भिर माहुरीको मह यात्रा १
बिहानको साढे चार बजे । सबेरै दुध बेच्न हिंड्ने ट्रक बाहेक अरु केही पनि थिएनन सडकमा । कतैकतै चोकमा चियाका पारखीहरु काठमाडौं बाहिर जाने गाडी लाग्ने ठाउँमा खुलेका चिया पसलमा चिया खाँदै गरेका देखिन्थे ।
चाबहील चोकबाट दुधकुण्ड यातायातको टाटा सुमो चढेपछि दिउँसो खुर्कोट अनि घुर्मी हुँदै करीब १२ घण्टाको एकोहोरो कुदाइपछि चार बजेतिर सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी पुगिन्छ । सगरमाथा क्षेत्रमा ट्रेकिङ जानेहरु सल्लेरीबाट उत्तरतिर लाग्छन । विश्वकै सर्वोच्च शिखरलाई नजिक पुगेर हेर्ने रहर भएपनि यसपाली मेरो गन्तव्य सोलुखुम्बु जिल्लाको दक्षिणतिर रहेको सादी गाउँ थियो ।
सादी गाउँ सम्मको यात्रा
सादी गाउँमा अहिले पनि भिर माहुरीको मह काड्ने गरिन्छ । मलाई त्यस दुर्गम क्षेत्रका मानिसहरु भेटने, भिर माहुरीको मह काडेको हेर्ने र भिर माहुरीको मह बारे बुझ्ने रहरले काठमाडौं बाहिर निकालेको थियो । यात्रा थालेको पहिलो दिनको साँझ सल्लेरीको चिसोमा यताउता घुम्दै र भोलीपल्ट बिहानैको हिंड्ने तयारीमा बित्यो ।
सल्लेरीबाट बिहानै टाटा सुमो चल्ने रहेछ, दिप्ली सम्म । जम्मा १० यात्री भेटिएपछि नागबेली परेको कच्ची बाटो छिचोल्दै गाडी अघि बढ्यो । कहिले उफार्ने र कहिले थेचार्ने त पहाडी बाटोको विशेषता नै भयो । यस्तो बेला आफूसँगै बसेको साथीले उल्टी गर्यो भने यात्रा थप कष्टमय हुन्छ । मलाई पनि यस्तै भयो । सँगै बसेको साथीलाई यात्रा विरामी (motion sickness) का कारण उल्टी भयो । सधैँ झैं मैले झ्याल बाहिर टाढा टाढाका दृष्यहरु हेर्दै गाडीभित्रको यथार्थ भुल्ने असफल प्रयास गरिरहें ।
“लौ दिप्ली आइपुग्यो, झर्नुस है ।” करीब साढे चार घण्टाको यात्रापछि ड्राइभर दाइले उनको अन्तिम गन्तव्य दिप्ली पुगेको जानकारी गराए । थाकेको जिउ र आफूसँग भएको सामान घिसार्दै यात्रुहरु बाहिर निस्कियौं । दिप्ली वरिपरिको पहाडी दृश्य र स्वच्छ हावाले छिनभरमै यात्राको सम्पुर्ण सकस भुलायो ।
अघि गाडीमा सँगै आएका मध्य तीन जना बुङ स्थित मकालु बरुण राष्ट्रिय निकुन्जका कर्मचारी रहेछन । बाटो मिल्ने भएकाले आफ्नो झोला बोकी उनीहरुकै पछि लागें, झोलुङगे पुलतिर । दिप्ली र पारिपट्टी महाकुलुङ गाउँपालिकाकाको गुदेल गाउँको बीचमा बग्ने दुधकोशी नदी माथि हालेको झोलुङ्गे पुलमा अडिएर मैले सम्झिएँ । सगरमाथा नपुगेर के भयो र खुम्बु क्षेत्रको हिउँ पग्लिएर बनेको दुधकोशी नदी त मैले पनि तरें नि । नेपालीहरुको ज्ञान र सिपले बनेको झोलुङ्गे पुल तर्दै गर्दा तल नदीमा एउटा डोजर देखियो । सुख्खा मौसममा साना गाडी तर्न मिल्ने अस्थाइ पुल हाल्दै रहेछन् । अस्थाइ पुल तयार भएपछि सल्लेरीबाट हिंडेको गाडी बीचमा नरोकिई बुङसम्मै पुग्ने रहेछ ।
पारिपट्टी ‘महाकुलुङ गाउँपालिकामा तपाईलाई स्वागत छ’ लेखिएको होर्डिङ्ग बोर्ड देखियो । एकछिन पछि चामलको भारी बोकेका तीस पैंतीस वटा खच्चडको हुल पनि झोलुङ्गे पुल तर्दै बजार आइपुग्यो ।
