फ्रान्सको अन्तरराष्ट्रिय हिमाली दौडमा नेपाली पनि
यूरोपको सबैभन्दा अग्लो सेतो हिमाल भनेर चिनिने मो व्लँ (४,८१० मिटर) लाई वरिपरिबाट फन्को मार्ने अन्तरराष्ट्रिय दौड प्रतिस्पर्धामा नेपाली पनि सहभागी भएका छन । युटिएमभि मो ब्लँ अल्ट्रा रन भनिने १ सय ७१ किलोमिटर लामो यो दौडमा गोरखाका डिना बगाले सहभागी भएका हुन । अल्ट्रा रनमा यो प्रतिस्पर्धा विश्वको सबैभन्दा ठूलो हो ।
गएको शुक्रबार मो ब्लँ हिमालको फ्रान्सतिर पर्ने मोहडाबाट सुरु भएको यो दौड ईटाली र स्विजरल्याण्ड हुँदै फेरि फ्रान्स आएर टुङ्गिएको हो । यो दौडमा विश्वका एक सय भन्दा बढी मुलुकका १० हजार धावकहरु थिए । त्यसमा गोरखाका डिना बगाले नेपाली झण्डा बोकेर सहभागी भएका हुन ।
लगातार ३० घण्टा भन्दा बढी दौडेर पहाड, समथर र पहरा हुँदै १० हजार फिटको उचाईसम्म पुग्नुपर्ने भएकाले यो अल्ट्रा दौड चुनौतिपूर्ण मानिन्छ । विश्वका चर्चित धावक, व्यापारी, संघसंस्था र सञ्चारमाध्यमको ठूलो जमघट हुने र १० हजार मानिसहरुका बिचमा नेपाललाई चिनाउन पाइने भएकाले आफूले यो दौडमा नेपालका तर्फबाट भाग लिएको बगालेले बताए । यस अघि उनी गत साल जापानको माउन्ट फूजीमा भएको दौडमा पनि नेपालको झण्डा लिएर सहभागी भएका थिए ।
अल्पस् पर्वतीय श्रृङ्खलामा पर्ने यो हिमालको चुचुरोमा पहिलो पटक सन् १७८६ मा मानिसको पाइला परेको थियो भने सन् १८०८ मा पहिलोपटक महिलाले चुचुरो चुमेकी थिइन । अचेल भने हरेक बर्ष सालाखाला २५ हजार मानिसहरु यसको चुचुरोमा पुग्ने गर्छन । सन् २०१८ मा यो हिमाल चढ्न गएका १५ जनाको मृत्यु भएको थियो ।
(फाेटाे तथा आलेख साभारः नेपाल प्लस डट कम)