निमाको चौंरी सर्किट – पहिलाे भाग
काठमाडौंबाट टाढा होइन १३३ किलोमिटर उत्तर पूर्व पुग्दा भेटिन्छ निमाको चौंरी सर्किट । बाटो राम्रो हुने हो भने चार घण्टा पनि लाग्दैन शिव पार्वतीको बसोबास स्थल गौरीशंकर हिमालको काखमा रहेको यो ठाउँ पुग्न । घडीकै सुइ जसरी घुम्छ निमाको चौरी सर्किट पनि, नेपाल समय निर्धारण हुने ठाउँ नजिकै । गौरीशंकर समय अर्थात सबै नेपालीहरुले घडीमा समय मिलाउने ठाउँ । तर पाँच चोटी काठमाडौंको चक्रपथ (२७ किलोमिटर) घुमे जतिमा पुगिने यो ठाउँ पुग्न खराब बाटोका कारण पुरै दिन लाग्छ ।
७ हजार १३५ मिटर अग्लो गौरीशंकर हिमालको काख दोलखामा मात्रै एक समय १९० चौंरीपालकका ३ हजार ८०० सम्म चौंरी थिए । जतिखेर नेपालका २६ वटा हिमाली जिल्लामा ६८ हजार ९७ वटा चौंरी रहेको अनुमान थियो ।
“बीस बर्ष अगाडिको दाँजोमा अहिले यहाँ घाँसै छैन भने पनि हुन्छ ।” चौंरी घट्ने कारण खोतल्छन निमा ओसेर शेर्पा । जुलाइ देखि अगष्ट हुँदै सेप्टेम्बरको आधाउधी जाडो धेरै नहुँदासम्म कुरी र कालिञ्चोक क्षेत्रमा भेटिन्छन चौंरी गोठ । यो नै निमाको चौंरी सर्किटको सबैभन्दा अग्लो ठाउँ हो । चौंरी गोठसँगै एक बर्षमा उनीहरु फेरी यहीं आइपुग्छन ।
सुष्पा—कालिञ्चोक क्षेत्रमा बीस बर्षअघि लगभग २० जनाको हाराहारीमा चौंरीपालकहरु रहेकोमा अहिले ४ परिवारले मात्रै चौंरी पाल्ने गरेका छन ।
“चौंरी पाल्ने मान्छे पहिला त धेरै थियो । बीस पच्चिस गोठसम्म हुन्थ्यो याँ, कुरीको चौरमा ।” निमा आफ्नो बालापन सम्झन्छन ।
निमाको चौंरी सर्किटमा विभिन्न प्रजातिका सल्ला, चिलाउने, गुराँस, कटुसका रुखहरु पाइन्छन । अर्गेली, लोक्ता, च्याउ र अन्य विभिन्न खाले जंगली वनस्पतिहरु छन । विभिन्न प्रजातिका स्तनधारीहरु, चराहरु, घस्रने जिवहरु छन ।
झरना, खोलानाला, खेति गरिएका जमिन र कालिञ्चोक भगवतीको मन्दिर रहेको कालिञ्चोक डाँडो उनको यात्रामा आउने ठाउँहरु हुन ।
कालिञ्चोक भगवती रहेको कुरी क्षेत्र सबैभन्दा माथिल्लो हो भने ओडारे सबैभन्दा तलको चौरी चराउने क्षेत्र हो ।
डिसेम्बर र जनवरीको जाडो महिनामा निमा २ हजार मिटरको उचाइमा रहेको ओडारेमा भेटिन्छन । फेब्रुअरी र मार्च महिनामा २ हजार देखि २५ सय मिटरको उचाइमा रहेको शिरमथलीमा चौरीसँगै हुन्छन ।
अप्रिल मे मा २५ सय देखि ३ हजार मिटर उचाइको रोले खर्क र जुन महिनामा गैरीमा उनीहरुको बसाइ हुन्छ ।
जुलाइ देखि अगष्ट हुँदै सेप्टेम्बरको आधाउधी जाडो धेरै नहुँदासम्म कुरी र कालिञ्चोक क्षेत्रमा भेटिने उनीहरु सप्टेम्बरको आधा र अक्टोबरको आधाउधी फेरी गैरीमै बस्छन । गैरीमा १ महिना बसेपछि उनीहरु अक्टोबरको आधा र नोभेम्बर पुरै महिना दमारमा झर्छन । निमाको चौंरी सर्किटमा खस्रु, सिलुंगो, लिसो जस्ता डालेघाँस मासिंदै गएका छन ।
