भिर माहुरीको मह यात्रा २ – Myhimaldotcom
Thursday 5, December 2024
सू. प्र. वि. द. नं. १३७५/०७५-७६

भिर माहुरीको मह यात्रा २

प्रकाश श्रेष्ठ , २३ पुष २०७६, बुधबार १६:३९

सादी गाउँ र कुलुङ राई

मोबाइल र टेलिभिजन नभएका ठाउँमा बेलुकीको खानापछि राती अबेरसम्म बसेर कुराकानी गर्ने चलन हुन्छ । यो चलन सादी गाउँमा बाँकी नै रहेछ ।

केही बेरको चिनाजानी र भलाकुसारीपछि कुराको सिलसिला मोडियो । जंगेले आफ्ना पूर्खाको कुरा झिके ।

                       महाकुलुङ गाउँपालिकाकाे कुलुङ राईहरु बसाेबास भएकाे क्षेत्र

कुलुङ राईहरु धेरै पहिले सुनसरीको वराह क्षेत्रतिरको आफ्नै राज्यमा राज गर्थे । पछि नेपाल एकिकरणको क्रममा कुनै स्थानीय मानिसबाट प्राप्त गुप्त सूचनाको आधारमा कुलुङ राजा मारिए । राजा मारिएपछि उनीहरु नेतृत्व बिहिन भए, गोर्खाली सेनासँग उनीहरुको हार भयो । लडाई हारेपछि बाँचेका कुलुङहरु ज्यान जोगाउन राज्य छोडेर भागे । शत्रु सेनाले नभेटुन भनेर उनीहरु यहाँको हुँगा खोला छेउमा रहेको चट्टानी भिर नजिकै अति दुर्गम स्थानमा आई बसे । भौगोलिक विकटताले गर्दा शताव्दियौं सम्म बाहिरी संसारसँग अलग भई कठोर जीवन बाँचेका कुलुङहरु व्यवहारमा भने अति सरल र सोझा छन् ।

                      अलैंची यहाँकाे आम्दानीकाे एउटा स्राेत हाे 

व्यापारमा खप्पिस मात्रै होइनन जंगे, बरु उनी त जिउँदो इतिहास नै रहेछन । कुराको सिलसिलामा त्यहाँ भन्दै आईएको एउटा लोकउक्ति पनि सुनाए जंगेले ।

खेव र लोसको कथा

पहिला पहिला धेरै पहिला खेव (धनेस चरी) र लोस (मैना चरी) नामका दुई जना टुहुरा दिदी बहिनी थिए । उनीहरुको खेप्चिलिप नामको एउटा सानो भाइ पनि थियो । दिन बित्दै जाँदा दुबै दिदीबहिनी जवान भएछन् । उनीहरुलाई यौवनले छोयो र विवाह गर्ने तिब्र ईच्छा जाग्यो । तर विवाह गरि अन्तै जान सानो भाइ समस्या भयो, बालक भाइलाई कसरी छोडेर जाने ? उनीहरु अलमलमै थिए ।

                       चित्रा र काठले छाएकाे घर

एकदिन उनीहरु आँगनमा बसेर अल्लो केलाउँदै थिए । भाइ खेप्चिलिप दिदीहरुका नजिकै निश्चिन्त भएर निदाएको थियो । खेव र लोस अल्लो केलाएर आएको बोक्रा एक शुरमा फाल्दै थिए । यसरी फालेको बोक्राले सुतिरहेको भाइलाई छोप्दै गइरहेको थियो । जवान दिदी बहिनीको मनमा एउटा विचार आयो । त्यसपछि अल्लोको बोक्रा जानाजान भाइतिर फाल्न थाले । केहिबेरमा भाइलाई बोक्राले पुर्याे । उनीहरुले एक अर्कालाई हेरे । आँखा जुध्यो । कुटिल मुस्कान छायो दुबैका अनुहारमा । आँखाको ईशारामा दुबै दिदी बहिनी उठे । भाइ भएतिर बढे ।

त्यसपछि एक बहिनी अल्लोको बोक्राको रासमाथि उफ्रिइ । किडिक्क आवाज आयो । ‘भाइको खुट्टा भाँचियो ।’ अर्की बहिनी अल्लोको बोक्रामाथि उफ्रीई, कुडुक्क आवाज आयो – ‘भाइको हात भाँचियो ।’ अनि अर्की बहिनी झन जोडले बोक्राको राशमाथि उफ्रिइन, कड्याक्क आवाज आयो । भनिन, ‘भाइको करङ्ग भाँचियो ।’ फेरि अर्की बहिनी उफ्रीई, कुरुक्क आवाज आयो । ‘लौ, अर्को करङ्ग भाँचियो ।’ उनीहरुको पापी मन झनै खुशी हुँदै गयो । एवं रितले उनीहरु निकै बेर उफ्रीईरहे । जब उनीहरुलाई भाइ खेप्चिलिप मर्यो भन्ने विश्वास लाग्यो, तब उनीहरुले एक प्रकारको शान्तीको सास फेरे । अनि दुबैजना योग्य बर खोज्न निस्के, खेप्चिलिपलाई त्यतिकै छाडेर ।

