मुगुको खत्याडमा ‘आमाको माया’ – Myhimaldotcom
Thursday 2, May 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

मुगुको खत्याडमा ‘आमाको माया’

माइहिमाल डट कम , २५ मंसिर २०७६, बुधबार १७:००

माउण्टेन्स म्याटर फर युथ” नाराका साथ सदा झैं यसपाली पनि डिसेम्बर ११, आजै अन्तरराष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर माउण्टेनलाई सम्झिए धेरैले । तर हामीले भने माउन्टेनका युथ होइन, युथ हुनुभन्दा अगाडिका बालबालिका र उनीहरुलाई जन्म दिने आमाको स्वास्थ्यलाई सम्झियौं । केही समय अगाडि माइहिमालले मुगुको सबैभन्दा सुगम मानिने ठाउँ खत्याड गाउँपालिकामा पुगेर गरेको अनुभव यस्तो छ ।

मुगुको खत्याडमा ‘आमाको माया’

खत्याड गाउँपालिकाका गर्भवती महिलाहरुले पेटमा भएको बच्चाले के गर्दैछ र बच्चा कस्तो भयो भन्ने कुरा अब आफ्नै मोबाइलमा हेर्न सक्नेछन ।

गएको बैशाख महिनामा आमाको माया सफ्टवेयर सहितको स्मार्ट फोन (उनीहरुकाे भाषामा चिप्ले फाेन) वितरण गरिएपछि यो सुविधा हुने भएको हो ।

यस्तो फोन खत्याड गाउँपालिकाका प्रत्येक वडामा ९ जनाका दरले कार्यरत ७ वटै वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई वितरण गरिएको छ । आमाको माया सबै गर्भवती महिला सुरक्षित रहुन र उनीहरुबाट जन्मने बच्चा स्वस्थ्य होस भनेर सुरु गरिएको सहयोगी एप्लिकेशन र कार्यक्रमको नाम हो ।

मोबाइलमा रहेको आमाको माया केयरमा स्वास्थ्य स्वयं सेविकाहरुले गर्भवती महिलाको विवरण राखेपछि यस्तो विवरण जहाँबाट पनि हेर्न सकिन्छ । यसमा गर्भवती महिलाको नाम, ठेगाना, उमेर, पतिको नाम, अन्तिम पटक महिनावारी भएको मिति र फोन नम्बर राखि दर्ता गरिन्छ । दर्ता भएका गर्भवती आमाहरु आफ्नो र बच्चाको नियमित जाँचका लागि बेलैमा स्वास्थ्य संस्थामा नगएमा स्वयंसेविकाहरुले तुरुन्तै जान अनुरोध समेत गर्नेछन ।

गर्भवती महिलाहरुले भने आफूसँग भएको स्मार्ट फोनमै आमाको मायामा राखिएको जानकारी आफैं पढ्न सक्नेछन । लेखपढ गर्न नजान्ने महिलाहरुका लागि यस्तो सामग्री सुन्न समेत मिल्ने व्यवस्था गरिएको छ । अझै पेटमा रहेको बच्चा कस्तो भयो, यो कसरी बसेको छ जस्ता कुरा जान्न चाहनेका लागि थोरै भएपनि भिडियो समेत राखिएको छ ।

मुख्य मुख्य जानकारी समेटिएको यस्तो पढ्न, सुन्न र हेर्न मिल्ने सामग्री पेटमा रहेको बच्चा बढेसँगै हरेक हप्ता नयाँ नयाँ आउनेछ । अर्थात हरेक हप्ता अबको सात दिन बच्चामा के कस्ता परिवर्तनहरु हुन्छन र आमामा यसका के कस्ता लक्षणहरु र परिवर्तनहरु देखिन्छन भन्ने कुरा आफैं हेर्न सकिन्छ र परिवारका अन्य सदस्यले चाहेमा उनीहरुलाई समेत देखाउन सकिन्छ ।

गर्भमा रहेको शिशु स्वस्थ रहन आमाले कुन समयमा के काम गर्न हुने र के गर्न नहुने जस्ता उपयोगी कुराहरु यसमा रहेका छन । त्यसबाहेक बच्चाले कहिले देखि उज्यालोको अनुभव गर्न सक्छ र बाहिरको आवाज अन्दाज गर्न सक्छ भन्ने कुरा समेत यसले सजिलो गरि बताएको छ ।

आमाले खाएको खानेकुराको स्वाद लिने र पौष्टिक खानाले बच्चाको राम्रो विकास हुने कुरा गर्भवती महिला र परिवारका सदस्यलाई सजिलै बुझाइएको छ ।