धेरै समय बस्ने ठाउँ कुरीको चौर नै हो । निमाको चौंरीगोठ कुरीमा पुग्दा तलबाट आउने मानिसहरुले कोसेली स्वरुप हरियो मकै ल्याइदिन्छन । लेकतिर भदौ महिनामा भेटेको हरियो मकै निमाका लागि निकै नौलो हुन्छ । एकैनासे खाना खाँदा खाँदा हैरान भएका निमाको परिवारले आएका २ पुट्का मकै निकै मेहनत साथ पोल्छन र बाँडेर खान्छन । “यस्तो ताजा मकै कहाँ खान पाउनु विदेशमा ।” वैदेशिक रोजगारीमा गएर वाक्क भै फर्केका निमा भन्छन, “खै किन हो त्यहाँ त मिठो पनि पो हुन्न सर, किन होला हाम्रै गाउँको मकै मिठो ।” निमाले खाएको स्थानीय बीउबाट फलाएको मकै कम्ता मिठो हुँदैन । मैले पनि कुनै बेला झापाबाट तेह्रथुम पैदल जाँदा इथूङ भन्ने ठाउँमा यस्तो मकै खाने मौका पाएको छु ।
“गाउँपालिकामा नयाँ मान्छे आएपछि त परिचय पत्र समेत पाइयो ।” निमा चौरी पालकको परिचय पत्र पाउँदा समेत मख्ख छन । “सरकारले के के मा सहयोग गर्छ भन्छन तर खै त हामीकहाँ केही परिवर्तन भएको छैन त । कता जान्छ त्यो रकम ।” सानो अलमलपछि मन बुझाउँछन, “अब गाउँकै सरकारले केही गर्ला कि ।”
निमाको यो अन्तिम गोठ हो । यहाँबाट उनको यात्रा उँधौलीतिर हुन्छ । अर्थात उनी आएकै बाटो फेरि तलतिर झर्छन । पहिला बनाएको गोठ राम्रै भए सामान्य मर्मत गरेर त्यसैमा बस्छन, नभए नयाँ गोठ बनाएर बस्छन । “हामीलाई जहाँ जहाँ जाने हो त्यहाँ त्यहाँ स्थायी गोठ बनाउन अनुमति दिए पनि त निक्कै राम्रो हुने थियो । आखिर हामी त्यहाँ सँधैभरि बस्ने पनि त होइनौं ।” निमा आफ्ना योजना भने बताइरहन्छन । उनीहरुले सुनाएका योजना निकै खारिएका र व्यवहारिक हुन्छन । अनि वातावरण नबिगार्ने र मानव सम्बन्धमा असर नपुर्याउने खालका । निमालाई सुन्दा लाग्छ योजना बनाउनेहरुले यस्तै योजना संकलन गरे मात्रै पनि पुग्ने थियो । कम्तीमा बिग्रने त थिएन विकासका नाममा ।
मैले यस्तो सोच्दासोच्दै निमाकी श्रीमतीले मौनता भंग गरिन, “को बसोस सधैँभरि जंगल घुमेर । न पढ्न पाइन्छ, न अरु कामको अवसर नै । अब जंगलमा बसेको मान्छेलाई चरिकोट जाँदा त यता नफर्कौ जस्तो लाग्छ । अझ काठमाडौंतिर अमेरिकातिर पुगेका शेर्पाहरु त किन आउनु नि यहाँ दुःख खान ।” त्यसैले त चौंरी पाल्ने शेर्पा लगायतका अन्य जातिहरु यो पेशाबाटै टाढिंदै गएका छन ।