भिर माहुरीको मह यात्रा १

दैव संयोग, खेप्चिलिपलाई केहि भएको रहेनछ । उनी बिउँझिएर यताउता हेरे, दिदीहरु कतै देखिएनन् । रोए, कराए । तर उनको आवाज कसैले सुनेन । खेप्चिलिप निराश भई घरको एउटा कुनामा सुते । उनी एक्लो भए । बिस्तारै उनलाई एक्लै बस्ने बानी भयो । कहिले जंगलबाट शिकार गरि ल्याउँथे त कहिले खोलाका माछा मारेर खान्थे । यसरी नै दिन बित्दै गयो र खेप्चिलिप पनि जवान हुँदै गए ।

एक दिन माछा मार्ने क्रममा बल्छीमा ढुङ्गा अड्केर आयो । उनले ढुङ्गा झिकी खोलामा फाले र फेरि बल्छी थापे । फेरि सोही ढुङ्गा बल्छीमा अल्झेर आयो । अघि झै ढुङ्ंगा झिकी खोलामा फाले र फेरि बल्छी थापे । त्यसदिन यो क्रम धेरै पटक दोहरिएछ । अन्त्यमा ल यो ढुङ्गा मसला पिस्न काम लाग्छ भनि घरमा ल्याएछन ।

भोलीपल्ट खेप्चिलिप बाहिरबाट आउँदा घरमा खाना तयार थियो । उनी अचम्म परे । पर्सीपल्ट पनि त्यस्तै भयो । दिनदिनै यस्तै भइरह्यो । खेप्चिलिपले यो कुरा गाउँले बोजु (बज्यै) लाई सुनाए । बोजुले  सल्लाह दिइन  — तिमी गएजस्तो गर्नु र तुरुन्त फर्केर आई हेर्नु कसले खाना पकाएको हो थाहा हुन्छ । उसलाई समाएर राख्नु र उसैसँग विवाह गर्नु ।

सल्लाह बमोजिम भोलिपल्ट खेप्चिलिप बाहिर गएजस्तो गरी तुरुन्त एक ठाउँमा लुकेर चियाए । केहि बेरपछि बल्छीमा परेको ढुङ्गा तल झर्यो । ढुङ्गा एकाएक सुन्दर युवती बन्यो र भान्छामा गई खाना पकाउन लाग्यो ।

खेप्चिलिप एक्कासी घरमा छिरे र त्यस युवतीलाई समाए । युवतीलाई तिमी को हौ ? भनी सोध्दा खेलिम्हा भनि परिचय दिइन् । तिनले आफु बल्छीमा अल्झेको र खेप्चिलिपले नै घरमा लिएर आएको कुरा बताइन ।

बोजुले भने जस्तै खेप्चिलिपले खेलिम्हालाई विवाह गर्ने प्रस्ताव राखे । खेलिम्हाले आफू बल्छीमा परेको बेला खेप्चिलिपले तिरस्कार गरेर फाल्दा ढुङ्ग्री भाँचिएको कुरा सुनाइन । खेप्चिलिपले ढुङ्ग्री किनिदिने बाचा गरे । खेलिम्हाले आफ्नो टप हराएको गुनासो गरिन, त्यो पनि खेप्चिलिपले किनिदिने बाचा गरे । एवं प्रकारले खेलिम्हाका बिग्रिएका, हराएका सबै कुरा किनिदिने बाचा गरेपछि खेलिम्हा खेप्चिलिपसँग विवाह गर्न राजी भइन ।

बस्दै जाँदा एकदिन खेप्चिलिपले ढुकुर शिकार गरी ल्याए । खेलिम्हाले ढुकुर काटकुट गर्दा पेटबाट कोदो निस्केछ । उनले त्यो कोदो यसै पाखातिर छरिदिइन् । पाखामा छरेको कोदो निकै मौलाएर आएछ र केही समय पछि राम्रो फलेछ । अनि उनीहरु होङ्गपोका (धनी) भएछन् ।

                       समयसँगै फेरिंदैछ यहाँकाे बस्ती पनि

सँगै खाँदा बस्दा केही समयमा उनीहरुको बच्चा जन्मियो ।  खेलिम्हाले ‘ल, अब घर बनाउनुपर्छ, खाँबो गाड्न काठ लिएर आउनु भनिछिन ।’ खेप्चिलिपले वनबाट सुरिलो सोझो काठ लिएर आए । खेलिम्हाले यस्तो सोझो काठ होइन, चस्कु अर्थात चिभे चरीको पुच्छर जस्तो (Y आकारको) काठ लिएर आउ भनिन । खेप्चिलिपले पनि त्यस्तै काठ लिएर आए । खेलिम्हा खुसी भइन र सो काठ गाडेर खाँबोको रुपमा ठड्याउन अह्राइन । खेप्चिलिपले त्यसै गर्न खोजे तर एक्लैले सकेनन् ।