आमाको माया दुर्गममा मात्रै होइन सुगमका महिलाका लागि समेत सरसल्लाह गर्ने नजिकको साथी जस्तै हो ।

मुगुको खत्याडमा आमाको माया कार्यक्रम नेपाल सरकार, गाउँपालिका, यूनिसेफ र इ नेटवर्क रिसर्च एण्ड डेभलपमेन्टको सहयोगमा सुरु भएको हो ।

आमाको माया सुरुमा नेपाल वायरलेसले इन्टरनेट सेवा प्रदान गरेका कास्की, पर्वत र म्याग्दीका ७ वटा स्वास्थ्य संस्थामा पाइलटिङ गरिएको थियो । यसले सफलता पाएपछि अन्यत्र नेपाल सरकारकै अन्तरगतमा कार्यक्रम विस्तार गरिएको हो । यि ७ वटा स्वास्थ्य संस्थामा १,५२७ आमा र ३,५३८ बच्चाको अवस्थाको रेकर्ड राखिएको थियो ।

अहिले विभिन्न जिल्लाका स्थानीय तह (गाउँपालिका र नगरपालिका) को अगुवाईमा यो काम भइरहेको छ । आमाको माया मार्फत अहिलेसम्म मुगु, डडेलधुरा, स्याङ्जा, दाङ र मकवानपुर जिल्लाका गर्भवती महिला र बच्चाहरुको अवस्थालाई आमा, बच्चा र सम्बन्धित निकायले जहाँबाट पनि हेर्न मिल्ने गरि व्यवस्थित गरिंदैछ । मुगुको खत्याडमा अहिलेसम्म ७ वटा स्वास्थ्य संस्था मार्फत २७२ गर्भवती महिला र ५४३ बच्चाको अवस्था डिजिटाइज गरिएको छ । स्याङ्जा, भिरकोटका ७ वटा स्वास्थ्य संस्था मार्फत ५३२ गर्भवती आमा र १,९४१ बच्चा आमाको माया अन्तरगत दर्ता गरिसकिएको छ । सन् २०१९ यता विस्तार गरिएको सेवा अन्तरगत दाङको तुलसीपुरका ८ वटा स्वास्थ्य संस्था मार्फत १,३७१ आमा र ३,३५४ बच्चाको अवस्था आमाको मायामा राखि सकिएको छ । मकवानपुरका ५ वटा स्वास्थ्य संस्था र डडेलधुराका २७ वटा स्वास्थ्य संस्थाले समेत आमा र बच्चाको तथ्याङ्क सहित उनीहरुको अवस्था आमाको मायामा राखिसकेका छन ।

आमाको मायामा दर्ता गरिएका गर्भवती महिलाहरुले गर्भ रहेदेखि बच्चा नजन्मेसम्म आफू र गर्भमा रहेको बच्चामा हुने परिवर्तन आफैंले थाहा पाउनेछन । त्यसपछि बच्चा दुई बर्षको नभएसम्म बच्चाको तौल र खोपको बारेमा राखिने जानकारीले बच्चाले आवश्यक खोप पाए नपाएको निगरानी गर्न र बच्चाको उमेर अनुसार उसको अवस्था (तौल, उचाई लगायत) जान्न सहयोग पुग्नेछ । यस्तो जानकारी गर्भवती आमा, परिवारका अन्य सदस्य, सम्बन्धित स्वास्थ्य संस्था, जिल्ला स्थित स्वास्थ्य संस्था र स्वास्थ्य मन्त्रालयले समेत सजिलै हेर्न सक्नेछन् ।

आमाको मायामा दर्ता भएका गर्भवती महिला र बच्चाहरुको अवस्था अब जहाँ बसेर पनि हेर्न सकिनेछ तर यसका लागि स्थानीय स्वास्थ्य संस्थामा सजिलै इन्टरनेट सेवा भने उपलब्ध हुनुपर्नेछ । नेपाल सरकारले अहिले सबै स्वास्थ्य संस्थाहरु, स्थानीय तहका सबै वडा कार्यालयहरु, माध्यमिक विद्यालयहरु र अन्य सबै सरकारी कार्यालयहरुमा निःशुल्क इन्टरनेट सेवा दिएको छ । यसले नियमित रुपमा काम गरे मात्रै प्रविधिमा आधारित रहेका यस्ता कामहरु सफल हुनेछन । नत्र इन्टरनेट सेवा प्रदायकहरु मात्रै मोटाउने अहिलेको अवस्थामा भने मुगु जस्ता दुर्गम ठाउँमा आमाको माया कार्यक्रम अलपत्र हुन समेत बेर लाग्दैन ।

कविता दाहालकाे साथमा ।

फाेटाेः सुशील मैनाली

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019