“बरु यसलाई व्यवसायसँग जोड्ने तत्व चैं के होला है सर ।” निमाका कुरा सुन्दा धेरैले चौंरी पालनलाई व्यवसायिक बनाउने कुरा गरेको बुझिन्थ्यो । मलाई लाग्यो यो काम त कृषि र पशुपालनको विकास गर्ने जिम्मा लिएका कर्मचारीहरु र यस्तै ठेक्का पाएका हिमाली जस्ता प्रोजेक्टको काम होइन र ? अनि सम्झें अस्ती बाटोमा आउँदा हिमाली आयोजनाले देउरालीमा राखेको चौंरीपालक किसानका लागि गरेका कामहरुको फेहरिस्त सहितको उनीहरुकै भाषामा “भिजिबिलिटि” देखिने एउटा बोर्ड ।
विकासका काममा उनीहरुको धेरै गुनासो छैन । भन्छन, “विकास त गर्नैपर्ने हो तर हामी चौंरी गोठको पनि विचार गरिदिएको भए हुने नि । बजार र केबलकारले त हाम्रो खर्क नै मासियो अब कता लाने कहाँ चौरी चराउने ।” कुराकानीको क्रममा बेला बेला उनले यो पिडा सुनाइरहे ।
अली पहिला सामुदायिक वनले पनि चौंरी सर्किटमा असर पारेको रहेछ । बेला बेलामा सामुदायिक वनभित्र चौंरी गोठ नराख्नुस भन्ने परिपत्रले उनको मन निकै चिमोटिएको छ । “पहिला त झडपनै भयो कति ठाउँमा त । उहाँहरुले चौंरी गोठ नै भत्काइदिने गर्नुहुन्थ्यो ।” निमालाई ति दिनहरु झल्झली याद छन । यो सुनेपछि मलाई सफल र सबैसँगको सल्लाहमा गरिने भनिएको सामुदायिक वनले त मानिसहरुलाई अप्ठ्यारो परेको रहेछ भने अरु योजनाबाट पिडा पाउनेहरु कति होलान जस्तो लाग्यो ।
“तर हिजोआज अलि कुरा बुझ्न थाल्नुभएको छ । सामुदायिक वनसँग बैठक हुन्छ, उहाँहरुले बोलाउनुहुन्छ, कसरी गोठ व्यवस्थापन गर्ने, कसरी कुन कुन क्षेत्रमा चराउने भनेर सल्लाह गर्न,” निमा थप्छन ।
“हामीलाई मिटिङमा जान पनि गाह्रो हुन्छ ।” निमाको छिमेकी गोठकी चौंरीपालक डोल्मा शेर्पाले कुरा जोडिन, “कुनैबेला याँ हुन्छ, कुनैबेला उता टाढा पुगेको हुन्छ । फर्केर बेलुका जसरी भएपनि नपुगी हुँदैन गोठमा । अनि सबै बैठकमा जान पनि पाईदैन ।”
हिजोआज सामुदायिक वनले चौंरी चराए वापत कर लिने रहेछ । हरेक सामुदायिक वनमा बेग्लाबेग्लै कर तिरेर मात्रै उनीहरुले चौंरी चराउन पाउने रहेछन । गोठ सरिरहने हुनाले महिनैपिच्छे हजार, बाह्र सय, पन्ध्र सय बुझाउनु पर्ने रहेछ ।
“उहाँहरुले पनि बुझ्नुभयो होला नि त चौंरीपालन थोरै घरधुरीमा छ, अब यसलाई अलि जोगाउनुपर्छ, राख्नुपर्छ भन्ने खालको कुराहरु उहाँहरुलाई पनि अलिकति थाहा भएको कारणले गर्दा अलि अप्ठ्यारोमा पार्नुहुँदैन भन्ने खालको सोच लिनुभयो होला जस्तो लाग्छ,” निमाको बुझाइ यस्तो छ ।
बिहानको एकसरो काम सेकर हामीसँग कुरा गर्दागर्दै झकाएका उनलाई छोडेर हामी लाग्यौं थोरै जंगल र हरियाली अनि कुहिरोको लुकामारी हेर्न ।
बाह्र बजेतिर बिहानको काम सकेर एकछिन सुस्ताएका निमा फेरि दुइतीन बजेतिर चौंरी खोज्न वनतिर लाग्छन । शहरको गञ्जागोलबाट दुइचार दिन भएपनि टाढा रहन र केही सिक्न आएका हामी पनि निमाको पछि लाग्यौं । “मसँगै जंगल जाने” निमाले अचम्म माने । केहीबेर पत्याएनन । “लडिन्छ, जुका लाग्छ, पानी पर्छ, खोलो छ, जाने हो र मसँग ?” तर हाम्रो अनुहार फेरिएन, मनमनै भन्यौं, हामीले खोजेकै यही हो ।
