सिट्रोनेलाः खेति र उपयाेग – Myhimaldotcom
Friday 29, March 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

सिट्रोनेलाः खेति र उपयाेग

माइहिमाल डट कम , ८ भाद्र २०७६, आईतवार १४:१३

वासनायुक्त पात भएको, दुई मीटरसम्म अग्लो हुने र १ मिटर सम्म वरिपरि फैलने बहुबर्षीय बाली हो सिट्रोनेला । यसको पातको माथिल्लो भाग चम्किलो र हरियो भई टुप्पो भुईंतिर लत्रेको हुन्छ । उखुको जस्तो पात हुने सिट्रोनेलाको डाँठ आँख्ला भएको र हल्का रातो पहेंलो रंगको हुन्छ । यो असोज कात्तिक महिनामा फूल्छ । मंसीर पुष महिनामा फल लाग्छ । यसको जरा बाहेक अन्य सबै भागबाट वास्नादार तेल निस्कन्छ ।

सिट्रोनेला गर्मी ठाउँमा राम्ररी फस्टाउँछ । यो नेपालको रैथाने वनस्पति भने होइन । नेपालको तराइमा यसको खेति हुँदै आएको छ । सिंचाइको सुविधा भएको पारिलो ठाउँ र बलौटे माटोमा यो राम्ररी सप्रन्छ । सिट्रोनेला लगाएको ठाउँमा चिस्यान रहिरहनुपर्छ तर पानी जम्नु भने हुँदैन । मलिलो माटोमा एक बर्षमा ४ चोटी सम्म सिट्रोनेला काट्न सकिन्छ ।

सिंचाइका लागि पानी भएका ठाउँमा फागुन महिना देखि नै यसको विरुवा रोप्न मिल्छ । रोप्ने ठाउँमा दुइ तीन पल्ट खनजोत गरि माटो राम्रो बनाउनु पर्छ । अनि पुरानो गाँजबाट नयाँ टुसा सहितको विरुवा निकाली जरा सिधा पारेर रोप्नुपर्छ । रोपिसकेपछि फेदमा हल्का गरि माटोले छोप्नु पर्छ । पुरानो गाँज फुटाएको १ हप्ता भित्र यसलाई रोपिसक्नुपर्छ ।

सिट्राेनेला बर्षमा चारचोटी काट्न मिल्छ । सामान्यतया भदौ, असोज, मंसिर र बैशाखमा जमिन माथि १० देखि १५ सेन्टिमिटर छोडेर पात र डाठ सहितको घाँस काट्नुपर्छ ।

बाँकेकाे एउटा सामुदायिक वनमा हुर्कँदै गरेकाे सिट्रोनेला

तेल राम्ररी निकाल्न सिट्रोनेला काटेपछि २४ घण्टा घाम नलाग्ने ठाउँमा फिंजाएर ओइलाउन दिनुपर्छ । त्यसपछि तेल निकाल्ने मेशीनमा राखेर आगो लगाउनु पर्छ । आगो लगाएको ३ घण्टामा तेल निस्कन्छ । प्रशोधनका लागि अन्यत्रै लैजानु पर्ने छ भने सवारी साधनमा मिलाएर हाली घाम नलागेको बेलामा लैजानुपर्छ ।

पहिलो बर्ष प्रति हेक्टर ८० किलोग्राम जति मात्र तेल उत्पादन भएपनि दोस्रो, तेस्रो र चौंथो वर्षमा प्रति हेक्टर ९० देखि १०० किलोग्राम सम्म तेल निस्कन्छ । यसको तेल १ हजार देखि १२ सय रुपैयाँ सम्ममा बिक्छ ।

सिट्रोनेलाको तेल साबुन, किटनाशक औषधी, डिटरजेन्ट पाउडर, लामखुट्टे भगाउने धुप, भुईं पुछ्ने झोल साबुन आदिमा प्रयोग गरिन्छ । नेपालमा यसको खपत अरु सुगन्धित तेल भन्दा निकै बढी छ ।

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019