीपालकलाई सजिलो हुने गरि आधुनिक तरिकाले चौंरी पाल्न सहयोग गर्ने र सिकाउने त परको कुरा जंगलतिर चौंरी रुखमा अल्झिंदा र खोरेंत लागेर हिंड्नै नसक्ने हुँदा समेत उपचार गरिदिने मानिस पाइदैन । सरकारले राखेको त छ पशुपंक्षी कार्यालय तर त्यो कार्यालय जागरि खाने ठाउँ मात्रै हो । किसानलाई सेवा गर्नुपर्यो भने त उनीहरुलाई थप नजराना चढाउनु पर्छ । अनि एक दिनको बाटो टाढा गएर बिन्ती गरि ल्याउनुपर्छ । मनमनै सोचें यस्ता पाराले कसरी विकास हुन्छ नेपालको परम्परागत कृषि र पशुपालन । फेरि चित्त बुझाएँ, कुनै दिन त किसानका लागि सोच्ने सच्चा मनहरु पनि आउलान नि ।

निमाको चौंरी सर्किट पार गर्न पुरा एक बर्ष लाग्छ । हामीले निमालाई तीन ठाउँमा मात्रै भेट्यौं । फरक फरक समयमा जाँदा । तर कुरीको बसाईमा उनीसँगै चौंरी चराउने, छुर्पी बनाउने, क्रिम निकाल्ने र चौंरीको दुध खाने हाम्रो इच्छा समेत पुरा भयो । व्यवस्थित नभएपनि चौंरीसँगको यात्राले थोरै तनावमुक्त गरायो । अनि किसानका समस्या बुझ्न मात्रै होइन जलवायु परिवर्तनको प्रभाव जान्न समेत सघायो । जानुस तपाईं पनि निमासँग १ हप्ताका लागि डुल्न घुम्न, विदाको सही सदुपयोग गर्न र घर फर्कंदा चौरीको दुधबाट बनेका विभिन्न परिकारहरु कोसेलीको रुपमा ल्याउन ।

हामीले कुराकानी गरिरहँदा भर्खरै मिस चौंरीको ताज पहिरिएकी ‘सारी’ गाडी कुदाएर हिलाम्मे पारेको चौरमा बचेको थोरै सुख्खा ठाउँमा बसेर उग्राउँदै थिई । उसलाई हाम्रो कुराकानीमा कत्ति पनि चासो थिएन । नत मिस घोषणा गरिएका मानव जाति जस्तो भ्याइ नभ्याइ नै थियो । मिस चौंरी हुनुमा उसको अनुहार हेरिएन । बानी व्यहोरा, शिल स्वभाव र उसले दिने दुध नै उ मिस चौरी हुने मुख्य चिजहरु थिए । हामीले उसका दुईचारवटा फोटो खिच्यौं र निमाको चौंरी सर्किटको यात्रा टुङ्ग्याउनतिर लाग्यौं । कुरीको चौर छोडेर पर पुग्दासम्म पनि मिस चौंरीको गलामा लगाएको घण्टबाट निस्केको आवाजले हामीलाई पछ्याइरहेको थियो । हामी मनमनै समय मिल्नासाथै आउने वाचाका साथ त्यहाँबाट ओरालो लाग्यौं ।

(निरज कटवालका साथमा)

फोटोः निरज कटवाल र सुशील मैनाली

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019