पहिरोले दबेको चौरको पल्लो डिलबाट उँधो लाग्दै उनले अन्दाज गरे, आज चौंरी यतै गएका होलान भनेर । चौंरीका पाइला र सधैँ चर्ने ठाउँका भरमा उनलाई मोटामोटी चौंरी घर गए नगएको थाहा हुन्छ । हामी बगैंचामा हुर्काए जस्तो गरि झाँगिएका फूलहरुको बीचै बीच ओरालो लाग्यौं । हुँदा हुँदा लडेर मकिंदै गरेको रुख पनि फूल जस्तै सुन्दर देखियो फूल हेर्न बानी परेका हाम्रा आँखाले ।
दुइचार वटा चौंरीलाई बोलाएर गोठतिर पठाएपछि उनका पाइला एउटा सानो खोल्सीतिर लागे । खोल्सीमा पुगेर पानीमा मुख गाडे र एक पेट पानी खाए । हामीलाई पनि त्यसैगरि पानी खाने मन त थियो तर पहाडको काँचो पानी शरिरले नपचाउने भएकाले सिधैँ खाने आँट गर्न सकेनौं । बरु यस्तै पानी खाएका पुराना दिन सम्झियौं र निमासँगै सानो डाँडो उक्लियौं ।
डाँडोमा पुगेर एकचोटी फेरि चौंरीको नामै काडेर मानिसलाई झैं बोलाए । आव है घर जाउँ भने ।
छोसेर स्यो हो, आवाजसँगै चौंरीको घण्ट सुनियो । अनि एकोहोरो घण्ट बजाउँदै उनीहरु गोठतिर लागे । “आज यहाँभन्दा तल गएका छैनन, फर्कौं,” निमाले हामीलाई फर्काए । चौंरी खोज्न निमासँगै वन जाँदा धेरै कुरा सिकिन्छ । खान मिल्ने र नमिल्ने च्याउ उनीहरु सजिलै छुट्याउँछन । खान मिल्ने च्याउ भेटे भरेको छाक टार्न पाइने आशमा जंगली च्याउ टिप्न थाल्छन । टोपी झिक्छन र टिपेको च्याउ टोपी उल्टो पारेर राख्छन ।
यो परम्परागत ज्ञान चौंरी चराउने पेशा हराएसँगै हराएर जाने डर पनि त्यतिकै छ । उनीसँग बाँकोलाई कसरी खाने भन्ने ज्ञान पनि छ । “खान जानेन भने त यसले ठहरै पार्छ ।” हामीलाई सचेत पनि बनाउँछन निमा ।
यति भनिसकेपछि उनले थोरै अचेलका कुरा पनि गरे । जलवायु परिवर्तनका कारण चौंरीले खाने घाँस माथि माथि सर्दै गएको छ रे । कुरीको चौरबाट आधा घण्टा तल झरेपछि उनले एउटा विरुवा देखाए र भने, “हेर्नुस यो चौंरीले खाने एक खालको तितेपाती हो । पहिला यो यति माथि पाईंदैनथ्यो तर हिजोआज यहाँसम्म उम्रन थालेको छ । चिराईंतो पनि यसैगरि सरिरहेको छ ।” हामीलाई जलवायु परिवर्तनको असर समेत सिकाइरहेका थिए निमाले । अनि उनले त वैज्ञानिकले झै यस्तो सूचना संकलन पनि गरिरहेका थिए । तर लिखित रुपमा होइन मौखिक रुपमै ।