“यहाँ भन्दा अगाडि बाटोमा राम्रो खाना पाईंदैन, यतै खाउँ ।” सँगै गएका साथीले सल्लाह गरेको स्वरमा निर्णय सुनाए । स्थानीय चामल र दाल तरकारीको साथमा चिसो पानीमा दाउराले पकाएको भात सम्झँदै मैले बाँकी यात्रा नियालें । नक्सामा बुङ गाउँ २७ किलोमिटर जति पर भेटियो । करीब तीन चार किलोमिटर जतिको उकालो पछि बाटो तेर्सैतेर्सो देख्दा मन अरु हल्का भयो ।
हाम्रो भाग्य वा के हो कुन्नी बुङबाट एउटा जीप आउँदै गरेको र त्यसले सामान लिएर फेरि बुङ नै जाने खबर पाएपछि हामी निकै दङ्ग पर्यौं । लामो पर्खाइपछि जीप आइपुग्यो । घाम ढल्किसकेको थियो, घडिको सुईले दुई बजेको संकेत गरिसकेको थियो । “जीपले दुई घण्टा अल्लि लगाउँदैन, हामी ४ बजे सम्ममा पुग्छौं ।” मकालु बरुण राष्ट्रिय निकुञ्जका उनै साथीले अनुमान लगाए । बुङबाट ल्याएको थोर बहुत स्थानीय उत्पादन झारेर बुङ लाने सामान र हाम्रा झोला जीपको छतमा बाँधीसकेपछि हामी गाडीमा बस्यौं, अबको थोरै समयमा बुङ पुगिने आशामा । मैले मनमनै सम्झें, यही जीप हो हाम्रा सुन्दर गाउँ खाली गराउने । र गाउँमा रहेको स्वस्थ खानाको बदलामा शरिरलाई हानी गर्ने खाना पुर्याउने । तर यही जीप हामीजस्ता यात्रुका लागि भने निकै महत्वको बनेको छ ।
ड्राइभर दाइले गाडीको चाबी घुमाए । तर स्टार्ट गर्न सकेनन् । निकैबेर एकोहोरो क्याईं क्याईं पारेपछि उनले हार खाए । अनि हामीलाई सुनाए — “अब पारिबाट मिस्त्री नै बोलाउनु पर्ने भयो ।”
“हामी विस्तारै हिडौं, जहाँ गाडीले हामीलाई भेट्टाउँछ त्यहींबाट चढौला,” हामी तीन भाइको सल्लाह मिल्यो । ड्राइभरलाई यही कुरा बुझायौं र हामी उकालो लाग्यौं ।
उकालो चढिरहँदा हाम्रा कान गाडीको आवाजतिरै थिए । करिब एक घण्टाको उकालो सकियो । तर गाडी आएन, तेर्सो तेर्सो अरु एक घण्टा हिंडिसक्दा पनि गाडी आएन । अगाडि पु्गेर बाटो छेउको एउटा पसलमा बसी दुइकप चिया भ्याउँदा नि गाडी आएन । यो बीचमा ड्राइभर दाइको फोन नम्बर सबैले पालैपालो धेरै पटक थिचियो । बल्लतल्ल फोन सम्पर्क भयो — गाडी त दिप्लीमै पो रहेछ ।
हामी झिंझो मान्दै अगाडि बढ्यौं । सोताङ गाउँ पुग्दा त साँझ नै पर्न थाल्यो । अनि केहि बेरमा झमक्कै अँध्यारो भयो । एउटा लज खोजियो । रातीको खाना बनाउन लगाएर म चाहिँ गाडी आउने बाटो हेरेर बसें ।
साढे सात बजे खाना खाइसक्दा पनि गाडी आइपुगेन । मलाई चिन्ता लाग्न थाल्यो । किनकी गाडीमा मेरो झोला थियो र झोलाभित्र पर्स । केहि बेरपछि ड्राइभर दाइले आठ बजेतिर सोताङ आइपुग्छौं, मन्दिरनिर बसिराख्नुस भनि फोनमा खबर गरे । अन्तत करिब सवा नौ बजे गाडी आयो । करिब तीन सय मिटर पर मन्दिरनिर । ड्राइभर दाइको आधा घण्टामा बुङ पुर्याइदिन्छु भन्ने आश्वासनतिर लागिन, यहीँ सोताङमै बास बस्ने आफ्नो निर्णय सुनाएँ । मसँगै आएका साथीहरु भने गए ।
