मनै हर्ने जिरीको चकित पार्ने किवी
किवीको बजार खोज्दै जिरीका किसान काठमाडौं आएपछि माइहिमाल टिमलाई जिरीको किवी हेर्न मन लाग्यो । काठमाडौं आउँदाको भेटमा आदान प्रदान गरेका सम्पर्क नम्बर तथा ठेगाना पनि सजिलै भेटिए ।
जाने नै टुङ्गो लागेपछि हामी लाग्यौं जिरीतिर । मौसमको भविष्यवाणी राम्रो थिएन । भयो पनि त्यस्तै, बिहीबार बिहान जिरी वरपर घाम लाग्ने कुनै संकेत देखिएन । भारी मनले फोन सम्पर्क गरें, काठमाडौंमा भेटिएका किवी किसानलाई । उताबाट जवाफ आयो, “दिन राम्रो छैन तर म दिनभरि बगैंचामैं भेटिन्छु ।”
हामीले ‘दिन राम्रो छैन’को संकेतलाई वास्ता गरेनौं र लाग्यौं बगैंचातिर । बगैंचामा भेटिनुभयो, अस्ती काठमाडौंमा बजार खोज्न आए मध्येका किरण खड्का । “तपाईंहरु खुशीको कुरा सुन्न आइपुग्नु भयो । हिजोमात्रै एउटा बोटबाट १ सय ४४ किलोग्राम किवी टिपें ।” अनुहारले प्रष्टै देखाएको थियो यो कुरा कसलाई सुनाउँ भन्ने भएको थियो किरणलाई । कुरा बुझ्दा औसतमा एउटा बोटबाट आउने पुगनपुग ५० किलोग्राम भन्दा यो निकै धेरै रहेछ ।
दुईवटा तरकारी ओसार पसार गर्ने क्रेट बोकेर सरासर बारीतिर लाग्यौं किरणको साथमा । लागेको थियो दुईजनाले टिप्ने होला । तर कुरा अर्कै रहेछ, किरणले एउटामा ठूला र अर्कामा मझौला किवी टिप्दै हाल्दै गरेपछि हामीले कुरा बुझ्यौं । “बाँकी रहेका चैं अलिदिनपछि अर्को भाँडोमा ।” प्रश्नभन्दा पहिला उत्तर आयो । किरणको ज्ञान किवी फलाउने मात्रै होइन रहेछ, अरुको मनको कुरा पढ्नु र पहिला नै जवाफ दिनु पनि रहेछ ।
अब हामीले विचार गर्यौं, आज किरणका कुरा सुन्ने केही नसोध्ने । बरु भिडियो र फोटो रेकर्ड मात्रै गर्ने । यसो गर्दाको परिणाम निस्कियो फोटोले भरिएको यो सानो लेख ।
एक घण्टा जति पछि अस्तीकै भेटको कुरा बल्झियो । “किवी बेच्न चैं पो समस्या होला जस्तो छ यसपालि । किन्ने कोही पनि मान्छे बगैंचामा आएका छैनन ।” कुरो बुझ्दा अस्ती बजार खोज्न एक हप्ता जति काठमाडौंमा भौतारिंदा सबैको एउटै जवाफ आएछ । “अहिले तपाईंहरुसँगबाट किनेर जोखिम मोल्ने अवस्थामा हामी छैनौं । यतै ल्याइदिए बेचिदिन्छौं । तर पैसा पहिला नै दिएर लिन नेपाली किवीको बजारनै बनिसकेको छैन ।” किरणले थप्नुभयो — “तर मलाई डर छैन, यति मिठो किवी बजारमा पुग्दा सबैले खान्छन । अनि किवीका दाना जोडेर जिरीका किसानले बनाएको संयुक्त ब्राण्ड ‘जिरी किवी’को प्रचार गर्ने शैली यस्तो भए कसो होला भनेर हाम्रो मन चोर्नुभयो ।
हामीले हेरिमात्रै रह्यौं । केही भन्नै सकेनौं । सायद नाजावाफ भनेको यही होला । अनि हामीलाई पक्का भयो । जिरीका किवी किसान ‘आफैं कामदार, आफैं प्राविधिक । आफैं स्वाद जाँच गर्ने, आफैं गुणस्तर पास गर्ने । आफैं आविस्कार गर्ने, आफैं जोखिम मोल्ने । आफैं ढुवानी गर्ने, आफैं होलसेल र रिटेलमा बेच्ने । आफैं क्रियटिभ कन्टेन्ट तयार पार्ने, त्यसलाई आफैं प्रकाशन र प्रसारण गर्ने ।’ तर यो किवी किसानको रहर भने थिएन, बाध्यता थियो । अथवा भनौं उपभोक्ताहरुले किवी खान नजान्दाको परिणाम र नेपाली किवीको प्रचार प्रसारको अभाव थियो । किसानका लागि कोही नभएको ज्वलन्त उदाहरण थियो ।