अगिल्लो दिन निमासँगै कुरीको चौरमा गोठ राखेर बसेकी डोल्माले भनेको कुरा पनि सम्झें मैले । “पहिला हिउँपानी पर्ने आफ्नै समय थियो । हिउँ र पानी पर्दा घाँस पनि बढी आउँथ्यो । तर अहिले अफ सिजनको टाइममा पनि पानी पर्दिने । हिउँ पनि झर्दिने । असिना पानी आउने । पहिला त हिउँ पर्थ्याे, ड्याम्म हिउँ पर्यो भने एकदुई दिन परेपनि फेरि उघ्रिन्थ्यो, बिलिन्जेल सम्म घाम लाग्थ्यो । अहिले त्यस्तो छैन । बैशाखतिर हिउँ पर्छ अनि हप्ता दिनसम्म १२ दिनसम्म पर्छ । यस्तो बेला हामीलाई धेरै समस्या हुन्छ । चौंरीलाई घाँस हुँदैन । चौंरी यति यति हिउँभित्र डुबेर बसेको हुन्छ । त्यो खालको अलि समस्या भैराछ । हल्का फूल्का खाले घाँस सबै कुहिन्छ, हिउँले थिचेपछि ।” यस्तो बेलामा उनीहरु तलबाट पिंधेर ल्याएको पिठोको खोले बनाएर खुवाउने रहेछन । यसले खर्च मात्रै बढाउने होइन रहेछ बरु चौंरीको दुध समेत बेस्वादिलो पार्ने रहेछ । हिउँको मात्रै होइन पानीको समस्या पनि उस्तै, “पहिला यत्रो धारा आउँथ्यो, बोकेर खानु परेपनि हामीलाई सजिलो थियो के । धारामा गएपछि धररर पानी थापेर उकालोमै ल्याउनु परेपनि एकछिनमा हुन्थ्यो । अहिले त यत्रो सानो पानी छ, त्यहाँ चौरी चर्दा धमिलो बनाईदियो भने हामीलाई खाने पानी नै हुँदैन,” डोल्माले थपिन ।
निमासँगै गोठ भएको चौरमा पुग्दा उनकी श्रमती र घरमा आएका पाहुनाहरु समेत जानी नजानी चौंरी दुहुदैं थिए । चौंरीका साना थुनबाट निस्केको दुध भाँडोमा खस्दा आउने ‘तर्याक तिरिक’ आवाज निकै मनमोहक थियो । हामी पनि उनीहरुसँगै यो आवाज सुन्दै केही दृश्यहरु क्यामरामा कैद गर्न थाल्यौं, पछिको सम्झनाका लागि । हामी अलमल गरिरहँदा निमाले कुन चौंरी आयो कुन आएन भन्ने समेत हेर्न भ्याइसकेछन । भन्दै थिए, “कुनै कुनै चौंरी साह्रै बदमास हुन्छन । हन्जा छोडेर भाग्छन । आउँदै आउँदैनन ।” कैयन दिनपछि कुनै फेरि आउने रहेछन, कुनैलाई गएर नै ल्याउनुपर्छ । निमा भन्छन, “व्याउने चौरी र दुध दिइरहेको छ भने अलि छिट्टै खोज्छौं अरु दुइचारजेलमा आफैं पनि आउँछन ।”
चौंरी गोठका आफ्नै नियमित काम छन । आज नगरौं है भन्न पनि पाईंदैन । सन्चो बिसन्चो सबै खप्नै पर्छ । “अब अप्ठ्यारै छ नि काम गर्न त । हावा पानी केही भन्न पाईंदैन । दुध दुहुनै पर्यो, घाँस दाउरा ल्याउनै पर्यो । गाह्रै हुन्छ नि चौंरी गोठमा । जंगलतिर पनि रुख ढलेर घाँस उम्रन दिंदैन । सधैँ जंगलको बसाई, अँध्याराको काम । हाम्रो गोठमा पनि बिजुली बालिदिए हुने नि ।” रात पर्नै लाग्दा निमाकी श्रीमतीले कुराको बिट मारिन । अनि हामी भोली बिहानै भेट्ने बाचा गर्दै चौंरीको खर्क मासेर बनेको कुरी बजारतिर लाग्यौं, थप एक रात कटाउन ।
(निरज कटवालका साथमा)
फोटोः निरज कटवाल र सुशील मैनाली
(निमाकाे चाैंरी सर्किटकाे अन्तिम भाग अर्काे बिहीबार)