भोलीपल्ट बिहानै हातमुख धोएर बाटो लागें । तीन घण्टा हिँडेको पत्तै भएन, रमणीय पहाडी सुन्दरतामा डुबेपछि । यति नै बेला एक चट्टानी पहिरो गएको घुम्तीमा पुगें । पहिरोसँगै झरेका ठुला ठुला ढुंगाले केहि ठुलै कुरा पुरे जस्तो लाग्यो । राम्ररी हेर्दा त्यो पुरिएको वस्तु डोजर रहेछ । त्यहीं भेटिएका वटुवाले भने अनुसार गत साल ट्रयाक खोल्ने क्रममा ढुङ्गाको पहिरो आई ड्राइभर समेत डोजर पुरिएको रहेछ । हिमाली मुलुकमा गाउँ गाउँमा मोटर बाटो पुर्याउने काम निकै जोखिमपुर्ण छ । अनि बाटो बनिसकेपछि पनि जोखिम त उत्तिकै । होस नपुर्याए ज्यानै जोखिममा ।
पहिरो गएको घुम्ती पार गरेपछि केही माथितिर रमणीय गाउँ देखियो । बुङ गाउँ रहेछ । मकालु बरुण राष्ट्रिय निकुञ्जको पश्चिमतिरको प्रवेश नाका । पारीपट्टी डाँडामा गुदेल गाउँ छर्लङ्गै देखिने । गुदेलको पूर्वतिर सादी गाउँ, मेरो मह यात्राको बिसौनी गाउँ ।
बस्तीको सुरुमै ‘मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालय’ लेखिएको घर देखियो । हिजो भेटिएका तीनजना सहयात्री कर्मचारी साथीहरुलाई सम्झिएँ । निकुञ्ज कार्यालयभित्र गई भेटें । हिजो सवा दश बजेतिर त्यहाँ पुगेका रहेछन, उनीहरु ।
बुङ मकालु बरुण राष्ट्रिय निकुञ्जको एक प्रवेशद्वार हो । यहाँबाट पर्यटकहरु आइलाण्ड पिक आरोहण गर्न जाँदा रहेछन् ।
अनि बुङमा खाना खाई एकछिन विश्राम गर्दा गुदेल जाने बाटोको जानकारी पनि लिएँ ।
अब बाटो ओरोलो लाग्यो । बुङबाट झण्डै एक घण्टाको ओरालो बाटो हिँडेपछि हुँगा खोलामा हालेको झोलुङ्गे पुल भेटियो । पुल तरेर साढे दुई घण्टा ठाडो उकालो हिँडेपछि बल्ल आयो, बुङबाट आँखै अगाडि देखिएको गुदेल गाउँ । साढे तीन घण्टाको यो यात्रामा मुस्किलले तीनचार जना मानिस भेटिए ।
आजको बास गुदेलमै बस्ने योजना थियो । बास बस्न कोपिला लज रोजें । मेरो रोजाई अब्बल नै रहेछ, संखुवासभाको सदरमुकाम खाँदबारी तिरबाट गुदेल गाउँ भएर लुक्ला हुँदै नाम्चेतिर जाने पर्यटक र अन्य मानिसहरु समेत कोपिला लजमै बस्ने रहेछन ।
लजका सिन्के साहुलाई अलैंची सुकाउने चटारो थियो । दाउरा बालेर निस्केको तातो धुवाँले अलैंची सुकाउने चलन रहेछ । भोलिपल्ट बिहानै यिनै साहुले भिर माहुरीको मह काड्ने टोलीका संयोजक जंगे कुलुङसँग भेट गराइदिए ।
जंगे, नामजस्तै त्यहाँका गन्यमान्य व्यापारी रहेछन् ।
उनै जंगेको पछि पछि दुई घण्टा जति पूर्वतिर हिंडेपछि सादी गाउँ पुगियो । जंगे र मैले आ आफ्ना झोला बोकेका थियौं । तर मैले बोकेको भन्दा जंगेको झालो निकै पुष्ट थियो । केही समय सँगै हिंडेपछि भने मेरो सात्तो गयो । जंगेले त त्यो पुष्ट झोला भरि रुपैयाँ पो बोकेका रहेछन । अनि गाउँ गएको मौकामा कतै अलैंचीका लागि त कतै अन्य सामानका लागि कसैलाई पेश्की त कसैलाई पुरानो चुक्ता गर्दै हिंड्दा रहेछन ।
गुदेलमा व्यापार व्यवसाय गरेर बसेका जंगे साहुको घर सादी गाउँमा रहेछ । अब मैले मेरो समय तालिकामा होइन सादी गाउँका भिर माहुरीको मह काड्न खप्पिस कुलुङहरुकै पछि लाग्नुपर्छ । आजको बास यहीँ सादी गाउँमा तय भयो ।
फोटोः प्रकाश श्रेष्ठ
(भिर माहुरीको मह यात्राकाे दाेस्राे भाग अर्काे बुधबार आउनेछ ।)