किवी एकैपटक पाक्दैन । त्यसैले टिपेका सबै किवी खाईहाल्न मिल्दैन । यही स्वभावका कारण बोटबाट टिपेको किवीलाई विस्तारै दुई तीन महिना सम्म बजारमा लैजान मिल्छ । बजारमा आएका किवी पनि सबै एकैचोटी खान मिल्दैन । विस्तार विस्तार पाकेको किवी खाँदै जाने हो भने नेपाली किवी धेरै माइल यात्रा गरेर आएको विदेशी किवी भन्दा मिठो हुन्छ ।
हाम्रा मुखतिर हेरेर किरणले भन्नुभयो, “हामीले आजभोली टिपेको किवी बजारमा आइहाल्यो, किनी हाल्नुस, खाइहाल्नुस भनेर नभनी दिनुस है । हामीलाई धेरै हतार पनि छैन । विस्तारै बजारमा लैजान्छौं ।” पत्रकारले आफैं विज्ञ भई समाचार बनाएको र यही अन्तिम सत्य भएको दावी गरेको झल्को आयो भेटको अन्तिममा बोलेका तीन छोटा वाक्यमा । हामी किवीको सम्पुर्ण काम गर्ने किरण खड्कासँग विदा भएर हिंड्यौं । कलङबाट विदा भएर हिंड्दा हामीसँग माथिल्लो सिक्रीका ओलक बहादुर जिरेललाई भेट्ने अर्को काम बाँकी नै थियो ।
फोन सम्पर्क पछि ओलक बहादुरलाई भने बगैंचामा होइन, घरमै भेट्नुपर्ने भयो, उहाँकै अनुरोधमा । तर कुरो अर्कै रहेछ । “मैले टिपिसकें भन्दा तपाईंहरु नआउनुहोला भनेर अघि केही भनिन ।” भेट हुनासाथै कुरा निस्कियो । हामी छाँगाबाट खसेजस्ता भयौं । “लौन हामी त बगैंचामै किवी हेर्न आएका थियौं । अब के हेर्नु ।” कसै न कसैले त भन्नैपर्ने थियो । तर कुरो मेरै मुखबाट फुत्कियो ।
“चिन्ता नगर्नुस, म तपाईंहरुका आँखा अघाउन्जेल किवी देखाउँछु ।” ओलकलाई पछ्याउँदै हामी सडकसँगै जोडिएको घरको तल्लो तलातिर लाग्यौं । भुईंतलाका तीनवटा कोठामा औलतिर झत्ते कोदो टिपेर राखे जसरी उरुङ लगाएर किवी राखेको रहेछ ।
‘बिग्रंदैन ?’ मैले सोधें ।
उत्तर — ‘दुई महिना केही हुँदैन । तर म छान्दै प्याक गर्दै बजार पठाईहाल्छु । फेरि अर्को साल पनि यसैगरि फलाउन स्याहार गर्न थालिहाल्नुछ ।’
हामीले सजिलै लख काट्यौं । यहाँ पनि काम गर्ने एक्लो ज्यान नै रहेछ । खेतिप्रति मानिसहरुको कति साह्रो अनास्था । किसानी काम गर्ने मानिस नै नभेटिने । बरु घर बनाउने ज्यामी काम गर्ने । शहरमा होटलमा गर्नुपर्ने सबै काम गर्ने । कार्यालय सहयोगी नै सही, जागिर लाईदिएन भनेर सत्तोसराप गर्ने, बरु बालखैदेखि आफ्नै भनेको पार्टि नै चटक्क छोडिदिने, अर्कैको दौराको फेर समातेर ।
प्लाष्टिकका झोलामा एक एक किलोग्रामको प्याक बनाएर लेबल टाँसेपछि तयार भयो, “वातावरण मैत्री व्यवसायिक कृषिः जिरी नगरपालिका तथा एन्साब नेपालको संयुक्त प्रयास र प्रमाणिकरण” लेखिएको आकर्षक प्याकेटमा रासायनिक मल र विषादी नहालिएको –‘जिरी किवी’ ।
अब भने हामीलाई छ्याङ्गै भयो अघि कलङमा किरण खड्काले बनाएको किवीका दानाले लेखेको जिरी किवी ।
हामीले आँखा अघाउने गरि किवी हेर्यौं र मुख नअघाउने गरि किवी खायौं । “होइन यति मिठो किवी बजारमा किन नबिक्ने रहेछ हँ ।” बास बसेको जिरी बजार पुग्दासम्म हामी सबैले यसै मात्रै भनिरह्यौं ।
फोटोः सुशील मैनाली