बडिखेलमा बन्ने भयो ६९ औं सामुदायिक पुस्तकालय
ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यस सम्बन्धी सम्झौतापत्रमा फागुन २२ गते हस्ताक्षर गर्नुभयो । शान्ती भोलन्टियर एशोशियसन नेपालको मुख्य आर्थिक सहयोगमा बन्न लागेको सामुदायिक पुस्तकालयमा स्थानीय तह र स्थानीय वासिन्दाबाट समेत आर्थिक सहयोग जुटाइनेछ ।
“अब बन्ने पुस्तकालय भवन गोदावरी नगरपालिकाको गौरव हुनेछ । यो यहाँका युवा तथा समुदायको भाग्य हो,” पुस्तकालयका बारेमा बोल्दै नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भन्नुभयो — “पुस्तकालय निर्माणका लागि चाहिने जग्गा नगरपालिकाले उपलब्ध गराइसकेको छ र भवन बनाउन तथा पुस्तकालय संचालनका लागि चाहिने थप आर्थिक स्रोत जुटाउन पनि नगरपालिका तयार छ ।” भुकम्पले ध्वस्त पारेको ललितपुरको बडिखेलमा सामुदायिक पुस्तकालय स्थापना भई सञ्चालनमा रहेको छ । तर भवनको अभावमा पुस्तकालयले आफ्ना कार्यक्रमहरु संचालन गर्न अप्ठ्यारो भएकाले रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा २ करोड रुपैयाँको लागतमा पुस्तकालय भवन बन्न लागेको हो ।
काम सुरु भएको १० महिनामा सम्पन्न हुने पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बालकक्ष, महिला कक्ष, सूचनासञ्चार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्युनिकरण कक्ष र सभाहल हुनेछन । शान्ती भोलन्टियर एशोशियसनको सहयोगमा बन्न लागेका ४ वटा सामुदायिक पुस्तकालय मध्ये यो पहिलो पुस्तकालय हो ।
“रिड नेपालले बितेका २८ वर्षमा ४२ वटा जिल्लाका ६८ स्थानमा पुस्तकालय बनाइसकेको छ । सामुदायिक पुस्तकालयको विशेषता भनेकै समुदायको विशेष सहयोगमा पारदर्शि हुने र तोकेको समयमा काम सम्पन्न गर्ने हो । सबैको सशक्त प्रयासले भवन निर्माण सम्पन्न गरी समयमा नै नयाँ भवनबाट पुस्तकालय सञ्चालन गर्न हामी सफल हुनेछौं,” रिड नेपालका अध्यक्ष भोला कुमार श्रेष्ठले भन्नुभयो ।
स्थानीय समुदाय, नगरपालिकाका प्रमुख र वडा नम्बर ४ का अध्यक्ष समेतको उपस्थितिमा भएको कार्यक्रममा शान्ती भोलन्टियर एशोशियसन नेपालका राष्ट्रिय निर्देशक ताकाले रिड नेपालको पुस्तकालय मार्फत स्थानीय समुदायमा काम गर्ने मोडल निकै प्रभावकारी भएको बताउनुभयो । ताकाले अगाडि थप्नुभयो, “जसरी बालबालिकाको शारिरिक विकासका लागि पोषणको जरुरी हुन्छ त्यसरी नै मानव समुदायको विकासका लागि ज्ञानको आवश्यकता हुन्छ र यस्तो ज्ञान बाँड्ने उपयुक्त थलो भनेको सामुदायिक पुस्तकालय नै हो ।”
ग्रामीण शिक्षा तथा विकास, रिड नेपालको सहयोगमा बनेका सबै पुस्तकालयमा न्यूनतम खर्च धान्नका लागि केही न केही आम्दानीको स्रोत पहिचान गरिएको हुन्छ । बडिखेलमा समेत पुस्तकालय भवनको अगाडि पट्टी ५ वटा सटर बनाउने र यसबाट आएको आम्दानीले पुस्तकालयको न्यूनतम खर्च चलाउने व्यवस्था गरिएको छ ।
“नयाँ भवन बनेपछि बडिखेल सामुदायिक पुस्तकालयले समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा ठुलो सहयोग पुर्याउने छ ।” सामुदायिक पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीको विश्वास छ ।
रिड नेपालकाे सहयाेगमा “नेपालीले सक्छाैं अभियान अन्तरगत” नेपालभित्रैबाट संकलन भएकाे पैसाले भने अहिलेसम्म दुइवटा पुस्तकालय भवन बनेका छन ।