खेप्चिलिपलाई सघाउन खेलिम्हा अघि बढिन् । त्यसबेला उनले आफ्नो बच्चा ओढ्नेले बाँधेर अगाडितिर बोकिराखेकी रहिछिन् । जब उनीहरु दुबै मिलेर खाँबो गाड्न ठीक पारे, अचानक खेलिम्हाले बोकेको बच्चा फुस्किएर खाँबो गाड्न बनाएको खाल्डोमा खसेछ । बच्चा झिक्न नपाउँदै खाँबो खाल्डोमा गाडिएछ । उनीहरुले कसै गरेपनि खाँबो झिकेर बच्चा निकाल्न सकेनन् ।

त्यसैले अहिलेसम्म पनि कुलुङ समुदायामा नयाँ घर निर्माण स्थल नजिक बच्चाहरुलाई लगिंदैन । कुखुरा भोग दिएर पूजा गरेपछि मात्र बच्चाहरुलाई नयाँ घरमा प्रवेश गराइन्छ ।

एकदिन खेलिम्हाले तिम्रा दिदी बहिनी कोही छैनन ? भनी सोधिछन् । खेप्चिलिपले दिदीहरुले आफूलाई छोडेर गएको कुरा बताएछन् । अनी खेलिम्हाले जे हुनु भयो, चेलीबेटी चाहिन्छ, बोलाउ भनिन । उनका दिदीहरु खेव (धनेश चरी) र लोस (मैना चरी) कता छन् केहि पत्तो थिएन । कसले कहाँ गएर बोलाएर ल्याउने ?

“समय क्रममा कुलुङ राई लिपि लोप हुन पुग्यो भन्ने जंगेको चिन्ता छ । कुलुङहरुको इतिहास पूर्खाहरुले आफ्ना सन्तानहरुलाई सुनाएको र उनीहरुले सम्झेकै कुरामा मात्रै सीमित हुन पुगेको छ । हिजोआज जंगे पनि बुबा आमाहरुले भनेका कुरा ध्यान दिएर नसुनेकोमा पछुतो गर्छन् र अबदेखि यस्ता लोक उक्तिहरु र इतिहासको संरक्षण गर्नुपर्ने कुरामा जोड दिन्छन ।”

यो कुरा सुनेर एउटा भाले कुखुरो खेव र लोस खोज्न निस्केछ । उसले ‘कुखुरी काँ, खेप्चिलिप/खेलिम्हा हेङ्गपोका’ (खेप्चिलिप/खेलिम्हा धनी भए) भन्दै डुलेछ । संयोगवस खेव र लोसले भाले कराउँदै हिंडेको सुनेछन् । हैन यो भाले के भन्छ, हाम्रै भाइ खेप्चिलिपको कुरा गरेको त होइन ? भनेर ध्यान दिई सुनेछन् । भालेले उनीहरुको मनको कुरा चाल पाएछ र पक्कै यिनीहरु नै खेप्चिलिपका दिदीहरु हुनुपर्छ भनि अनुमान लाएछ । त्यसपछि भाले ‘कुखुरी काँ, खेप्चिलिप/खेलिम्हा हेङ्गपोका’ भन्दै आफ्नो पुच्छरको एउटा सुन्दर प्वाँख बाटोमा खसाल्दै फर्केछ । खेव र लोस पनि भाले बासेको आवाज सुन्दै र भालेले झारेको प्वाँख पछ्याउँदै घर आईपुगे । घरमा भाइ जिउँदै देख्दा जिल्ल परेछन र आफुहरुले बैंशमा मात्तिएर गरेको कामको पछुतो मानेछन । भालेलाई पछ्याउँदै जाँदा दिदी खेवले आठ वटा र बहिनी लोसले चारवटा प्वाँख भेटिछन । केहिदिन पछि बिदा हुँदा खेलिम्हाले जेठी दिदीलाई तामाको आठवटा भाँडा र कान्छी दिदीलाई तामाको चारवटा भाँडा कोशेली दिएर विदा गरिछिन् ।

यसरी अहिले सम्म पनि कुलुङ चेलीहरु माइत आउँदा भालेको प्वाँखको प्रतिकको रुपमा मालिङ्गोको चोयाको डोरी बाटेर दैलोमा राखिन्छ । अनि विदा हुने बेलामा आफ्नो गच्छेले भ्याएसम्म ठुली चेलीलाई आठ थान र सानी चेलीलाई चार थान तामाका भाँडा कोशेली दिएर पठाउने चलन छ ।

फोटोः प्रकाश श्रेष्ठ

(भिर माहुरीको मह यात्राकाे अन्तिम भाग अर्काे बुधबार आउनेछ ।)

Facebook

  • ग्लोवल हिमालयन मिडिया नेटवर्कका लागि अध्यक्ष तथा सम्पादकः सुशील मैनाली

  • +977-9851009729
  • gohmn11@gmail.com
हाम्रो बारेमा
Global Himalayan Media Network Pvt. Ltd. (GHMN) - 2019